प्रायः ‘उटपट्याङ’ कटाक्ष गर्ने प्रधानमन्त्री खड्गप्रसाद ओलीले सोमवार भने गम्भीर र जिम्मेवार अभिव्यक्ति दिए । राजनीतिक भद्रगोलका बीच सम्बोधन गर्दा पनि प्रधानमन्त्री ओली आफ्नो स्वभावविपरीत कोभिड(१९ को महामारीमा केन्द्रित हुनु स्वयंमा सुखद आश्चर्य हो ।
प्रधानमन्त्री ओलीले सम्बोधनमा कोभिड(१९ को सङ्कटलाई सम्भवतः पहिलोपटक गम्भीरतापूर्वक स्वीकारे । गएको वर्ष प्रधानमन्त्री ओलीले यति गम्भीरतामात्र देखाएको भए पनि सम्भवतः यसपटक महामारीको सामना गर्न अपेक्षाकृत सहजरूप हुनेथियो । पोहोर सरकार निषेध, अकर्मण्यता र आर्थिक अनियमिततामै रमाइरह्यो ।
यसै वर्ष पनि केही दिन पहिलेसम्म प्रधानमन्त्री ओली र उनका मन्त्रीहरू भिड जम्मा गरेर कोभिड फैलाउन व्यस्त थिए । प्रधानमन्त्रीको सरकारी निवासमा उनकैसमेत उपस्थितिमा पार्टीका बैठक गरिएका थिए । निर्माणाधीन ‘धरहरा’ को उद्घाटन भन्दै त्यस्तै भिडको तमासा देखाइएको थियो ।
यसैगरी, मूर्तिको शोभायात्राका नाममा प्रधानमन्त्री ओलीले नै एक जना मन्त्रीको नेतृत्वमा बालुवाटारदेखि चितवनको माढीसम्म कोभिडलाई निम्ता दिने भिड पठाएका थिए । यिनै प्रधानमन्त्री ओली यसरी महाव्याधिको कहरप्रति गम्भीर भएर त्यसको सामना गर्ने विषयमा सरकारका विभिन्न निकायलाई निर्देशन दिनु वास्तवमै सुखद आश्चर्य हो ।
हुनत, कोभिड(१९ को महामारीको पहिलो चरणमा पनि राज्यको ढुकुटीबाट ठूलै रकम खर्चेर देशभर भौतिक संरचनालगायत पूर्वाधार बनाइएका थिए । तर, दोस्रो चरणको महामारीको सामनाको तयारी पुनः शून्यबाटै गर्नुपर्ने अवस्था देखियो । गत वर्षका असफलताबाट सिक्ने कामसमेत भएन ।
भारतमा महामारी फैलन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सावधानी अपनाउन दिएको सल्लाहको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीले सार्वजनिकरूपमै धज्जी उठाएको घटना त स्वयं प्रधानमन्त्री ओलीले पनि बिर्सी सकेका छैनन् होला । स्वास्थ्य मन्त्रालयले भन्नेबित्तिकै विद्यालयमात्र बन्द गरिएको भए पनि सङ्क्रमण केही मत्थर पक्कै हुनेथियो ।
पश्चिमका केही सहरमा कोभिड-१९ सङ्क्रमित सिकिस्त बिरामीको उपचार अस्पतालमा शय्या नपाएपछि बाहिरै गराउन परेको छ । ठूला अस्पतालहरू भएका राजधानी काठमाडौं उपत्यकामा समेत अस्पतालमा शय्या नपाएपछि महँगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउने वा सङ्क्रमित सिकिस्त बिरामीलाई परिवारसँग घरैमा राख्ने हो रोज्न जनसाधारण विवश भएका छन् ।
यस्तो भयावह अवस्थामा काठमाडौंका ठूला अस्पताललाई कोभिड अस्पतालमा परिणत गर्ने, सङ्क्रमितलाई अलग्गै राख्ने भौतिक संरचना प्रदेशहरूमा पनि तयार गर्ने, स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिनेलगायत घोषणा प्रधानमन्त्रीबाट सुन्दामात्रै पनि आशा जाग्छ । परन्तु, यसअघि गरिएका घोषणाहरूको कार्यान्वयन नभएकाले विश्वास गर्न भने सकिँदैन ।
विगतमा प्रधानमन्त्री ओलीले आफ्नोमात्र हैन राज्यकै साख गिराएका छन् । यसपटकका घोषणा पनि २०७७ माघ १४ गते प्रधानमन्त्री ओलीले ‘तीन महिनाभित्र सबैले खोप लगाउन पाउनेु भनेजस्तो ‘हावादारीु नहोस् भनेर राज्यसको सबै संयन्त्र चनाखो हुनुपर्छ । प्रधानमन्त्रीले सोमबार नेपाली जनतासामु गरेका वाचा पूरा गर्न उनी स्वयं बढी गम्भीर हुनुपर्छ ।