
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका नेता कार्यकर्ताले अरूको विरोधमा समय खेर फाल्न नहुने बताएका छन् ।
एमाले विवाद मिल्ने दिशातिर अग्रसर भएपछि उनले फेसबुकमा भनेका छन्, “नेकपा (एमाले)का कमरेडहरूलाई बधाई तथा शुभकामना ! हाम्रो पार्टी र अन्य कम्युनिष्ट क्रान्तिकारीहरू ,मुख्यतः हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र ले अव प्रतिक्रियात्मक भएर अरुको बिरोधमा समय खेर फाल्नु हुँदैन ।”
देशभक्ति, क्रान्तिनिष्ठता, सिध्दान्तनिष्ठता र जनसेवालाई आत्मसात गर्दै व्यवस्थितरूपमा वैचारिक सांस्कृतिक रूपान्तरण र संगठनात्मक सुदृढीकरणको अभियान सञ्चालन गर्नुपर्ने उनले औंल्याएका छन् ।
“वैचारिक छिपछिपेपन, विधिपद्धतिको अवज्ञा, व्यक्तिवाद, संकिर्णता, अनेकता, गुटवन्दी, भ्रष्टीकरणबाट माथि उठ्नुपर्छ र त्यसको विरुद्ध संघर्ष गर्न दृढ हुनुपर्छ,” उनले थप व्याख्या गरेका छन्, “त्यसरी मात्र हामी क्रान्तिकारी पार्टी निर्माण र समाजवादको यात्रामा सफलताउन्मुख हुँदै अघि बढ्न सक्नेछौँ ।”
विचलन, निराशा र निश्क्रियता क्रान्तिकारी गुणचरीत्र नभएको उनले प्रष्ट पारेका छन् । “घिसिपिटेपन र तदर्थवादबाट फड्को नमारिकन पनि आजको आवश्यकता पूरा गर्न सकिने छैन,” उनी भन्छन्, “तत्कालै भने सिङ्गो पाटी पंक्ति कोरोना महामारी सङग जुझ्न स्वयम्सेवामा जुटौं ।”