site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सवैधानिक इजलासको सुनुवाइ स्थगित : अर्को सुनुवाइ बुधबार हुने 
फाइल तस्बिर ।

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा संविधानको व्यवस्था नै अध्यादेशबाट संशोधनमार्फत गरेका सिफारिस र नियुक्तिविरुद्धको रिटको आजको सुनुवाइ स्थगित भएको छ । गत वर्ष दायर रिटमा पहिलोपटक भएको सुनवाइ आउँदो बुधबारसम्मका लागि स्थगित भएको हो ।

सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की नेतृत्वको संवैधानिक इजलासले एक वर्षअघिको रिटमा पहिलोपटक सुनुवाइ थालेको हो । सर्वोच्चमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा रहँदासम्म यो रिटमाथिको सुनुवाइ टार्दै आएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रधानन्यायाधीश जबराले संवैधानिक परिषद्का सिफारिसमा भाग लिएर त्यसको बचाउमा सुनुवाइ समेत प्रभावित गरेपछि अहिले उनीमाथि संसद्मा महाअभियोग प्रस्ताव टेबल भएर सिफारिस समिति समेत बनेको छ । जबराविरुद्ध महाअभियोग प्रस्तावपछि कामु प्रधानन्यायाधीश कार्कीको नेतृत्वमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलास गठन भएको छ । यो इजलासले सिफारिस तथा नियुक्तिविरुद्धको यो रिटमा आउँदो बुधबार सुनुवाइ गर्नेछ ।

यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद्मा जति पदाधिकारी उपस्थित भए पनि उपस्थितको बहुमतले निर्णय गर्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । सोही अध्यादेशमा टेकेर ५२ पदाधिकारीहरू संवैधानिक अंगहरूमा नियुक्त भएर कार्यरत छन् । त्यति बेला जारी अध्यादेश र त्यसैको आधारमा भएका सिफारिस र नियुक्तिको सम्पूर्ण प्रक्रिया नै असंवैधानिक भएको भन्दै खारेजीको माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्यालसहितले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

यी रिटको सुनुवाइपछि संवैधानिक इजलासले त्यसरी नियुक्ति भएका पदाधिकारीको भविष्य निर्धारण गरिदिनेछ । सुनुवाइपछि अध्यादेश र नियुक्ति प्रक्रिया असंवैधानिक ठहर भए ५२ पदाधिकारीको नियुक्ति एकसाथ खारेज हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १४:५६
प्रतिक्रिया दिनुहोस्