site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
काममा हस्तक्षेप नगर्दा सङ्घीयता प्राप्त हुन्छ : मुख्यमन्त्री पाण्डे

ललितपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एउटा तहले गरेको काममा अर्को तहले हस्तक्षेप नगर्दा मुलुकमा सङ्घीयता प्राप्त हुने बताएका छन् । 

वाग्मती प्रदेश नीति तथा योजना आयोगको आयोजना तथा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको समन्वय तथा व्यवस्थापनमा भएको ‘सङ्घीय संरचनामा तहगत सरकारका योजना तर्जुमा, कार्यान्वयन र प्रतिवेदन प्रणाली विषयक’ दुईदिने गोष्ठीलाई सम्बोधन गर्दै उनले सङ्घ तथा प्रदेश र स्थानीय तहले बनाउने नीति तथा नियम बाँझिन पुगेमा सङ्घीयता प्राप्त गर्न समस्या उत्पन्न हुने बताए । उनले भने, “तीनै तहका जनप्रतिनिधिले योजना छनोटमा कसरी लाग्ने भन्ने ध्यान दिन जरुरी छ ।” सोका लागि प्रदेश र स्थानीय तहबीचको तालमेल राम्रो हुनुपर्ने उनको भनाइ छ ।

मुलुकमा सङ्घीयता कार्यान्वयनका लागि आफूहरूले स्थानीय तहका कर्मचारीसम्बन्धी विधेक तयार गरिरहेको मुख्यमन्त्री पाण्डेले बताए । “वाग्मतीमा लगभग तीन हजार ४०० कर्मचारी रहनुपर्दा करिब एक हजार ४०० कर्मचारी खाली रहेका छन्”, उनले थपे । “यसले गर्दा समयमै काम अघि बढ्न सकेको छैन । मुलुकमा सङ्घीयता प्राप्तिका लागि हामीले कर्मचारीसमबन्धी छुट्टै ऐन व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।” अबका दिनमा मुलुकका हरेक प्रदेशले के–कस्ता काम गरिरहेका छन् । सोको जानकारी गराउने थलो बनाउन जरुरी रहेको जानकारी गराउँदै उनले कार्यक्रममा उपस्थित व्यक्तित्वलाई सोको व्यवस्थापनमा लाग्न अनुरोध गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले मुलुकमा प्रयोग गरिने सर्शत अनुदानका आधार मन्त्रिपरिषद्मा नगएको परिपाटी पाइने बताए । उनले भने, “मुलुकमा सुशासन सुधारका काम हरेक तहबाट हुनुपर्छ ।”

प्रदेश–१ नीति योजना आयोगका सचिव जयकुमार घिमिरेले आयोगमा कामका लागि अनुसन्धानकर्ता तथा विज्ञ करारमा लिनुपर्ने आवश्यक भएको जानकारी गराए । उनले भने, “प्रदेशको मागअनुसार स्रोत व्यवस्थापन नहुँदा चुनौती छ ।” मधेस प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले प्रादेशीय योजना आयोगमा समन्वयमा अभाव रहेको दुःखेसो गरे । 

वाग्मती प्रदेश नीति योजना आयोगका उपाध्यक्ष कृष्णराज पन्थले मुलुकमा आवश्यक ऐन, कानुन अभावमा योजना तर्जुमामा समस्या भइरहेको बताए । 

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले आफूहरूले सो क्षेत्रमा जलवायुमैत्री तथा चकलाबन्दी अनि स्याउखेती एवं ‘एक घर, एक धारा’का साथै सबै घरमा बिजुली कार्यक्रम अघि बढाएर जनतालाई सुविधा पुर्याउने काम गरिरहेको बताए । उनले भने, “सङ्घीयता प्राप्तिका लागि हामीले अबको दिनमा १० प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने योजना अघि सारेका छौँ ।”

कर्णाली प्रदेश नीति तथा योजना आयोगका निमित्त प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले आफ्ना ठाउँबाट प्राकृतिक ग्यास तथा खानी र रत्न पत्थर ढुङ्गा उत्पादन गर्दा प्रदेशको आयस्रोत बढ्ने जानकारी गराए । 

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य मोहनदेव जोशीले आफ्नो क्षेत्रमा दोधारा र चाँदनी जोड्ने पुल अझै निर्माण हुन नसकेकामा दुःखेसो गरे । 

नेपाल सरकारका पूर्वसहसचिव तथा विज्ञ पुरुषोत्तम नेपालले कुनै स्थानीय तहले कम्तीमा ३३ देखि बढीमा ६४ कानुन निर्माण गरी लागु गरिरहेका मुलुकमा पूर्णरूपमा सङ्घीयता प्राप्त गर्न के कुराको खाँचो भइरहेको समस्या खोज्न जरुरी रहेको धारणा राखे । 

महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले तीनै तहका सरकारले गरेका कामलाई तथ्याङ्गत आधारमा व्यवस्थापन गर्दा सङ्घीयता प्राप्त गर्न सहयोग पुग्ने बताए । 

जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष नवराज गेलालले सङ्घीय संरचनाको विधि अपूरो रहेको बताउँदै सोको कार्यान्वयन तहमा कमी, कमजोरी भएको औंल्याए । रासस

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  ०८:१०
प्रतिक्रिया दिनुहोस्