
दाङ । लुम्बिनी प्रदेशसभा सचिवालयले नेकपा (एमाले)ले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न नमिल्ने जनाएको छ ।
प्रदेशसभा सचिवालयले एमालेलाई पत्र लेखेर अजय शाही र विमला वलीलाई पदमुक्त गर्न नमिल्ने जनाएको हो । उनीहरू दुवैजना तत्कालीन नेकपाबाट निर्वाचित सांसद हुन् ।
एमालेले विनाविभागीय मन्त्री शाही र वलीलाई दलको आचारसंहिता, विधान र ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेर पदमुक्त गर्न प्रदेश सभामुखलाई पत्र बुझाइएको थियो ।
ती दुई सांसदलाई पदमुक्त गर्न मिल्ने आधार नदेखिएकाले पदमुक्त नगरेको व्यहोराको पत्र एमालेलाई पठाएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । वली दाङ र शाही नवलपरासीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
एमालेले प्रदेशसभा नियमावली, २०७४ को नियम १८८ अनुसार दलगत विवरण बुझाउँदा उनीहरूको नाम समावेश गरिए पनि व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको व्यहोरा एमालेलाई जानकारी गराइएको सचिवालयले जनाएको छ ।
प्रदेशसभा नियमावली १८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आबद्ध रहेको विवरण प्रदेशसभा सचिवालयमा बुझाएको उनले बताए ।
प्रदेशसभाको नवौँ अधिवेशन यही भदौ १ गतेदेखि सुरू भए पनि दुई सांसदका कारण सदन निरन्तर अवरुद्ध भइरहेको छ । प्रदेशसभा सोमबार (भोलि)का लागि बोलाइएको छ ।
सदन चल्न नसक्दा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिन पाएका छैनन् । ८७ सदस्यीय प्रदेशसभामा अहिले ८० सांसद छन् ।