site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
डँडेलोबाट वायु प्रदूषणमा परेको असर

विसं २०७७ को अन्त्यमा नेपालमा वायु प्रदूषणको अत्यन्त जटिल अवस्था देखापर्‍यो जुन अहिलेसम्म पनि सामान्य अवस्थामा आएको छैन । सम्भवतः प्रथम पटक २०७७ चैत १६ मा उच्च वायु प्रदूषणको कारणले ४ दिन शिक्षण संस्था नै बन्द गर्ने अवस्था उत्पन्न भयो ।

उक्त साता प्रदूषणको तह (पार्टिकुलेट म्याटर) नेपालका मुख्य सहरहरूमा २०० देखि ४९० एक्युआई (एअर क्वालिटी इन्डेक्स) सम्म रहेको थियो  ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार २०० एक्युआईभन्दा माथि पुग्नु अति अस्वस्थ मानिन्छ भने ३०० एक्युआईभन्दा माथि पुग्नु भनेको खतराको तह (अत्यन्त हानिकारक) भन्ने बुझिन्छ । वायु प्रदूषण अहिले पनि नियन्त्रणमा आइसकेको छैन । नेपालको धेरै सहरी क्षेत्रमा अझै पनि एक्युआई २०० आसपास नै छ ।

Dabur Nepal

प्रदूषणको तह बढेपछि हावामा हुने फर्मेल्डिहाइड र नाइट्रोजनडाई अक्साइड जस्ता ग्यासले आँखा पोल्ने तथा चिलाउने, आँसु बग्ने, खोकी लाग्ने, टाउको दुख्नेजस्ता समस्या देखिन्छ । साथै श्वासप्रश्वास, मुटु, दम तथा क्यान्सर जस्ता दीर्घ रोग लाग्ने र मृत्युसम्म हुनसक्छ ।

यस्तो भयावह प्रदूषणबाट जोगिन घरभित्रै बस्ने, बाहिर निस्कनै परे अनिवार्य मास्क तथा चस्मा लगाउने गर्नुपर्छ । बच्चा, गर्भवती महिला, बृद्ध तथा दीर्घ रोगी घरबाहिर ननिस्कनु नै वायु प्रदूषणबाट जोगिनु सबैभन्दा राम्रो तत्कालीन विकल्प हो ।

वायुको वास्तविक बनोटमा जैविक प्रणालीलाई नकारात्मक असर गर्ने अन्य तत्त्वको प्रवेशले हुने परिवर्तन नै वायु प्रदूषण हो ।

वायु प्रदूषण केही प्राकृतिक कारणले भए पनि प्रमुख कारण मानव सिर्जित हानिकारक तत्त्व रहेका छन् । उच्च मात्रामा उत्सर्जित पार्टिकुलेट म्याटर, कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड, ओजन ग्यास तथा विभिन्न अर्गानिकमिश्रणहरू वायु प्रदूषणका प्रमुख कारक तत्त्व हुन् ।

यस्ता हानिकारक तत्त्व पेट्रोलियम पदार्थको अत्यधिक प्रयोग, कीटनाशक औषधिको प्रयोग, कृषि जन्य फोहोर जलाउनु, उद्योगहरूबाट निस्कने प्रदूषण, जाडोबाट जोगिन बालिने दाउरा/गुँईठा, मापदण्ड नपुगेका यातायातका साधन, अव्यवस्थित सहरीकरण, अन्धाधुन्द विकास निर्माणका कार्य तथा वनमा लगाइने डँडेलोबाट उत्सर्जित हुन्छन् । वायु प्रदूषण वर्षभर नै हुने भए पनि हिउँद तथा वसन्त ऋतुमा धेरै हुनेगरेको छ ।

वन डँडेलोलाई वसन्त ऋतुमा हुने वायु प्रदूषणको प्रमुख स्रोतको रूपमा लिन सकिन्छ । अन्य देशहरूमा गरिएका अध्ययन अनुसन्धान अनुसार पनि वन डँडेलोबाट उत्सर्जित विभिन्न तत्त्वले वायुमण्डललाई लामो समयसम्म प्रदूषित गराएका छन्। कतिले हिउँद तथा वसन्त ऋतुमा नेपालका सहरहरूमा निरन्तर वायु प्रदूषण बढ्नुमा वर्षा नहुनु तथा हावा नचल्नुलाई पनि प्रमुख कारण मानेका छन् तर वर्षा र हावा प्रदूषण घटाउने प्रमुख माध्यममात्र हुन् ।

नेपालमा विशेषगरी जनवरीदेखि जुन महिनासम्म आगलागीका घटना हुने भए पनि करिब ८९ प्रतिशत आगलागी मार्चदेखि मे महिनामा हुने गरेको अनुसन्धानले देखाएका छन् र त्यसमा पनि अप्रिल महिनामा सबैभन्दा धेरै आगलागीका घटना भएका छन् ।

पछिल्ला वर्षहरूमा वन डँडेलो निरन्तर बढिरहेको छ । चालु वर्षमा त १० वर्ष यताकै धेरै क्षेत्रफलमा आगलागी भएको छ । कति ठाउँको डँडेलो अझै नियन्त्रणमा आएको छैन । यसअघि सबैभन्दा धेरै सन् २०१२ मा १ लाख ५२ हजार ४०८.१४ हेक्टर क्षेत्रफलमा आगलागी भएको थियो । 

वनमा आगो लाग्ने कारणहरू विभिन्न छन् । सन् २००६ मा गरिएको एक अनुसन्धानअनुसार वनमा आगो लाग्नुको ५८ प्रतिशत कारण गोठाला तथा घाँसदाउरा गर्नेले रमाइलो गर्ने र सिकारीले सिकार खेल्न सजिलो बनाउने उद्देश्य देखिन्छ । त्यस्तै गरी २२ प्रतिशत चुरोट बिँडी खानेको लापरबाही र २० प्रतिशत वनभोज जस्ता क्रियाकलापबाट दुर्घटनावश वन डँडेलो हुनेगरेको छ ।

त्यस्तैगरी पुराना बिरुवा जलाई मल तथा गोडमेल हुने विश्वासले पनि मानिसहरूले वनमा आगो लगाउने गरेको पाइएको छ । यी कारणका साथै पछिल्ला अनुसन्धानले खडेरीलाई पनि वन डँडेलोको प्रमुख कारण मानेका छन् ।

पछिल्ला धेरै अनुसन्धानले प्रत्येक वर्ष खडेरी बढिरहेको देखाएका छन् । सन् २०१३ मा विश्वभर देखिएको उच्च खडेरीले करिब २५ करोड ८० लाख जनसङ्ख्यालाई प्रत्यक्ष अप्रत्यक्ष असर पारेको थियो ।

त्यस्तै सोही वर्ष नेपाल, बंगलादेश, पाकिस्तान, भारतमा पनि उच्च तहको खडेरीले कृषि उत्पादनमा ठूलो असर गरेको थियो ।

खडेरीले कृषि बाली उत्पादनमा मात्र नभई पानीको स्रोत सुकाउने, माटोमा पानीको मात्रा घटी सुख्खापनले बोट बिरुवा मर्नेलगायतका अन्य समस्या उब्जाएर  सामाजिक तथा आर्थिक क्षेत्रमा ठूलो असर गरेकोछ । 

खडेरीको विषयमा दक्षिण एसियालाई अध्ययन क्षेत्र बनाएर गरिएका पछिल्ला अनुसन्धानले यी देशमा हिउँदे खडेरी बढिरहेको देखाएका छन् ।

विभिन्न अन्तराष्ट्रिय जर्नलमा प्रकाशित अनुसन्धान कृतिहरूलाई केलाउने हो भने नेपालले पछिल्ला वर्षमा लम्मिदो हिउँदे खडेरी, वन डँडेलो तथा वायु प्रदूषणको असर लगभग एउटै याममा भोगिरहेको देखिन्छ । हिउँदमा देखिएको वायु प्रदूषण वसन्त ऋतुसम्म लम्मिएको वा झन् बढेको देखिन्छ । 

प्रदूषणको उत्सर्जन न्यूनीकरण नभए पनि प्राकृतिकरूपमा हुने गरेको वर्षा समयमा नहुँदा प्रदूषित वायुमण्डल पखालिन पाएन भने वसन्त ऋतुमा हुने वर्षा अत्यन्त कम भएकोले बढी रहेको वन डँडेलो नियन्त्रणमा आउन सकेको छैन ।

साथै पश्च्चिमी तथा स्थानीय वायुको तटस्थताले पनि प्रदूषित वायु स्थानान्तरण हुनसकेको छैन । दुर्भाग्य, घना बस्ती भएका सहर हप्तौं प्रदूषणको कुहिरोले ढाकिएका छन् ।

यसरी हेर्दा खडेरी, वन डँडेलो र वायु प्रदूषणबीच देखिएको अन्तर सम्बन्धका विषयमा गहिरो अनुसन्धान गर्नु आवश्यक देखिन्छ ।

वन डँडेलोले वायु प्रदूषणको मात्रा बढाएको मात्र छैन वन्यजन्तु जलाउने तथा बासस्थान घट्दै जाने, भूक्षय, पहिरो जस्ता अन्य समस्या पनि सिर्जना भएका छन् । यिनले पर्यावरणलाई असन्तुलित बनाइरहेका छन् । यी र यस्ता समस्या समाधान गर्न वन डँडेलो नियन्त्रणको विकल्प छैन । वन डँडेलो नियन्त्रण गर्न प्रमुख भूमिका स्थानीय समुदायको हुन्छ । 

मल हुने विश्वासमा आफ्नै खरबारीमा आगो लगाउने काम बन्द गर्नुपर्छ । त्यस्तै गोठाला, दाउरा तथा स्याउला लिन र सिकार गर्न जानेहरू वनमा आगो लगाउन हुँदैन ।

वनभोज खान जानेले राम्रोसँग आगो निभाएर छोड्ने गरेमा र चुरोट बिडी खानेले ठुटा जहाँ तही नफाल्ने अनि निभाएर फालेमा मात्र पनि धेरै हदसम्म वनको डँडेलो नियन्त्रण हुन्छ । खुला ठाउँमा आगो बलेको देखे तुरुन्त स्थानीय निकाय, सेना तथा प्रहरीलाई खबर गर्दा पनि आगो डरलाग्दो गरी फैलिन पाउँदैन ।

त्यस्तै नीति निर्माण तहबाट सबैभन्दा पहिले स्थानीय तहमा जनचेतना जगाउने, व्यावहारिक तालिमको व्यवस्था गर्ने, आवश्यकताअनुसार जंगलमा अग्निरेखाको निर्माण आदिले पनि वन डँडेलो न्यूनीकरण हुन्छ । प्रत्येक स्थानीय तहमा निर्माण गरिएको वा गर्न भनिएको विपत व्यवस्थापन समितिहरूलाई क्रियाशील गराउनुपर्छ । हाल त्यस्ता समिति धेरैजसो पालिकामा नाममा सीमित छन् ।

यस्ता समितिमा विज्ञ पनि रहने व्यवस्था गरेर तालिम, स्रोत साधनको उपलब्धता तथा निरन्तर अनुगमन गरेमा वन डँडेलोमात्र नभई अन्य विपतको व्यवस्थापन गर्न पनि सहज हुनेछ ।

वन डँडेलो नियन्त्रण भयो भने वसन्त ऋतुमा वायु प्रदूषणको मात्रा घट्न त सक्छ तर यतिले मात्र वायु प्रदूषण नियन्त्रण भने हुँदैन ।     

सन् २०१५ पछिका प्रत्येक हिउँदमा वायु प्रदूषणको मात्रा निरन्तर बढिरहेको देखिन्छ । यसरी प्रदूषणको मात्रा बर्सेनि बढ्नुको कारण र न्यूनीकरणको उपायका सम्बन्धमा गहन अध्ययन अनुसन्धान हुनु आवश्यक छ ।

वायु प्रदूषणको समस्या छोटो समयमा समाधान हुँदैन । कतिपय अवस्थामा एउटा महादेशमा उत्सर्जित वायु प्रदूषण उच्च गतिको हावाले अर्को महादेशसम्म पुगेको धेरै अनुसन्धानले पुष्टि गरेका छन् ।

यस्तो समस्या समाधान कुनै एक देशको पहलमा हुँदैन जसको लागि सम्पूर्ण विश्व एक ढिक्का भएर लाग्नुपर्छ । तर, देशभित्र उत्सर्जित हुने प्रदूषण भने सरकार तथा सरोकारवालाको पहल कदमीले न्यूनीकरण तथा नियन्त्रण गर्नुपर्छ । सबैभन्दा पहिला प्रदूषण उत्सर्जन हुने स्रोत पत्ता लगाएर त्यसको उत्सर्जन कम गर्ने विकल्प खोज्नुपर्छ ।

त्यसको लागि विज्ञ समूहको निर्माण गरी गहन अध्ययन अनुसन्धानबाट दीर्घकालीन योजनाको खाका तयार पारी कार्यान्वयन गर्नुपर्छ । 

( डोटेल जलवायु परिवर्तन तथा वायु प्रदूषणसम्बन्धी अनुसन्धानहरूमा संलग्न र घिमिरे वातावरण विज्ञान केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर कार्यरत )

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro