
भेनिस । दुनियाँकै सबैभन्दा ठुलो ‘सुपरयाच’ अर्थात् पानी जहाजमाथि यतिबेला इटलीमा छानबिन भइरहेको छ । जुन रुसका राष्ट्रपति पुटिनको सम्पति भएको शंका गरिएको छ ।
सोमबार एलेक्सी नेल्भेनीको भ्रष्टाचार विरोधी रुसी संगठनले एउटा भिडियो सार्वजानिक गर्दै उक्त सुपरयाच पुटिनसँग सम्बन्धित रहेको दाबी गरेको थियो । सो याच विश्वकै सबैभन्दा ठूला २० जहाजहरूमध्येमा पर्दछ । जसको मूल्य ७० करोड डलर भन्दा बढी रहेको छ ।
यसमा नेल्भेनीका अनुसन्धानकर्ताहरूले ‘सेहेरजाद’ नामको उक्त जहाजका चालक सदस्य दलको सूची प्राप्त गरेका थिए । उनीहरूले त्यसमा राखिएका फोन नम्बर, क्रेडिट स्कोर डाटा लगायतका जानकारी फेला पारेका हुन् जसमध्ये धेरैवटा रुसको संघीय सुरक्षा सेवाले नियुक्त गरेका रुसीहरूको भएको पत्ता लागेको छ । यो भनेको पुटिनलगायत रुसका वरिष्ठ व्यक्तित्वहरूको बडिगार्ड नियुक्त गर्ने सरकारी एजेन्सी हो । साथै यसले राष्ट्रिय सम्पतिका लागि पनि सुरक्षा प्रदान गर्दछ ।
यसमा सेहेरजादमा काम गर्ने एक कर्मचारी यसअघि २७० फुट लामो ‘ग्रेसफुल याच’ मा पनि कार्यरत् रहेको देखिएको छ जसलाई पनि पुटिनसँग जोडिँदै आएको छ ।
सेहेरजाद एक ४५९ फुट लम्बाइको ६ तले जहाज हो जसमा हेलिकप्टर ल्यान्ड गर्ने हेलिप्याड, स्विमिङ पुल, सिनेमा थिएटर, स्पा कम्प्लेक्स, ब्युटी सलोन र ड्रोनलाई समेत हानेर ढाल्न सक्ने बलियो सुरक्षा प्रणाली रहेको छ । यसलाई जर्मन जहाज निर्माता लुरसनले २०२० मा निर्माण गरेका थिए र हाल यो इटलीको पोर्टमा रहेको छ । यसअघि न्युयोर्क टाइम्सको रिपोर्टमा इटलीको कानुन व्यवस्थाले सो याच सम्बन्धी अनुसन्धान गरिरहेको खबर गरेको थियो ।
उक्रेन युद्धका कारण अमेरिका र युरोपेली युनियनले आफ्नो देशमा भएका रुसी धनाढ्यहरूको सम्पूर्ण सम्पति जफत गरिरहेका छन् । जसमा ठुल्ठुला महलदेखि याच र निजी विमानसम्म रहेका छन् । त्यसकारण पनि यो याचबारे व्यापक चर्चा भइरहेको छ जुन पुटिनको साबित भएमा जफत गरिने छ ।
जफत भइसकेपछि रुसी अर्बपतिहरूको स्वामित्वमा रहेका कुनैपनि सम्पति चलाउन पाइने छैन ।
प्राय: अवस्थामा यस्ता ठुल्ठुला सम्पतिका वास्तविक मालिक खोज्न अत्यन्तै कठिन हुने गरेको छ । किनकि धेरै धनाढ्यहरूले शेल कम्पनीको प्रयोग गरि त्यसैको नाममा खरिद विक्री गरिरहेका हुन्छन् ।
यस अगाडिसम्म सो याचलाई रहस्यमयी मानिएको थियो । तर त्यसको स्टाफका थुप्रै सदस्यहरू पुटिनलाई सुरक्षा दिने रुसी एजेन्सीका सदस्य रहेको पत्ता लागेको छ जो उनका बडिगार्ड हुन सक्छन् । यसमा रुसका सरकारी अधिकारी र विभिन्न सैन्य अधिकारीहरू नियमित इटली भ्रमण गरि याचको प्रयोग गर्ने गरेको बताइएको छ ।
इटली सरकार र अमेरिकाले समेत यस सम्बन्धी अनुसन्धान गरिरहेको भएपनि अहिलेसम्म कुनै आधिकारिक निष्कर्षमा पुगेका छैनन् ।
फोर्ब्सबाट ।