
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता घनश्याम भुसालले कम्युनिस्ट नेताहरू एकसँग अर्को डराउँदा कम्युनिस्ट एकता धरापमा परेको बताएका छन् ।
निर्वाचनमा वाम एकताका विषयमा आफूले उठाउँदै आएका विषय जानकारी गराउन मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका भुसालले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल एकार्कासँग डराउँदा कम्युनिस्ट राजनीति जोखिमतर्फ उन्मुख भएको बताए ।
“माधव र प्रचण्डजीबाट हेर्दा ओली खतरनाक, ओलीले माधव र प्रचण्डलाई खतरानाक तत्व भन्ने । बाहिबाट हेर्दा दुवै खतरनाक हुन् भन्ने,” भुसालले भने, “२०७४ सालमा छापामार शैलीमा गठबन्धन गरियो । अहिले समय छैन भन्नु बेकार छ ।”
उनले हिजोभन्दा आज सहज अवस्था भए पनि कृत्रिम रूपले दूरी बढाइएको बताए । “कृत्रिम रूपमा बनाइएको दूरी र कम्युनिस्ट आन्दोलनको विभाजनमा हामी जिम्मेवार छौँ भन्ने महसुस भयो भने यो चुनावमै गठबन्धन हुनसक्छ,” भुसालले भने, “चुनावमा गठबन्धन बन्ने प्रशस्त सम्भावना छ । यसलाई नकारे कुनै नेतालाई मात्र होइन, समग्र कम्युनिस्ट आन्दोलनमाथि नै घात हुन्छ ।”
कम्युनिस्टहरू बहुमतमा भएर पनि नेताहरूको इगो र त्रासका कारण जोखिमतर्फ उन्मुख भएको उनको बुझाइ छ ।