
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा वरीयताक्रम सच्याउनुपर्ने बताएका छन् । कांग्रेस फुटेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) हुँदा कार्यवाहक सभापति भएर महाधिवेशन गराएका श्रेष्ठ अहिले आफ्नै समूहका नेता शेरबहादुर देउवाले वरीयताक्रम नमिलाएको भन्दै असन्तुष्ट छन् ।
गएको मंसिरमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनपछि सभापति देउवाले उनलाई १५औँ वरीयतामा राखेका छन् । तर, श्रेष्ठले सभापति देउवा र नेता रामचन्द्र पौडेलपछि आफ्नो वरीयता स्वाभाविक भएको भन्दै त्यसलाई कार्यान्वयन गर्न माग गरेका छन् ।
कांग्रेस केन्द्रीय समितिको वरीयतामा सभापति देउवापछि नेता पौडेल छन् । त्यसपछि पार्टी पदाधिकारीको वरीयता क्रमशः छ । केन्द्रीय सदस्यको पहिलो नम्बरमा राख्दा श्रेष्ठको वरीयता १५औँ नम्बरमा छ । कोषाध्यक्ष मनोनीत भएपछि श्रेष्ठको वरीयता १६औँ नम्बरमा पुग्ने निश्चित छ ।
श्रेष्ठले वरीयताक्रम सच्याउन र आफूलाई पौडेलपछि तेस्रो नम्बरको वरीयता तोक्न देउवालाई आग्रह गरेका छन् । “अहिले पार्टीमा पहिलो लेयरका नेताहरूमा देउवाजी, पौडेलजी र म नै हो । दोस्रो नम्बर रामचन्द्रजीलाई दिएकोमा मेरो कुनै आपत्ति छैन,” श्रेष्ठले बाह्रखरीसँग भने, “तर, पदाधिकारीमा रहेका अन्य साथीहरू सबै मभन्दा जुनियर हुन् । उनीहरूले मलाई भेटमा पनि सम्मान गर्छन् । त्यसकारण मेरो वरीयता तेस्रो नम्बर हुनु उपयुक्त र न्यायसंगत हुन्छ ।”
उनले वरीयतामा आफ्नो दाबी नेचुरल भएको भन्दै त्यसलाई कार्यान्वयन गर्दा असन्तुष्टि बढ्ने नभई सभापति देउवाको ‘हाइट’ बढ्ने तर्क पनि गरे ।
नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक)को एकता हुँदा गिरिजाप्रसाद कोइरालाको उपसभापति भएर काम गरेका उनी सरकारमा पनि उपप्रधानमन्त्रीसम्म भएका थिए । “म सभापति बनिनँ, तर कार्यवाहक सभापति भएर शेरबहादुरजीलाई सभपाति बनाएको छु । प्रधानमन्त्री भइनँ, तर उपप्रधानमन्त्री बनेर सरकारमा सहभागी भइसकेको छु,” श्रेष्ठले भने, “त्यसैले म ‘नेचुरल’ दाबेदार हुँ । शेरबहादुरजीले यो कुरा बुझ्नुपर्छ ।”
पार्टीको १३औँ महाधिवशेनपछि पनि आफूलाई वरीयतामा अन्याएको भएको र पटक–पटक प्रश्न उठाउँदा सभापति देउवाले आश्वासन दिए पनि सम्बोधन भने नगरिएको गोपालमानको गुनासो छ । १३औँ महाधिवेशनपछि लामो समयसम्म वरीयतामा प्रश्न उठाएर माइन्युटमा हस्ताक्षर नगरेका उनी महाधिवेशनमा भने देउवाको समर्थनमै उभिएका थिए ।
“पटक–पटक भनेपपछि मलाई अगाडि देख्दा देउवाजीले म वरीयता मिलाउँदै छु, केही समय पर्खनुस् भन्नुभयो । तर, कहिल्यै वरीयता दिनु भएन । चार वर्ष बितेपछि संगठन विभागको प्रमुख बनाउनुभयो,” उनले भने, “अहिले संगठन विभागले उहाँको जितका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । अब फेरि वरीयताको कुरा त्यस्तै नहोस् । मेरो तेस्रो नम्बरमा स्वाभाविक वरीयता हो ।”
कांग्रेस केन्द्रीय समितिमा तेस्रो र चौथो वरीयतामा क्रमशः उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ छन् । पाँचौँ र छैटौँ वरीयतामा क्रमशः महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा छन् । वरीयताको सातौँ नम्बरदेखि सहमहामन्त्रीहरू छन् । सहमहामन्त्रीहरूको वरीयतामा क्रमशः फरमुल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङदेम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार छन् ।
कांग्रेसमा वरीयताको प्रश्न उठाउने गोपालमान एक्ला नेता होइनन् । सभापतिको निकटतम प्रतिद्वन्द्वी भएर स्वतः केन्द्रीय सदस्य बनेका शेखर कोइराला पक्षले विगतको अभ्यासानुसार दोस्रो वरीयता दाबी गरेको छ । १२औँ महाधिवेशनदेखि सभापतिका निकटतम प्रतिद्वन्द्वीले दोस्रो वरीयता पाउने गरेका थिए । तर, देउवाले भने आफ्ना निकटतम प्रतिद्वन्द्वी कोइरालालई २६औँ वरीयतामा राखेका छन् ।
यस्तै, अरू केन्द्रीय सदस्यले पनि वरीयता चित्तबुझ्दो नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । सोही कारण वरीयताको विषय टुंग्याउन सहमहामन्त्री उपाध्यायको नेतृत्वमा वरीयता व्यवस्थापन अध्ययन समिति गठन गरिएको छ । तर, नेता श्रेष्ठले आफ्नो वरीयताको विषयमा सभापति देउवाले नै निर्णय लिनुपर्ने बताएका छन् ।