
नयाँ दिल्ली । विभिन्न देशहरुले खोप अभियानमा ढिलाइ गर्न थालेपछि बाँकी भएका खोपहरु निर्यात गर्न भारतले ठूलो संघर्ष गर्नुपरिरहेको छ । मंगलबार सरकारले यसबारे जानकारी दिएको हो ।
विश्वको सबैभन्दा ठूलो खोप निर्माता कम्पनी, सेरम इन्सटिच्युट अफ इन्डियाले एस्ट्राजेनेका, नोभाभ्याक्स र स्पट्निक जस्ता कोभिड खोपहरु उत्पादन गरिरहेको थियो । तर थप माग नआएसम्म अस्थायीरुपमा क्षमता भन्दा आधा खोप मात्र निर्माण गर्ने बताएको छ ।
कम्पनीका प्रमुखले भने, “अहिले दुनियाँभरि नै खोपको पर्याप्त आपूर्ति छ । तर खोप भएपनि मान्छेमा प्रयोग गर्न केही समय लाग्नेछ । जस्तै केही मुलुकहरुमा केबल १५ प्रतिशत जनसङ्ख्याले मात्र खोप लगाएका छन् जसको दर बढाएर ६० प्रतिशत पुर्याउन जरुरी छ । ती ठाउँमा माग एकदमै उच्च छ । तर मासिक माग अनुरुप आपूर्ति अझ बढी भइसकेको छ । ”
शिर्ष भारतीय स्वास्थ्य अधिकारी विनोद कुमार पलका अनुसार हालको खोप उत्पादन सुइ लगाउन बाँकी रहेका विश्वका ३.६ अर्ब मानिसहरुलाई मजाले पुग्नेछ ।
उनले थप भने, “भारत खोप प्रदान गर्न सक्ने अवस्थामा छ तर यसका लागि माग कहाँ छ ? त्यसैले अबको बहस भनेकै खोप उत्पादनबारे नभएर त्यसलाई कसरी तिव्र रुपमा डेलिभर गर्ने र प्रयोगमा ल्याउने भन्ने हुनुपर्छ । विशेषगरी अफ्रिकी महादेशमा अझै खोप लगाउनेको दर कम छ । ”
अफ्रिकाको रोग नियन्त्रण निकायले यसअघि महिनौँको ढिलााइपछि अचानक सबैतिरबाट ठूलो स्तरमा खोप आउनुले आफूहरु झन संघर्षरत् बन्न पुगेको बताएको थियो ।
अफ्रिकाका ८ प्रतिशत जनसङ्ख्या, झन्डै १.३ अर्ब मानिसले मात्र पूरा डोज खोप लगाएका छन् । यता त्यति नै जनसङ्ख्या भएको भारतमा ३७ प्रतिशत जनताले पूरा डोज लगाइसकेका छन् भने अर्को महिनासम्म बाँकी सबै ९३ करोड वयश्कहरुलाई पूरा खोप लगाइसक्ने लक्ष्य राखेको छ ।
अघिल्लो महिना भारतमा केबल २५ करोड डोज खोपको माग मात्र रहेको थियो जबकी यसको घरेलु उत्पादन क्षमता नै ३४ करोड भन्दा बढी रहेको छ । यसकारण पनि खोपहरु बाँकी बचेका हुन् ।
सेरमले एक महिनामा उत्पादन गर्ने कोभिसिल्ड खोपको सङ्ख्या अप्रिलदेखि चार गुणाले बढाइएको छ । भारतको खोप अभियानमा त्यही खोप सबैतिर व्याप्त छ । तर कम्पनीलाई सरकारबाट थप कुनै माग आएको छैन ।
यता विश्व स्वास्थ्य संगठनको विपन्न मुलुकहरुलाई खोप वितरण गर्ने कार्यक्रम, ‘कोभ्याक्स’ ले नोभेम्बर र डिसेम्बरका बीच ४ करोड कोभिसिल्ड डोज प्राप्त गरेको छ । खोप विदेशमा पठाउन सरकारले प्रतिबन्ध लगाएपछिको यो पहिले निर्यात हो ।
कोभ्याक्ससँग कोभिडसिल्डका ५५ करोड डोज खरिद गर्न पाउने विकल्प पनि थियो तर भारतले गत अप्रिलमा अचानक खोप निर्यात ठप्प पारेपछि कोभ्याक्स सेरममाथि निर्भर हुन छाडेको हो ।
यसकारण भारत यदि विश्वको फार्मेसी बन्न चाहन्छ भने यसले कठिन परिस्थितिको समयमा पनि आपूर्ति निरन्तर गर्नुपर्छ नत्र सबै देशहरुले वैकल्पिक आपूर्तिको खोजी गर्नुपर्ने हुन्छ । रोयटर्स