असारको समय । धान रोप्ने चटारो । सबैलाई भ्याइनभ्याइ । स्कुलमा एकमहिने बिदा हुने बेला’नि नजिकै आइसकेको थियो । तर, बिदा हुुनुभन्दा अघि हुने परीक्षा कैले सकिएला र खेतमा जान पाइएला भन्ने हुटहुटीले मन बेचैन हुँदै थियो । म त सपना पनि खेतकै हिलोमा खेलेको देख्न थालिसकेको थिएँ ।
घरमा भने पढ्नुपर्छ बाबु भन्दै आमा कराइरहनुहुन्थ्यो । नपढी सुख पनि थिएन । पढ्नचैँ रहर नै लाग्थ्यो, तर करले कहिल्यै पढिएन । यसरी नै दिन बितिरहेका थिए ।
अचानक एक दिन ममीले भन्नुभयो, ‘बाबु, म रोपाइँभन्दा अघि दुई–चार दिनलाई मामाघर पुगेर आउँछु । त्यतिन्जेल आमालाई दुख नदिई बस है । म आउँदा तिमीलाई चाउचाउ ल्याइदिम्ला नि ।’
यसो सोचेँ, चाउचाउ ! यसै पनि मन चाउचाउ भने’सी हुरुक्क हुने । त्यसमाथि ममीको मामाघर यात्रा । फुच्चेलाई कोसेलीपातको लोभ । त्यसैले ममीको पछि लागेर मामाघर जाने आँट आएन ।
किनभने, यो परीक्षा राम्रो गरे यसपालि मैले बाबाबाट पनि उपहार पाउने पक्कापक्की थियो । पर्सिपल्टदेखि त परीक्षा पनि थियो । त्यति बेलै ममीसँग थप दुइटा कुरा पनि फर्माइस गर्न भ्याईहालेँ मैले । त्यो थियो, शाहरुखवाला पोस्टकार्ड र क्याप ।
ममी त मामाघर गइहाल्नुभो । घरमा रह्यौँ म र आमा । आमा सबेरै उठ्नुहुन्थ्यो । मलाई उठाउनुहुन्थ्यो । म ममीले लुगा लगाइदिएको रेडियो ढोकाको छेउमा झुन्ड्याएर कायाकैरन सुन्दै ममी आउने दिन गन्दै पढेर बस्थेँ ।
उतिखेर मेरो बालमन पनि अचम्ममा पर्थ्यो । आमासँग घडी थिएन, तर आमालाई कसरी था’भो यति बज्यो भनेर ! कसरी था’भो उज्यालो भो भनेर ? ‘हाम्री आमा त खतरा हुनुहुँदो रैछ’ भन्ने हुन्थ्यो मनमा । आमा भन्नुहुन्थ्यो, ‘ऊ, त्यो तारा याँ’आसी उज्यालो हुुन्च बा ! यति बज्च बा ! तेरा हजुरबाले मलाई यसरी नै सिकाउनुभ’को ।’
म त झन् तीनछक्कै ! ‘आमा तारा ‘घडी’ हो र ?,’ म फेरि सोध्थेँ आमालाई ।
‘यो केटो कति गनगन गर्दो रैछ !,’ आमा दिक्क मान्नुहुन्थ्यो । आमालाई सताउनु हुन्न भनेर मनमा जेलिएका प्रश्नहरूको पोको बन्द गरेर म फेरि सोच्न थाल्थेँ— स्कुलमा पो घण्टी लाग्थ्यो, कति बेला आउने—जाने पाले दाइले भन्दिन्थे । घरमा ममी नि हुनु हुन्न । म कति बेला स्कुल जाने होला ?’
मेरो बालमन पोल्न थाल्थ्यो– बाबै नि ! ढिलो भएर पाले दाइले स्कुलमा छिर्न दिएनन् भने के गर्नु । अहो ! त्यसो भो भने त मलाई घाटा लाग्थ्यो । बाले इन्डियाबाट पठाइदिन कबोल गरेको गोजावाला पाइन्ट र मेरीगोल्ड टिसर्ट अनि त्यै नयाँँ कपडा लगाएर यो दसैंमा सानीसँग पिङ खेल्ने मेरो सपना थियो ।
सानीलाई शाहरुखको पोस्टकार्ड दिने मेरो सपना । योपालि परीक्षा राम्रो गरे मैले उपहार पाउने पक्का थियो ।
सम्झेरै ढक्क भो मन । कहीँ कतै भोलि त्यस्तो नहोस् भनेर राति सुत्ने बेलामा मैले आमासँग भनेँ, ‘आमा... आमा ! मलाई भोलि चाँडै उठाइदिनुस् है । हिजभन्दा’नि चाँडै के ।’
‘नकराई सुत न तँ ! उठाइदिम्ला नि । यो केटोले मलाई बसी खान नदिनी भयो’, आमाले झिँझो मान्दै भन्नुभएथ्यो ।
बिहान सबेरै आमाले उठाइदिनु’भो । परीक्षा जो थियो । एकै छिन पढेँ । ड्रेस तयार गरेँ । कालो जुत्ता पालिस लगाएर टिलिक्क बनाएँ । त्यतिन्जेल खाना पाकिसकेको थियो । हतारहतार खाना खाएर म धारामा चुठ्न जाँदा पल्लो घरका अंकल बल्ल उठेर मुख धुन धारामा आउँदै थिए ।
उनले मलाई भने, ‘ओई केटो, कति चाँडो हिन्न लाइस् त ! अैलेई नजा स्कुल, बेला भा’छैन जाने ।’
मलाई उनका कुरा सुन्ने फुर्सद नै कहाँ थियो र ! मेरो त अर्कै सपना थियो । ममीले ल्याइदेको चाउचाउमा पर्ने मिठो चकलेट सानीको फ्रकमा बाटार्दै टोकेर बाँडेर खाने । बाले ल्याइदेको कपडा लगा’र सानीसँग दसैँमा पिङ खेल्ने अनि मनलाग्दी गाउँ डुल्ने !
मेरो त संसारै पो आर्कै थ्यो त ! सानीसँगको संसार । हाम्रो संसार ।
तर, अंकललाई भनेँ, ‘ऐले पाले दाइले गेटभित्र छिर्न नदेलान्, चाँडो जानपर्च अंकल ।’
त्यसपछि उनका कुरा नसुनी म स्कुल हिडेँ । तर, बाटोमा स्कुल जान लागेका कोही भेटिएनन् । स्कुल पुग्न बाटोमा तीनवटा ससाना खोल्सा पार गर्नुपर्थ्यो भने एउटा जंगल पनि ।
खोल्साखोल्सी पार गर्न त केही थिएन, तर जब जंगल आयो अलिक डर लाग्न थाल्यो । वरपर घरहरू थिएनन् । जंगल सकिनासाथ स्कुल आउँथ्यो । स्कुलपछाडि ठूलाठूला दुइटा रूख थिए, वर र पीपलका ।
जसोतसो जंगल त पार गरेँ, तर यसो हेरेको त वरपीपलका रूखभरि बाँदरको झुन्ड ! म त डरले एकैठाउँ डल्लो परेर रुन लागेँ । अंकलले भनेको याद आयो । डरले मुटु काँप्न लाग्यो ।
डर पनि किन नलागोस् त ! जताततै बाँदर मात्र थिए । बीच्चमा म एक्लो । म ‘ए बा ! ए आमा हो !’ भनेर कोकोहोलो हालेर रुन लागेँ । म रोएको देखेर बाँदरहरू झन् मलाई जिस्क्याउन लागे ।
मलाई आमासँग पनि रिस उठ्यो । आमाको ताराले धोखा दियो मलाई । अल्ली चाँडै भ’ओ भन्दिन पर्दैन त ।
संयोगवश स्कुलको म्याडम त्यै बाटो भएर कतै जाँदै हुनुहुँदो रै’छ । उहाँले मलाई पल्लो गाउँसम्म लगेर एउटा घरमा छोडिदिनुभयो र भन्नु’भो, ‘अहिले म फर्कने बेला सँगै जाउँला । अहिलेलाई यहीँ बसिराख है ।’
उहाँको आज्ञा शिरोपर गरेर म त्यहीँ बसिरहेँ । त्यस घरमा त्यो दिन के रै’छ कुन्नी, मेरो उमेरका बच्चाबच्ची त कोही थिएनन् । तैपनि, मेरी आमाजस्तै उमेरकी महिलाले मलाई निधारमा टीका लगाएर आशीर्वाद दिँदै भन्नु’भो, ‘बाबु ! तिमी पनि त मेरो छोराजस्तै हौ नि । तिम्ले चाहेको सप्पै कुरा पूरा होस् । दक्षिणाचैँ पछि दिम्ला है ।’
पछि स्कुल गएर परीक्षा दिएँ । भनेजस्तै आमाले ल्याइ’देको उपहार अनि बाले किन्देका लुगा पनि पाएँ । मैले देखेका सबै सपना पूरा भए ।
तर, मलाई भने ती आमाले ‘दक्षिणाचैँ पछि दिम्ला है’ भनेको बारम्बार सम्झना आइरह्यो ! त्यति बेलैदेखि त्यो दक्षिणा मेरो बालमनको अर्को सपना बनेर उदाएको छ !