
मकवानपुर । वाग्मती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।
प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार आज बस्ने प्रदेशसभा बैठकमा गएको फागुन २९ र ३० गते बसेको प्रदेशसभा बैठकमा पेस भएका तीन विधेयकमाथि छलफल हुनेछ ।
बैठकले प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक स्वीकृत गर्ने कार्यसूची रहेको सचिव खड्काले बताए ।
उनका अनुसार सो विधेयक सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बैठकमा स्वीकृतका लागि पेस गर्नेएछन् ।
वाग्मती प्रदेशसभामा हाल १०९ प्रदेशसभा सदस्य छन् । जसमा नेकपा (एमाले)का ४३, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एकजना छन् । रासस