लोकतान्त्रिक राजनीतिको लय बिगार्न नेपालको खासगरी सरकारमा आसीन कम्युनिस्ट पार्टीको भूमिका कस्तो रह्यो र किन ? यस प्रश्नको समीक्षा आवश्यक छ । किनभने आगामी दिनमा राजनीतिक निर्णय लिन यस्तो समीक्षाले नेपाली नागरिकलाई केही मार्गनिर्देश वा सहयोग मिल्नेछ । मतदाताले वैधानिक स्वतन्त्रता कायम गर्ने कि नारामा मात्र बहकिएर लोकतान्त्रिक प्रणालीलाई बेवास्ता गर्ने ? सोच्नुपर्ने उपाय निकाल्न सहज हुन्छ ।
अहिलेको अराजकता सरकारी पक्षको कम्युनिस्ट पार्टीले आन्तरिक सन्तुलन मिलाउन नसक्दा आएको निष्कर्ष छ । सबैले स्वीकारेको तथ्य कम्युनिस्ट पार्टीभित्र पदको बाँडफाँट र अवसरमा समावेशी माध्यम नभई समग्र राज्य र पार्टी शक्ति व्यक्तिमा केन्द्रित गर्ने अवैध बाटो लिएकै कारण देश एवं प्रणालीमा प्रतिकूल प्रभाव त पर्यो नै स्वयं नेकपा एक रहन पाएन भन्ने नै हो ।
देशको राजनीतिक गतिलाई पद बचाउने स्वेच्छाचारमा सञ्चालन गरेबाट आएको अराजक अवस्थाको नेतृत्व कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । पाँच वर्षे कार्यावधिमा सरकारको नेतृत्व आधा आधा समय गर्ने एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच गरिएको एकताको गोप्य सहमति क्रियान्वित नगर्दा नै नेकपा विभाजित भएको हो । स्वाभाविक थियो – सिद्धान्तहीन तर पदीय हिस्सेदारीको लोभमा उभ्याइएको एकता टुट्नु ।
प्रधानमन्त्री ओलीले त्यो सर्त पालना गरेनन् । पार्टी र सरकार दुवैतिरको पदमोह उनले त्याग्न चाहेनन् । पद मोहको टकराव यस्तो अराजक र मनपरीमा बदले कि सीमा नाघेर आपसी मानमर्दन र अस्तित्व तिरस्कार गर्ने माहोल बनाइयो । पार्टी विधान र लोकतान्त्रिक पद्धतिको अनुसरणको आग्रह गर्ने सहकर्मी नेताहरुलाई नै नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष ओलीले भित्तामा धसिदिए ।
एमाले बनाउन लामो देन भएका माधव नेपाल र झलनाथ खनाल पनि यतिबेला त्यही धसाइका पीडित पात्र हुन् । अर्का नेता वामदेव गौतम एकताको जपमा यता न उता उभिएका छन् । त्यसो त सुरुमा एमालेको जनताको बहुदलीय जनवाद (जबज) लाई दक्षप्रजापतिको टाउकोसँग दाज्ने खनाल र कुनै दिन एमाले विभाजित गर्ने गौतम अन्ततः एमालेकै अंगमा गाँसिएका थिए । यी सबैसमेत एमालेको ठूलो पंक्तिलाई अध्यक्ष ओलीले तिरस्कार त गरे नै अस्वीकृत पनि गरिरहे ।
उनको यही आत्मकेन्द्रित शैलीले नेकपा त बचेन नै अब त एमाले पनि सग्लो उभिने सम्भावनासमेत क्षीण देखिँदैछ । सरकारमा पुग्न पहिले ‘वामपन्थी‘ बाटो तय गरेका एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पद जोगाउन भने अहिले ‘दक्षिणपन्थी‘ मार्ग लिएका छन् ।
बनेदेखि तीन दशकसम्म रहेको र स्वाभाविक एकीकृत लाग्ने आफ्नै पार्टी एमाले जोगाउन अनिच्छुक कम्युनिस्ट नेता ओलीले जनता समाजवादी पार्टी (जसपा)भित्रसमेत विखण्डनको लामो सुँड घुसाएर राष्ट्रिय जनता पार्टी (राजपा) घटकलाई पुरानै घाटतिर धकेली दिएका छन् । यसको प्रेरक सत्ता लोभमात्रै हो कि ? कि संविधानमाथिकै प्रहारको गठजोड पनि हो ओली एमाले र राजपा घटकको मिलन ? निकट समयमा उद्घाटित हुने नै छ ।
माओवादी केन्द्र र एमालेबीच कथित एकता प्राकृत थिएन । रणनीतिक थियो । त्यस्तै समाजवादी पार्टी बन्नुको कारण पनि दल विभाजन गर्ने उनै ओली प्रस्तुत अध्यादेश उत्पन्न डरको सूत्रमा आधारित थियो । यी दुवै पार्टीको जोडाइ अस्वाभाविक थियो र फुटाइ स्वाभाविक भयो । तर, एमालेको त यीभन्दा भिन्न एकीकृत छवि बनेको थियो । त्यसलाई पनि अध्यक्ष ओली टुक्र्याउन कम्मर कसेर लागे ।
अस्वाभाविक एकता टुक्रनु स्वाभाविक हो । दलीय प्रणालीमा दलहरु विभाजनको कामना राजनीतिक मानिदैन । तर, सत्य यहीमात्रै होइन । अब एमालेको दुईधार पनि अलग अलग हुनु स्वाभाविक हुन्छ । यति हद भइसकेपछि ‘घिउ बेच्ने र तरबार बेच्ने’ षड्यन्त्रमा घिउ पिउने लोभले जोडिन खोज्नु फेरि पनि मिल्न नसक्ने परिणाममै पुग्ने हो ।
एमालेमा प्राविधिक एकता छ तर भावनात्मक एकता टुटिसक्यो । भावनात्मक एकता भत्किँदा दलहरु पटकपटक विखण्डित भएका छन् र नेपालका कम्युनिस्टहरु यसको सबैभन्दा ‘उम्दा’ उदाहरण हुन् । यति भएर पनि एमालेभित्रका भनिने युवा नेताहरु एकताको पिलन्धरे लालसा सजाउन तल्लीन छन् रे !
एमाले खनाल नेपाल समूहका उमेर जे भए पनि मानिने युवा नेता वा दोस्रो, तेस्रो पुस्ताका केही सत्ताको स्वाद चाखेका बाघ भएका छन् । यिनीहरु सत्ता स्वप्न भंग हुने भयले रन्थनिएका र नयाँ सिर्जना गर्न हिम्मत हारेका परजीवी सीमित राजनीतिक द्रष्टा हुन् । मौका एमालेलाई नयाँ सिराबाट पुनर्गठित र पुनर्जीवित गर्ने छ । यो अवस्थामा अध्यक्ष ओली स्वयंले धकेलेका हुन् ।
नेपाल खनाल समूहका नेताले किन वा के भनेर अध्यक्ष ओलीको विरोध गरेका र सके विकल्प खोजेका थिए ? यो समूहबाट अहिलेसम्म बाहिरिएका दर्जनौ निर्णय, भनाइ र दस्ताबेजमा अध्यक्ष ओलीले पार्टी विधानलाई स्वेच्छाचारी ढंगले प्रयोग गरेको, विधि, प्रक्रिया र पार्टीको सबै मूल्य, मान्यता लत्याएको, विदेशी इसारामा एमाले र कम्युनिस्ट ‘आन्दोलन‘ विघटन गर्न उद्यत भएको आदि दाबा गरिएका छन् ।
साथै प्रधानमन्त्रीको रुपमा ओलीले संविधान वा लोकतान्त्रिक प्रणालीलाई घातसँगै अवैध काम गरेको र राष्ट्रपतिको मर्यादालाई पनि आफ्नो स्वार्थमा दुरुपयोग गरेको बयान सार्वजनिक गरिएको छ । यतिबिघ्न आरोप र दाबीको मत व्यक्त वा हस्ताक्षर गर्ने पुस्ताले पुनः उनै अवैध धन्दाका पूर्ण प्रतीक आरोपित नेता ओलीसँग एकताको भिख कुन सैद्धान्तिक धरातलमा माग्न सुहाउँछ ? कुन जिब्रोले एकता भन्न सुहाउँछ ?
खनाल नेपाल समूहका दोस्रो, तेस्रो पुस्तासँग समयसँगै शक्ति छ । त्यो पहिचान गर्ने वा नगर्ने अथवा लालसाको भारीले त्यसलाई थिच्ने उनीहरुको कुरा भयो । उनीहरुले चाहे भने एकदुई वर्ष लाग्ला तर एमाले भावलाई पुनर्जीवित, संगठित र चुनाव जित्ने हैसियतमा लाने सम्भावना प्रशस्तै छ । तर, हुती भने त्यति देखिएन । बाँकी त पर्खने, हेर्ने हो । यहाँ अन्य दलका युवा नेतासँग प्रसंग जोडिएको छैन ।
खनाल नेपाल समूहले अवसरलाई ‘बार्गेनिंग प्वाइन्ट’ बनाउँदा क्रमशः खस्किँदै पुगेको अहिलेको हालतको हिसाब गरे हुन्छ ।
कहाँबाट कहाँ ? कि खुरुक्क अध्यक्ष ओली कृपामा शरणागत भए देश यो एमालेको टन्टो देख्न अभिशप्त रहनु पर्थेन । कि पार्टी पुनर्गठित र जीवित गर्ने बिँडा उठाए एमाले टन्टोको टन्टन नै विश्राममा जान्थ्यो । नयाँ संरचना अर्को आशा भएर उदाउन पाउँथ्यो । कि विमति सैद्धान्तिक नभएर वा पदीय स्वार्थमात्र रह्यो ?
नेपाल खनाल समूहलाई ‘ओली एमाले’पार्टीभित्र अब घुस्रिनेमात्रै ठाउँ देखिन्छ । घुसिँ्रदा ‘स्लो प्वाइजन’ पिउनु नै हो । अलग हुँदा राजनीतिमा नयाँ जीवन दिने सम्भावनाको उज्यालो । ‘बार्गेनिंग’ र लोभपासले बेरिँदा यो समूह अन्ततः खिइएर सिद्धिने हो । हिसाबकिताबले देखाइसक्यो ।
निश्चय पनि पार्टी विभाजन घरबार छुट्टिनु जस्तो सरल सामाजिक व्यवहार नहोला । तर, भनिन्छ नि –‘मरता क्या नही करता ?’ स्पष्ट छ, बाँच्ने कोसिस गर्छ । नेपालखनाल समूहसँग यही विकल्प बाँकी छ । पर्खिँदा बल्छीमा अल्झिएर पाखा पर्ने हो । कति पाखा लागिसके ।
नेपाल खनाल समूहले हालै बृहत् कम्युनिस्ट एकताको मान्यता अघि सारेको छ । तर, त्यो एकताको जग लोकतान्त्रिक हुनुपर्छ ।
कम्युनिष्ट अधिनायकत्वको हुनुहुँदैन । लोकतान्त्रिक धरातल यो समूहले बनाएमा सम्भावना बन्छ वैकल्पिक नयाँ लोकतान्त्रिक पार्टीको जसको अभाव नेपाली राजनीतिमा छ । सशक्त लोकतान्त्रिक पार्टीको विकल्प । बाँकी उनीहरुकै मर्जी !