
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले केही दलका नेताले राजनीतिलाई पेसा÷व्यवसाय बनाएका कारण यसप्रतिको विश्वास घट्दै गएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङदेनले राजनीतिलाई पेसा/व्यवसाय बनाउनेहरू नराम्ररी पराजित हुने पनि बताए ।
उनले अब राजनीतिलाई कमाइ खाने भाँडो बनाउनेहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)को कित्तामा हुने र देश यथास्थितिमा राख्न हुँदैन भन्नेहरू आफ्नो पक्षमा रहने जिकिर गरे ।
नेपालमा उत्पादन हुने बिजुली विदेशमा बेच्ने नभई मुलुकमा नै खपत गर्नुपर्नेमा उनले जोड दिए । बिजुलीको अधिकतम प्रयोग गर्न सके मुलुक विकासको बाटोमा अघि बढ्ने र रोजगारी पनि बढ्ने उनको भनाइ छ ।
मुलुकको हितमा काम गर्न सक्ने राप्रपा बाहिरका व्यक्तिलाई पनि स्थानीय तहको निर्वाचनमा अवसर दिइने उनले उल्लेख गरे ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी आएका व्यक्तिहरूलाई अध्यक्ष लिङदेनले राप्रपामा स्वागत गरेका थिए ।