site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
व्यापार घाटा घटाउन विद्युत् खपत बढाउने नीति लिन प्रधानमन्त्रीको निर्देशन   

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्न र व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम अघि बढाउन निर्देशन दिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत नेतृत्व सम्हालिरहेका प्रधानमन्त्री देउवाले मंगलबार बालुवाटारमा भएको उक्त मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा यस्तो निर्देशन दिएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईंहरूले व्यापार घाटा घटाउने गरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहोस्,” प्रधानमन्त्रीले बैठकमा निर्देशन दिँदै भने, “अर्थतन्त्रलाई आत्मनिर्भर हुने गरी सम्भावना भएका क्षेत्रमा लगानी बढाउने गरी अघि बढ्नुपर्छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने गरी मन्त्रालय र सरकारका कार्यलयहरूसँग समन्वयन गरेर नीति तय गर्नुस् ।”

उनले व्यापार घाटा घटाउन विद्युत्को खपत बढाउनुपर्ने भन्दै विद्युतीय सवारीसाधन, विद्युतीय चुलोलगायत साधनको प्रयोग बढाउने नीति लिन निर्देशन दिए । “हाम्रो प्रचुर सम्भावना रहेको क्षेत्र जलस्रोत हो,” उनले भने, “अब हामीले पेट्रोलियम पदार्थ खरिदमा जाने ठूलो रकम कम गर्न पनि विद्युतीय सवारीसाधन प्रयोग गर्ने र विद्युत्को खपत बढाउनुपर्छ ।”

कार्यक्रममा वाणिज्य मन्त्रालयका साथै राष्ट्रिय याजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयलगायत प्रतिनिधिहरू सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १६:३०
प्रतिक्रिया दिनुहोस्