site stats
बाह्रखरी :: Baahrakhari
विचार
बक्सियोस् आज झोली !

"बिन्ती डिट्ठा विचारीसित म कति गरू चुप् रहन्छन् नबोली
बोल्छन् ता ख्याल् गर्या झैँ अनि पछि दिनदिन् भन्दछन् भोलिभोली
की ता सक्तीन भन्नु कि तब छिनिदिनू क्यान भन्छन् इ भोली
भोलीभोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।।"

यी पङ्क्ति नेपाली साहित्यमा रूचि भएका र भानुभक्त आचार्यलाई चिन्ने धेरैले सुनेको हुनुपर्छ । अझ साहित्यमा रूचि नै नभएका र भानुभक्त आचार्यलाई नचिन्नेहरूले समेत यो कविता वा यसको अंश सुनेको जानेको वा यदाकदा भनेको समेत सुनिन्छ । प्रशासनिक कार्य वा न्यायसम्पादनमा विलम्बका कारण लामो समय हण्डर खाएका व्यक्तिमाझ यो कविताले उखानको रूप लिएर रहेको छ ।  यो कविता लेखिएको अहिले करिब १६५ वर्ष बितिसके पनि यसको सान्दर्भिकता बढ्दै गएको अनुभव हुन्छ । 

भानुभक्त आचार्य (वि. सं. १८७१–१९२५) का रामायण तथा अन्य कृतिहरूलाई नेपालमा  मात्र नभै नेपाल बाहिरका नेपालीभाषीबिच पनि उत्तिकै मन पराइन्छ । भानुभक्तलाई नेपालमा आदिकविको सम्मान मिलेको छ । नेपालबाहिर पनि भानुभक्तलाई नेपाली जातिकै प्रतिनिधित्व गर्ने जातीय कविको रूपमा श्रद्धा गरिन्छ । भानुजयन्ती नेपालीभाषीका लागि कुनै चाडभन्दा कम छैन । भानुभक्तको रामायणको सरलता, सम्पूर्णता तथा हरेक वर्ग, समुदाय र पृष्ठभूमिका व्यक्तिहरूलाई उत्तिकै रूचिकर हुने विशेषताका अतिरिक्त भानुभक्तका फुटकर कवितामा रहेका समाजका विभिन्न पक्षका चोटिला चित्रणले पनि उनलाई आदिकवि बनाएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भानुभक्तको यो कविता पनि यस्तै चोटिलो प्रहारका कारण प्रसिद्घ भएको हो । हाम्रो शासनतन्त्रमा अनेकौं परिवर्तन आए पनि शासनतन्त्रको मूलभूत स्वरूपमा भने विशेष परिवर्तन आउन नसकेको पृष्ठभूमिमा यस पद्यको सान्दर्भिकता अझै रहेको छ । यो पद्य भानुभक्तले वि.सं. १९१३ तिर खोलाले काटी बगर बनाएको भूमिको विवादका प्रसङ्गमा रचना गरेका हुन् । सो विवाद तत्कालीन न्यायव्यवस्थाका तल्ला निकायले छिन्न नसकी केन्द्रसम्म नै पुगेपछि तत्कालीन कमान्डर इन चिफकहाँ निवेदन दिँदा भानुभक्तले यो पद्यको रचना गरेको बुझिन्छ ।  यस लेखमा भानुभक्तको यसै कविताका मुख्य शब्दावलीलाई वर्तमान सन्दर्भमा विश्लेषण गर्ने प्रयास गरिएको छ । 

बिन्ती

नम्रतापूर्वक गरिने निवेदन वा प्रार्थनालाई बिन्ती भनिन्छ । नेपालमा पहिले राजा महाराजालाई लेखिने निवेदनलाई बिन्तीपत्र भन्ने प्रचलन थियो । हाल यसले निवेदनपत्रको रूप लिएको छ । कुनै पनि सरकारी कार्यालयमा स्यानो भन्दा स्यानो वा स्वतः सम्पन्न हुनुपर्ने कार्य सम्पन्न गराउन पनि निवेदन लेख्नुपर्ने परम्परा अझै कायम छ । यो यो कुरा मिलाएर लेखेर निवेदन लेखेर ल्याउनोस् अनि बल्ल कारबाही अगाडि बढ्छ नभनीकन कुनै पनि कार्यालयका हाकिमले तपाईंको कुरा सुन्दैनन् । 

डिट्ठा–विचारी

डिट्ठा तथा विचारी भन्ने पदहरू नेपालमा ऐतिहासिक रूपमा रहेका सरकारी सेवाका पदहरू हुन् । हाल यी पदहरू नरहेको हुँदा नयाँ पुस्ताका व्यक्तिहरूलाई यी नाम  नौला लाग्न सक्छन् । पुरानो समयमा डिट्ठा भन्नाले मूलतः अदालतको हाकिम बुझिन्थ्यो भने विचारी भन्नाले न्यायालयमा मुद्दामामिलाको निचोड लिएर न्यायाधीशलाई अवगत गराउने अधिकारी भन्ने बुझिन्थ्यो । कुनै पनि मुद्दामामिला हुँदा त्यसका  लागि प्रमाण जुटाउने र प्रक्रिया पुर्याउने कार्यमा  डिट्ठा तथा विचारीहरूको भूमिका अहम् हुने गर्थ्यो । हाल यी पद नरहे तापनि उस्तै प्रकृति र चरित्रका पदहरू भने कायमै छन् ।

चुप् रहन्छन् नबोली

जिम्मेवार व्यक्ति वा निकायको मौन वा उत्तरदायित्वहीनता आजको सन्दर्भमा पनि उत्तिकै विकराल समस्याको रूपमा रहेको छ । मौखिक रूपमा गरिएको बिन्ती वा निवेदनको त कुरै छाडौँ  लिखित रूपमा गरिएका आवेदन उपर पनि समयमा कारबाही नहुनु आजको शासन प्रशासनको पनि मूल चरित्र हो ।  सामान्य तवरले यथासमयमा हुनुपर्ने विषयमा पनि ताकेता लगाउनुपर्ने वा ठूला मान्छेबाट भनसुन गराउनु पर्ने अन्यथा सम्बन्धित अधिकारीले वास्तै नगर्ने प्रवृत्ति अझै कायम नै छ । 

बोल्छन् ता ख्याल् गर्या झैँ 

जिम्मेवार व्यक्ति वा निकायको मौन वा उत्तरदायित्वहीनता जति समस्यामूलक छ त्यसभन्दा पनि नराम्रो समस्या अप्रासङ्गिक वा हँसीमजाकका कुरामात्रै बोल्नु हुन जान्छ । हुनुपर्ने काम समयमा सम्पादन नहुने तर शासनका र प्रशासनका महत्त्वपूर्ण पदधारण गरेका व्यक्तिहरूबाट यस्ता गैरजिम्मेवार भनाइहरू वा अप्रासङ्गिक व्याख्या वा वर्णन सुन्नुपर्ने हाम्रो नियतिलाई हामीले अझै पनि बदल्न सकेका छैनौँ । आजको भोलि नै  गलत सिद्घ हुने वा हास्यास्पद सुनिने कुरा पनि जिम्मेवार व्यक्तिबाट हामीले निरन्तर सुन्नु परी नै रहेको छ । 

भन्दछन् भोलिभोली

आज नै सम्पन्न हुनसक्ने कामलाई भोलि भन्ने वा पर सार्ने गुण पनि हामीले निरन्तर लिएर आएकै छौँ । अपवाद वा निहित स्वार्थवश हुने कुरालाई छाडेर हरेक कुरामा भोलि भन्ने गरिन्छ । यसै प्रसङ्गमा भानुभक्तबाट धेरै प्रभावित व्यङ्ग्यकार भैरव अर्यालले लेखेको जय भोलि नामक निबन्ध पनि स्मरणीय छ । भोलि भोलि भन्ने प्रवृत्तिलाई हिजो आज भोलिवाद समेत भन्ने गरिएको सुनिएको छ । यो प्रवृत्ति शासन वा प्रशासनको क्षेत्रमा मात्र सीमित नभै हरेक सामाजिक, पारिवारिक वा व्यक्तिगत तहमा सम्पन्न गर्नुपर्ने कार्यमा समेत उत्तिकै लागू हुँदै आएको छ ।  व्यक्तिगत रूपमा भोलि भोलि भन्नु आलस्यका कारण हुन सके पनि सार्वजनिक वा प्रशासनिकरूपमा यसो भन्नु कामलाई थाती राखी सेवाग्राहीसँग अनुचित लाभ लिने नियतका कारण हुनसक्ने देखिन्छ । त्यसो त घूस लिने दिने विकृति परापूर्व कालदेखिकै एक प्रमुख प्रवृत्तिको रूपमा रहेकै छ । 

की ता सक्तीन भन्नु 

आफ्नो कार्यक्षेत्रको आफूले सम्पन्न गर्नसक्ने कार्यलाई सम्पन्न गर्नु जति महत्त्वपूर्ण छ उत्तिकै महत्त्व आफूबाट सम्पन्न हुन नसक्ने कार्यको घोषणा पनि रहेको छ । आफ्नो वशमा नरहेको कार्यलाई यथाशीघ्र पहिचान र घोषणा गरी जिम्मेवारीबाट पन्छिने वा सम्बन्धित वा निकायतर्फ सोझ्याउने कार्य पनि कुशल प्रशासनको परिचायक हो । फाइल अड्काउने, फाइल लुकाउनेदेखि लिएर फाइल हराउनेसम्मका पीडा भुक्तभोगीहरूलाई थाहा नै छ ।  

कि तब छिनिदिनू 

निर्णय लिनु कुनै पनि शासन, प्रशासन वा न्यायव्यवस्थाको मुख्य चरित्र हो । लामो समयसम्म अनिर्णयको अवस्था हुँदा अनेक क्षेत्रमा गम्भीर हानि पुग्न जान्छ । न्यायमा विलम्ब हुनु अन्याय हुनु सरह हो भन्ने विश्वव्यापी मान्यता छ । ढुलमुल वा काम टङ्याएर राख्ने चरित्रले हरेक व्यवस्थाप्रतिको विश्वासलाई नष्ट गर्छ । तसर्थ सम्बन्धित निकायले निर्णय लिन विलम्ब गर्न हुँदैन । यहाँ निर्णयमा पुग्नु भन्नाले हतारमा वा अपरिपक्व निर्णय लिने कुरालाई सङ्केत गर्दैन । यसले त उच्च क्षमताका साथ चुस्त प्रक्रियाले आवश्यक अनुसन्धान वा प्रमाण सङ्कलन र त्यसको विश्लेषण गरी सही निर्णय लिनुलाई बुझाउँछ । 

बक्सियोस् आज झोली 

जब अनिर्णयको अवस्था लामोसमयसम्म रहन्छ तब व्यक्तिमा चरम निराशा उत्पन्न हुन्छ । निराशाको त्यस अवस्थामा व्यक्तिमा संसारबाटै वैराग्य उत्पन्न हुनु स्वाभाविक हुन जान्छ । पद्यमा यस्तै निराशाका कारण व्यङ्ग्यात्मक रूपमा जोगी बन्ने अवस्था आएको भन्दै झोलीको माग गरिएको छ ।  निश्चय पनि यस्तो अवस्थाले वैराग्यका अतिरिक्त अन्य अवाञ्छित परिणाम पनि निम्त्याउन सक्ने हुन्छ । निराशाले अवसाद वा विद्रोह दुवै जन्माउन सक्छ । अवसादको अवस्थामा व्यक्तिले आफू र अरुलाई हानी पुर्याउन सक्छ  भने विद्रोहका कारण धेरै पुस्ताले लामो समयसम्म कष्ट उठाउनुपर्ने हुन सक्छ । तसर्थ यस्तो अवस्थालाई रोक्न विवेकपूर्वक शासनतन्त्रको सुधार गरिनुपर्छ । यसमा मुख्य भूमिका हरेक किसिमका बुद्धिजीविको हुन जान्छ । हरेक नकारात्मक कुरा विरुद्ध प्रखररूपमा विचार निर्माण गर्ने र सुव्यवस्थाको भावभूमि तयार गर्ने उनीहरूको दायित्व हुन जान्छ । भानुभक्तको उच्च अधिकारीसँगको यस्तो व्यङ्ग्यात्मक निवेदनलाई पनि यसैको उदाहरणको रूपमा लिन सकिन्छ । 

अन्त्यमा, आदिकवि भानुभक्त आचार्यको यस लोकप्रिय पद्यले उनको  उच्च काव्यात्मक  व्यङ्यचेतको परिचय दिन्छ । शास्त्रीय छन्दमा राम्रो अधिकार भएका आदिकविले छन्दमध्येको लामो २१ अक्षरका पाउ हुने प्रकृति छन्दको स्रग्धरा वृत्तमा रचना गरेको यो पद्य साहित्यिक रस र अलङ्कारका दृष्टिले पनि उनका उत्कृष्ट फुटकर रचनामध्येमा पर्छ ।  यसबाट हामीले प्राप्त गर्ने प्रेरणा भनेको चाहिँ अनिर्णयको अवस्था वा भोलि भोलि भन्ने शैलीलाई स्वाभाविक मानेर अघि बढ्ने नभै यस्तो शैलीलाई परित्याग गरी अघि बढ्ने भन्ने नै हो । 


 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  ०९:४१
प्रतिक्रिया दिनुहोस्