site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना इन्डोनेसिया जाँदै
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अन्तरव्यवस्थापिका संघको १४औँ सम्मेलनमा भाग लिन इन्डोनेसिया जाने भएका छन् ।

अन्तरव्यवस्थापिका संघ तथा इन्डोनेसियाको संसद्को आयोजनामा यही ४ देखि १० गतेसम्म हुन लागेको अन्तरव्यवस्थापिका संघको १४औँ सम्मेलनमा भाग लिन उनी शुक्रबार बेलुका इन्डोनेसिया प्रस्थान गर्न लागेका हुन् ।

अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा नौ सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार राति ९ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने संघीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्यहरू भैरवसुन्दर श्रेष्ठ र अनिता देवकोटा तथा प्रतिनिधिसभा सदस्यहरू सुरेन्द्रकुमार कार्की र उमाशंकर अरगरिया रहनेछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, संघीय संसद्का महासचिव डा. भरतराज गौतम, राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँल, राष्ट्रियसभा अध्यक्षको प्रमुख स्वकीयसचिव गोविन्द अकेला र उपसचिव रेखा उपाध्याय पनि प्रतिनिधिमण्डलमा रहने संसद् सचिवालयले जानकारी दिएको छ ।

सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘गेटिङ टु जिरो : मोबिलाइजिङ पार्लियामेन्ट्स टु एक्ट अन क्लाइमेट चेन्ज’ शीर्षकमा आफ्नो धारणा व्यक्त गर्नेछन् । यस्तै, सम्मेलनको विशेष सत्रमा कोभिड–१९ महामारीको बेलामा नेपालको संसद्ले गरेका गतिविधिहरूको सम्बन्धमा पनि संक्षिप्त जानकारी प्रस्तुत गर्नेछन् ।

अध्यक्ष तिमिल्सिनाले गर्भनिङ काउन्सिलको २०९औँ सत्रमा पनि भाग लिने कार्यक्रम छ । सो सत्रमा राष्ट्रियसभा सदस्यद्वय श्रेष्ठ र देवकोटाले पनि सहभागिता जनाउनेछन् ।

देवकोटाले महिला संसद् सदस्यहरूको बैठक एवं छलफलमा र प्रतिनिधिसभा सदस्य अरगरियाले युवा संसद् सदस्यहरूको बैठक एवं छलफलमा भाग लिने संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रतिनिधिसभा सदस्य कार्कीले ‘इन्गेजिङ फर अ युनिभर्सल बन अन न्युक्लियर टेस्ट्स’ विषयमा हुने छलफलमा नेपालको धारणा प्रस्तुत गर्ने कार्यक्रम छ । संघीय संसद्का महासचिव गौतम ‘एसोसिएसन अफ सेक्रेटरिज जेनेरल अफ पार्लियामेन्ट्स’ सम्मेलनमा सहभागी हुनेछन् ।

सम्मेलनमा सहभागी भएर संसदीय प्रतिनिधिमण्डल चैत ११ गते बेलुका ८ः४५ बजे नेपाल फर्कने संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १५:४८
प्रतिक्रिया दिनुहोस्