
काठमाडौं । गैरआवासीय नेपाली संघमा सहमति भएपछि चैत ११ र १२ गते काठमाडौंमा एकता महाधिवेशन हुने भएको छ।
अध्यक्ष पदका तीन उम्मेदवार कुल आचार्य, बद्रि केसी र रबिना थापाबीच सहमति भएपछि एनआरएनए विभाजन हुनबाट रोकिएको छ ।
अध्यक्ष पदका तीनै जना प्रत्यासीले आज संघको सचिवालयमा पत्रकार सम्मेलन गरी एकता महाधिवेशनका लागि आफूहरूबीच सहमति भएको बताए ।
यसअघि देखिएका सबै विवाद समाधान गरी संघलाई एकजुट बनाएर लैजान आफूहरूबीच सहमति भएको उनीहरूको भनाइ छ ।
अध्यक्ष कुमार पन्तले संस्थाको हितका लागि सबैले आ आफ्नो कमजोरी स्वीकार गरेको बताए । पछिल्लो सहमतिले संस्थालाई एकजुट बनाएको उनको भनाइ छ।
अध्यक्षका उम्मेदवार एवम् संघका सल्लाहकार कुल आचार्यले संसारभरका नेपालीहरूलाई एकताबद्ध बनाउनुको विकल्प नभएको बताए । पद भन्दा पनि पद्धतिका लागि एकजुट हुनु परेको उनको भनाइ थियो । संस्थालाई एकजुट बनाएर अगाडि अहिलेको आवश्यकता रहेको उनले औल्याए ।
अध्यक्षका उम्मेदवारद्वय केसी र थापाले पनि संस्था जोगाउनु अहिलेको मुख्य आवश्यकता रहेको बताए ।