
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि विभिन्न विवालबीच आज अक्सन हुँदै छ ।
विशेषगरी सहिद स्मारक ‘ए’ डिभिजन लिगका मच्छिन्द्र फुटबल क्लब, न्युरोड टिम (एनआरटी), सातदोबाटो युथ क्लब, मनाङ–मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब गरी आठ टिमले स्वीकृतीविना खेलाडीलाई नेपाल सुपर लिगको अक्सनमा सूचीकृत गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।
उनीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अक्सन रोक्नका लागि अनुरोध गरेका थिए । क्लबसँगको छलफलपछि एन्फाले एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिलाई पत्र काटिएको छ ।
तर, आयोजकले भने सम्पूर्ण तयारी भइसकेकोले अक्सन आजै हुने जनाएको छ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्मा भन्छन्, ‘‘हामीले सम्पूर्ण तयारी पूरा गरिसकेका छौँ । त्यसकारण आज अक्सन हुन्छ । बाहिर केही हल्ला आएका छन् । हामी विवाद गरेर अघि बढ्ने पक्षमा छैनौँ । तर, आजको अक्सन भने समयमै हुन्छ ।’’
योपटक अक्सनमा १० टोली सहभागी हुँदै छन् । अघिल्लो वर्ष सात टोली मात्र थिए । योपटक नयाँ टिम स्पोर्टिङ इलाम दी मेची, वीरगन्ज युनाइटेड र झापा फुटबल क्लब थपिएका छन् । अघिल्लो वर्ष विराटनगर सिटी, काठमाडौं रेजर्स, ललितपुर सिटी, चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी र धनगढी एफसी थिए ।

हरेक टिमले २३ खेलाडी राख्न पाउनेछन् । १५ अक्सनबाट, पाँच विदेशी, दुई ट्यालेन्ट हन्टबाट र एक मार्कीसहित २३ खेलाडी हुनेछन् । अक्सनका लागि एनएसएलले यसअघि नै २४० खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गरिएको छ ।
‘ए’ श्रेणीका खेलाडीको आधार मूल्य एक लाख ५० हजार रुपैयाँ छ । ‘ए’ श्रेणीका खेलाडीलाई अधिकतम तीन लाख ५० हजार रुपैयाँसम्म बोली लगाउन पाइनेछ । एकै खेलाडीलाई धेरै टोलीले बोली लगाए गोलाप्रथामा जानेछ ।
योपटक ‘ए’ श्रेणीको खेलाडीका लागि ‘गोल्डेन बजर’ थिच्ने प्रावधान पनि राखिएको छ । हरेक टोलीले एक खेलाडीका लागि मात्र यो प्रावधान प्रयोग गर्न पाउँछन् । खेलाडीको नाम आउनेबित्तिकै जुन टोलीले पहिला गोल्डेन बजार थिच्छ, त्यसै टोलीले अधिकतम मूल्य तिरेर खेलाडी अनुबन्ध गर्नेछ ।
त्यस्तै ‘बी’ श्रेणीका खेलाडीको आधार मूल्य एक लाख र अधिकतम मूल्य एक लाख ५० हजार रुपैयाँ राखिएको छ । त्यस्तै, ‘सी’ श्रेणीका खेलाडीका लागि आधार मूल्य ५० हजार र अधिकतम मूल्य एक लाख रुपैयाँ तोकिएको छ ।