
पोखरा । मार्सल लगाएर गण्डकीको बजेट बुधबार छलफलविनै पारित गरिएको छ । लगातार एमालेले सदन अवरुद्ध गरेपछि सत्तापक्षीय गठबन्धन मार्सल लगाउने स्थितिमा पुुगेको थियो । विभिन्न १० बुँदे माग राखेको एमालेले बुधबारमात्रै चारवटा बैठक अवरुद्ध गरेकाे थियाे ।
पाँचौपटकको बैठकमा चाहिँ मार्सल लगाएरै भएपनि सञ्चालन गर्ने र कार्यसूची अनुसार विनियोजन विधेयक पेश गर्ने र पारित गर्न सत्तापक्षउन्मुख थियो ।
तर, मार्सल लगाइरहँदा गण्डकीमा एमालेका सांसद तथा पूर्वमन्त्री रामशरण बस्नेतले मन्त्रीको टेबुल नै फालिदिए । उक्त प्रकरण पश्चात् एमाले संसदीय दलले गरेको पत्रकार सम्मेलनमार्फत बस्नेतले आफूले टेबल फालेको नभई राखेको स्पष्टोक्ति दिएका छन् ।
उनले भने, “त्यहाँ टेबल फालेको देखिन्छ कि राखेको देखिन्छ ?”
आक्रोशित देखिएका बस्नेतले पत्रकारहरूले दलीय झुकावका कारण आफ्नो चरित्रहत्या गरेको भन्दै पत्रकारलाई भिडियो हेर्न सुुझाव दिए ।
हान्नै खोजेको भए एमाले कमजोर नरहेको एमाले संसदीय दलका नेता मायानाथ अधिकारीले बताए ।