काठमाडौं । स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. आरपी बिच्छाको बिना कुनै कारण सेवा अवधि थप गरिएको भन्दै सरकारी चिकित्सक संघले विरोध जनाएको छ ।
संघले बिहीबार विज्ञप्ति जारी गर्दै सरकारले एक व्यक्ति केन्द्रित भएर नियमको गलत व्याख्या गर्दै महानिर्देशकको सेवा म्याद थपेको भन्दै गम्भीर ध्यानाकर्षक भएको उल्लेख गरेको छ ।
“कुनै विशेषज्ञको विज्ञता राष्ट्रलाई आवश्यक भएकोमा निजको अवधि थप गर्नु र निजको विज्ञताको सदुपयोग गरिनु स्वागत लायक हुन सक्छ तर विज्ञताको नाममा कार्यकारी पद नै सुम्पिन खोज्नु हास्यास्पद एवं गलत मनसायपूर्ण छ,” विज्ञप्तिमा भनिएको छ ।
अस्पष्ट नियतले स्वास्थ्य जस्तो गम्भीर क्षेत्रको महानिर्देशक पदलाई नै दुरुपयोग गरिनु खेदपूर्ण भएको संघको ठहर छ ।
