1641011102.jpg)
“कठैबरा ! हेर, यति सानामै बाबु गुमाउनुपर्यो । तर, धैर्य गर्नुपर्छ भगवान्ले हेर्छन् भन्छन् । टुहुराका पनि दिन आउछ भन्छन् बाबु ।”
बस्नेतनी आमा क्रियापुत्री बसेको ठाउँनजिकै गएर चुकचुकाउँदै थिइन् । उनीसँगै आएका गाउँका अरू महिलाहरू पनि दया भावले हेरिरहेका थिए ।
“अब काजक्रिया राम्रोसँग गर पितृले आशीर्वाद दिन्छन् ।” अर्की दिदीले थपिन् ।
राधा नाउत्तर हेरिरही । उसलाई लाग्यो, यी विचार लिएर आउनेहरूलाई चिच्याएर भन्दिऊँ र खेदाऊँ घरबाट ।
“खै कहाँ छन् भगवान् ! तपाईंहरूका भगवान्लाई मैले उहिल्यै मेरो घरबाट निकालिसकेँ । फोटाहरू डढाइसकेँ । राक्षसजस्तो बाबुबाट छुटकारा पाउँदा पनि के टुहुरा भनेको होला ? म आमा छुइन सिंगै पालनपोषण गर्न !”
मुटुमा दन्किरहेको ज्वाला लुकाएर राधाले आँखामा नम्रता पस्की । लामो श्वास फेरेर आपूmलाई सम्हाल्ने कोसिस गरी ।
कोठा एक छिन चकमन्न भयो । सुनसान–सुनसान ! सियो खसेको पनि सुनिने भयो । निर्जीव ढुंगो भएर चुपचाप बसिरहे आएका मान्छेहरू । पहिले पनि कहाँ भिडभाड हुन्थ्यो र घरमा ? सधैँ डर र त्रासमा बस्नुपरेको थियो ।
राधा सेतो पहिरनमा लोग्नेको किरियामा बसेकी छे । उसको सेतो सफा अनुहारमा न पीडा देखिन्छ न खुसी नै झल्किन्छ ! शृंगार नगर्दा अनुहार फुंग उडेको जस्तो देखिएको मात्र हो । केस खुल्ला छ । घाँटीसम्म झरेर निस्फिक्री हल्लिरहेको छ । उसको मनजस्तै ।
पल्लो कुनामा छोरा बसेको छ । ऊ भावशून्य छे । लोग्ने मर्दा पीडा हुन्छ कि खुसी ऊसँग उत्तर छैन । ऊ लोग्नेको मायाले किरिया बसेकी हैन । मात्र सामाजिक धर्म निर्वाह गर्दैछे ।
लोग्नेलाई आर्यघाटमा जलाएर आएपछि ऊ साँच्चै मुक्त भएकी छे । एउटा दैत्यलाई भगवान्ले ठेगान लगाइदिए ! ऊ यस्तै सोच्दैछे । किन उसलाई कति पनि दुःख लागेन उसको लोग्नेको मृत्युमा ?
मनमनै भन्छे, ‘आज त मैले उत्सव मनाउनुपर्ने हो । ढोल, नगरा बजाउनुपर्ने हो ।’ तर, ऊ मात्र समाजलाई देखाउन झोक्राएर बसेकी छे । किन ऊ यति क्रूर भएकी छे ? सोच्नै सक्दिन । उसको मन पूरै मरेको छ । ऊ भुटेको अनाज भएकी छे । जसबाट कुनै अंकुरण हुँदैन ।
उसलाई थाहा छ, यो समाज जहाँ उसले बस्नुपर्छ, यदि उसले यी कर्मकाण्ड गरिन भने समाजले उसलाई गरिखान दिँदैन । त्यसैले लोकका लागि पनि ऊ किरिया बसेकी छे ।
किरिया बारिरहँदा ऊ लोग्नेले दिएका विगतका ताडना सम्झेर बहुलाउन खोज्छे । चित्रहरू उसका मानसपटलमा चलचित्रझँै सर्सर्ती दौडिन्छन् । उसलाई यहाँका मान्छेहरूसँग जोडले कराएर भन्न मन लाग्छ, ‘म एक्लै छोराछोरीको पालनपोषण गर्न सक्षम छु । मेरो चिन्ता नलेओ । म आफ्नो चिन्ता आफैँ लिन्छु ।’
तर, लोग्नेको किरिया बस्न मन छैन भनेर कसैलाई भन्न सक्दिन । ऊ आफैँलाई एकदम लाचार र विवश देख्छे । कहाँ मन छ र उसलाई दानवजस्तो लोग्नेको किरिया बस्न ।
आकाशमा बादल मडारिएझैँ राधाका मनमा हजारौँ कुरा मडारिएर आउँछन् । कति हो कति, उथलपुथल हुन्छन् । ऊ चिच्याएर भन्न चाहन्छे, ‘म अलिनो खान सक्दिनँ । म यो सेतो पहिरन खोलेर रातो लगाउन चाहन्छु । किनकि, आज मेरो विजयको दिन हो !’
उसलाई मन हुन्छ उठेर सबथोक छोइदिऊँ । भान्सामा गएर दालभात पकाएर धीत मरुन्जेल खाइदिऊँ । किनकि, जब उसको लोग्ने साथमा थियो, उसले अघाउन्जेल आनन्दले एक छाक पनि खान पाएकी थिइन । कहिले खाँदाखाँदैको भातको थाल लात्ताले हानेर घरभरि छरिदिन्थ्यो । कहिले थालमै कुल्चिदिन्थ्यो ।
कति वर्ष भयो मैले डरैडरमा आनन्दले, मजाले खान पाएको छैन । आज आनन्दले खाइदिऊँ । किनकि, आज मेरो लोग्ने मरेको छ । जसको लागि मैले तपस्या गरेको थिएँ– ऊ मनमनै यस्तै सोचिरहन्छे ।
तर, आँट छैन भन्न । समाजले उसको ओठ सिलाइदिएको छ । पखेटा काटिदिएको छ । घाइते बनाएर लडाएको छ । त्यै पनि ऊ उठ्छे । अनि, आफ्नो बलिष्ठ विचार बोकेर दौडन्छे ।
ऊ घाइते सिंहिनीझैँ भएकी छे । मुटुमा आगोको मुस्लो बोकेकी छे । तर, अरूलाई डढाउन उसले सिकेकी नै छैन । बरु भित्रभित्रै आफैँ जली सकी । ऊ सोच्छे– साँच्चै लोग्नेसँग भएका सप्पै कुरा र दिएका ताडना समाजमा देखाउन नमिल्ने हुँदारछन् !
यही समाज हो जसले आइमाईलाई मात्र दुःख लुकाउनुपर्छ भनेर सिकायो । जब राधासँग उसको लोग्ने साथ थियो, त्यति बेलाका बाँकी रहेका सम्झनयोग्य खुसीका स्मृतिहरू केही छैनन् । मात्र याद छन् त क्रूर, पासविक यातना ।
अहिले पनि उसको शरीरमा लोग्नेले कुटेको ठाउँमा रगत जमेर काला भएका छन् । ती काला–नीला दागहरू उसलाई निल्न आउँछन् । तर, कहाँ खुलस्त भन्न सक्छे र राधा, ती काला दागका कुरा ।
ऊ आँखा चिम्लन्छे । उसको मरिसकेको लोग्नेले उसलाई पहिलेजस्तै बेस्सरी लखेट्छ । ऊ पनि नभेटोस् भनेर बल लगाएर कुद्छे । कसो–कसो ऊ लड्छे । उसको लोग्नेले भेट्छ र घाँटी ङ्याक्न खोज्छ । ऊ आफ्नो हात घाँटीनिर लगेर लोग्नेको हात छुटाउन बल गर्छे । उसको हात एक्कासि झट्कारिन्छ ।
झल्यास्स हुन्छे ! आफूलाई सेतो पहिरनमा देख्छे । यसो आँखा के लागेको थियो, बेस्सरी ऐँठन भएछ । ऊ असिनपसिन भएर उठ्छे । चारैतिर हेरेर लामो सास फेर्छे । बाहिर उसले सधँै चारो दिने भँगेराका जोडी चिरबिर कराएको सुन्छे ।
सोच्छे– उसले सधैँ हेर्ने गरेका ती जोडी आज पनि मिलेर चारो चर्दै होलान् । लम्केजस्तो गरेर झ्यालबाट चराहरूलाई हेर्छे । देख्दिन । अनि, मनमनै चराहरूलाई भन्छे, ‘हेर, अब त म पनि तिमीहरूजस्तै स्वतन्त्र भएँ ।’
किरियामा बसेको छोरालाई हेर्छे । जसले जन्म दिएर आफ्नो बाबुको कर्तव्य निर्वाह कहिल्यै गरेन, आज छोरालाई तिनै बाबुको किरिया गर्न लगाउँदै छे । ऊ सम्झिन्छे– कतिचोटि यही छोरालाई जन्म दिने बाबुले नै मार्न खोज्यो । बोकेर कैयाँैपटक भुइँमा पछार्यो । कति क्रूर तस्बिर बसेको छ उसको मस्तिष्कमा आफ्नो बाबुप्रति ।
राधा फेरि विगत सम्झिन थाल्छे ।
पुसको दिन थियो । दिनभरि नै घाम लागेन । पानी हो कि शीत, आकाशबाट तपतप चुहिरह्यो, राधाको आँसुजस्तै । मुटु कटकटाउने चिसो भइरह्यो, राधाको मनजस्तै ।
छोटो दिन भएकाले छिटै रात पर्यो । अफिसबाट आउँदाआउँदै झमक्कै भयो । राधा हस्याङफस्याङ गर्दै घरभित्र छिरी । उसको लोग्ने मातेर अघि नै आईवरी उसकै बाटो हेरेर बसेको रहेछ । छोराछोरी पनि डराएर एउटा कुनामा पोको परेर बसेका रहेछन् ।
उसले लुगा फेरी । हातमुख धोएर सिधै भान्सामा पसी । उसको लोग्ने छेक्दै भान्सामा पुग्यो र कराउँदै सोध्यो, “कहाँ गएकी थिइस् ?”
“थाहा छैन सधैँ कहाँ जान्छु ! अफिस ।” राधाले विस्तारै डराउँदै भनी ।
“यति बेरसम्म लाग्छ तेरो अफिस ? कुन नाठोसँग नारिएर आइस् ?”
“छोटो दिन छ । आउँदाआउँदै ढिलो भयो नि ।” राधाले भनी ।
“बढ्ता कुरा बनाउछेस् ?” उसले एक झापड हानी हाल्यो राधालाई । दिनभरिको थकित शरीर राधा काम्न थाली ।
“छोराछोरी भोकाए, खै हट्नु खाना बनाउँछु ।” डराएको स्वरमै उसले भनी ।
राधाले एकातिर दाल बसाई । अर्कोतिर भात । तरकारी हतारहतार काट्न थाली । छोरा भान्साको ढोकाबाट चिहाउँदै कोठातिर जाँदै गर्दै थियो ।
सधैँको नियमित झगडा गर्ने बानी भइसकेको थियो, उसको लोग्नेको । राधाले तरकारी काट्दै गरेको चुलेसी उसले खोस्यो र राधालाई काट्न उज्यायो । उसले छक्याएजस्तो गरी । किचेन र्याकमा चुलेसीले बेस्सरी हान्यो । चुलेसी नै बांगियो । राधा कसोकसो फुत्केर छोराछोरी भएको कोठातिर भागी ।
“आज तलाईं र तेरो शाखा–सन्तानलाई नमारी छोड्दिनँ ।” मत्ता हात्ती बहुलाएझँै भएको थियो राधाको लोग्ने । ऊ राधालाई खेद्दै कोठामा पुग्यो । राधा फेरि छोराछोरी पकडेर भान्साकोठामा गई । ग्यास मारिदिई । पछाडिको ढोकाबाट फुत्त बाहिर निस्की ।
उसको लोग्ने खेद्दै त्यहीँ आयो । उसको नजर बाहिर राखेको खुकुरीमा पर्यो । हातबाट चुलेसी फाल्यो र खुकुरी उज्यायो, “आज यी तीनैलाई नमारी छाड्दिनँ ।” ऊ नशाले चुर भएर खुकुरीले भित्तो, दराज, भुइँ जताततै हिर्काउन थाल्यो ।
उसले राधा र छोराछोरीलाई खेद्न थाल्यो । राधाले एकपटक पनि पछाडि फर्केर हेर्ने आँट गरिन । कालो निस्पट रात छ । भुइँ कहाँ हो केही देखिँदैन । दुइटा हातले नानीहरू समातेर ऊ बारीबारी कुद्दै छिमेकीको बारीमा पुगी । खुट्टा चिसो भयो ।
अब भने अँध्यारो भइसकेको थियो । पछाडि हेर्दा पनि निस्पट कालो मात्रै देखिन्थ्यो । कति बज्यो उसले ठम्याउन सकिन । विस्तारैविस्तारै चाल मारेर तीनैजना छिमेकीको घरको बाहिर गारोको गल्लीजस्तो चेपमा लुके ।
चकमन्न रात । चिसो सिरेटो चल्न थाल्यो । घरीघरी मान्छे गुनगुन गरेको सुनिन्थ्यो । तर, राधाले छिमेकीलाई बोलाउने आँट गरिन । पाकिसकेको भात छोड्नु पर्दा छोराछोरीको कम्ता माया लागेन उसलाई ।
सर्वत्र निष्पट अँध्यारो छ । छोराछोरीको अनुहार देख्नै सकिन राधाले । भोक, डर र थकानले छोराछोरी उसको काखैमा निदाए । न बत्ती छ न ओढ्ने नै । न पेटमा तातो नै क्यै परेको छ । त्यसमाथि पुसको मुटु कट्कटउने जाडो ।
बसेको ठाउँमा झारपात छामिन्छ । मन सिरिङ हुन्छ । केटाकेटी काम्न थाल्छन् । ऊ अंगालो हाल्छे । आँसु थामिँदैनन् । तीनैजनाको शरीरको तापले केही राहत हुन्छ । घर फर्केर जाने आँट उसमा आउँदैन । त्यहीँ गुडुल्को परेर बस्छन्, तीन प्राणी ।
राति अचम्म–अचम्मका आवाज सुनिन्छन् । घरी लाटकोसेरो कराउँछ । घरी किथ्रोजस्तै के–के किराहरू मुटु नै छेड्ने गरी कराउँछन् । राधाको गलेको लोथ शरीर, आँखा कति खेर लागे उसले थाहा नै पाइन । धन्न रातभरि किरामिराले टोकेन ।
आँखा त कहाँ लागेका हुन् र ? शरीर गलेर लोथ भएको रहेछ । बिहान मात्र चाल पाई । केटाकेटीलाई विस्तारै उठाई र चाल मारेर आफ्ना घरतिर लागी ।
ओहो ! त्यो कालो दिनको सम्झना मात्रले पनि राधाको आङ सिरिङ्ङ हुन्छ ।
मान्छे बोलेको सुनेर राधा झल्यास्स भई । फाटफुट मान्छेहरू विचार बोकेर आइरहेका छन् । ऊ सोच्छे – घरीघरी यो नक्कली ढोङ किन गरिरहेकी छु । तर, पत्तो पाउँदिन ।
प्रायः धेरैलाई उसको लोग्नेको विषयमा थाहा छ । तर पनि कोही बोल्न चाहँदैनन् । बोलुन् पनि कसरी ? गाउँ–समाजका लागि त ऊ असल थियो । उसको रक्सी खाने र साथी भाइलाई पनि ख्वाउने बानी दिनानुदिन बढ्दै थियो ।
राधालाई भने घरको गर्जो टार्नै धौधौ हुन्थ्यो । उसको लोग्ने कहिले छोराछोरीको तिर्न आँटेको स्कुल फीको पैसा हातबाट खोसेर भट्टीतिर हिँड्थ्यो । नदिए उसलाई लछारपछार पारेर मरणासन्न हुने गरी पिट्थ्यो ।
उसले कहिल्यै हारगुहार गरिन । लोग्नेले रक्सी खाएर कुटेको कुरो कसैलाई सुनाइन । कति धिक्कारी आफ्नो कर्मलाई राधाले, तर आफ्नो माइतीलाई पिर हुन्छ भनेर कहिल्यै सुनाइन ।
तिजको दिन थियो । ‘तिजको रहर आयो बरिलै...’ गीत पर नेपथ्यमा गुन्जिरहेको थियो । गाउँका महिलाहरू शिवको पूजा–अर्चना गरेर रमाइरहेका थिए । जताततै रातो मात्र देखिन्थ्यो ।
धेरै भयो राधाले तिज मनाउन छोडेको । राधाले झ्यालबाटै बाहिर चिहाएर हेरी । महिलाहरू ओहोरदोहोर गरिरहेका थिए । उसको भान्सामा बिहानै भात पाकिसकेको थियो । छोराछोरीलाई खान दिई । नानीहरू छिमेकीकहाँ खेल्न गए ।
राधाले आफ्नो थालमा एक रास भात पस्की । बाहिर आएर ढोकाको चुकुल लगाई । फेरि भान्सामा गएर उठीउठी भकाभक भात खान थाली । तिजको दिन भात उसले यसपालि मात्र खाएकी होइन । पोहोर पनि उसले लोग्ने मरोस् भनेर खाएकी थिई । सम्झी, खै राक्षसजस्तो उसको लोग्ने मरेन त !
एकाएक उसका हातगोडा लुला भए । ढोकामा कसैले हिर्काएजस्तो लाग्यो ।
“काँ मरिस् हँ ! भित्रबाट ढोका लाएर दिउँसै...मासा के गर्दैछेस् ?” उसको लोग्ने लरबराएको स्वरमा करायो । लात्ताले बेस्सरी ढोकामा हान्यो । ढोका नै भाँचिएलाझैँ भयो । हतारहतार थाल जुठाल्नोमा राखी । हात चुठेर डराउँदै ढोका खोल्दिई ।
“ला मर ! तँलाइ ढोका खोल्न पनि यत्रो बेर लाग्छ ।” उसको लोग्नेले लात्ताले बेस्सरी हिर्कायो । हात उज्याएर फेरि कनपट्टीनिर हान्यो । निकै वर्ष भएको थियो राधाले लोग्नेको हातको कुटाइ खाएको । यस्तो पीडा खेपेको । राधा ढुन्मुनिँदै भित्तामा ठोक्किन पुगी ।
ऊ झल्यास्स भई । छामी आफैँलाई । उसलाई साँच्चै कसैले कुटेजस्तो भएर छाती दुखेजस्तै भयो । खै कसरी आँखा लागेछन्, फेरि दिउँसै अतीत आँखाअगाडि झलझली आएछ ।
फेरि, कोठाको चारैतिर नजर डुलाउछे राधा । छोरालाई हेर्छे । मनमनै सम्झिन्छे फेरि कुकुरजस्तो लोग्नेलाई ! उसलाई अहिले पनि याद छ । छोराछोरीको स्कुलको जाँच चलिरहेको थियो । साँझखेरि केटाकेटी खाना खाईवरी पढ्न बसेका थिए । छोरी पल्लो कोठामा बसेर पढिरहेकी थिई । छोरा आमाबाबुको कोठामै बसेर पढिरहेको थियो ।
राधाको श्रीमान्को अत्तोपत्तो थिएन । राधा थर्कमान थिई, कति खेर मातेर बौलाउँदै आउने हो भनेर । ऊ सोच्दै मात्रै थिई, गेट मज्जाले नै कसैले जोड्ले खोल्यो । राधाले झ्यालबाट चिहाएर हेरी । उसको लोग्ने नै रहेछ । मुटु ढक्क फुलेजस्तो भयो । दश मनको बोराले शरीर थिचेजस्तो भयो ।
राधाले ढोका खोलिदिई । बिनाकारण उसको लोग्ने झगडा गर्न थाल्यो । राधाले सोधी, “खाना खाने होइन ?”
“तँै खा तेरो भात ।” उसले बेस्सरी राधाको छातीमा एक लात्ती बर्सायो । उसले ऐया भन्न पनि सकिन । अन्धाधुन्ध जहाँ पायो त्यहीँ कुट्न थाल्यो । राधा कुदेर छोरा पढिरहेको कोठामा गई । उसको लोग्ने झम्टिँदै उहीँ पुग्यो ।
उसले छोराको किताब उचालेर पछार्यो । छोरो लगलग काम्न थाल्यो । “मेरो किताब च्यातियो भने भोलि मिसले मार्नुहुन्छ ।” छोरोले काम्दै भन्यो ।
“लु तेरो किताब ! तँलाई यत्रो माया ।” उसले फेरि छोरोलाई उचाल्दै पछार्दै गर्यो । ऊ रिसले पागल र अन्धो भएको थियो । छोरी ढोकाबाट हेर्दै लुक्दै गरिरही । अनि, डरले कुदेर आफ्नो कोठामा गई ।
“तैले पढेर के काम ?” रिसले आगो हुँदै राधाको लोग्नेले छोराको किताबमा पिसाब फेरिदियो । छोरा सुकसुक गर्दै लगलग काम्दै कुनामा गएर उभिरह्यो । राधालाई लाग्यो त्यति बेला, लुकाएर राखेको खुकुरीले लोग्नेलाई चट्टै छिनाइदिऊँ । तर, ऊ लाचार उभिरही ।
उसको अगाडि लोग्ने होइन, नरपिशाच थियो । संसारमा ईश्वर छैनन् भन्ने राधालाई त्यस दिन झन् पक्का भयो ।
उसको लोग्ने बहुलाएर आफैँ गल्यो । राधाले छोराको किताब बाहिर सुकाउन लगी । भुइँ सफासुग्घर गरी । अनि, छोरालाई अर्को कोठामा लिएर गई ।
छोरो सारै डराएको थियो । “आमा म भोलि स्कुल कुन किताब लिएर जानु ?” छोराले रुँदै काम्दै भन्यो ।
“भोलि म नयाँ किताब–कापी किनेर ल्याइदिन्छु अनि जानु ल ।” राधाले फकाई ।
मनमनै भनी, ‘हरे ! यी साना बालखको के दोष र ? बरु मलाई दुःख देऊ, तर यिनलाई केही नहोस् ।’
राधा झल्यास्स ब्युँझी । उसका आँखा आँसुले भिजेछन् । छोरालाई हेरी । छोरो विचार लिएर आएका मान्छेहरूसँग बात मारिरहेको थियो । उही राक्षस बाबुलाई अलिनो खाएर तार्दै थियो ।
त्यति खेरै राधाले बाहिर चरा फड्फडाएको सुनी । किनकिन उसको मन चरालाई सम्झेर खुसीले झुम्यो । हो ! आज राक्षसजस्तो उसको लोग्ने मरेको छ । नरपिशाचजस्तो बाबु मरेको छ । अब ऊ चराजस्तै स्वतन्त्र छे ।