भारतमा कोभिड-१९ को सङ्क्रमण फेरि बढ्न थालेको छ । गत महिना (फागुनको ३ गते) नयाँ सङ्क्रमित भेटिने दर दैनिक लगभग ९ हजारमा झरेकोमा चैत १० का दिन ४४ हजारको आसपास पुगेको छ । केही राज्यहरूले फेरि बन्दाबन्दी (लकडाउन) लगायतका उपाय अपनाउन थालेको समाचार छ ।
भारतमा बढेपछि नेपालमा पनि सङ्क्रमण फैलने जोखिम बढ्छ । खुला सीमा र निर्वाध आवागमनका कारण भारतबाट फर्केकाहरूबाट नेपालभित्र सङ्क्रमण फैलनु स्वाभाविकै पनि हो । सङ्क्रमण फैलने जोखिमका कारण नै सरकारले भिडभाड हुने गतिविधि नगर्न उर्दी गरेको हुनुपर्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिमा जनस्वास्थ्यका मापदण्ड पालना गर्दै भौतिक दूरी कायम राख्न र मास्कको अनिवार्य प्रयोग गर्न पनि सर्वसाधारणलाई सजग गराइएको छ । साथै, सरकारले तत्काल बन्दाबन्दी ९लकडाउन० नगर्ने आश्वासन पनि दिएको छ ।
नेपाल सरकार जनस्वास्थ्यप्रति खासै गम्भीर हुनेगरेको उदाहरण बिरलै पाइन्छ । अहिले पनि सरकारले विज्ञप्ति जारी गरेर जनतालाई सावधान गराएपछि आफ्नो दायित्व पूरा भएको ठानेको हुनसक्छ । उता समुदायमा पनि कोभिड-१९ को महाव्याधिलाई परास्तै गरेजस्तो ठानिएको देखिएको छ ।
सहरको अपेक्षाकृत शिक्षित भनिएको समुदायमा समेत अहिले चरम हेलचेक्य्राइँ भएको पाइन्छ । भौतिक दूरी त कतै कसैले पनि कायम राखेको देखिँदैन । मास्ककै प्रयोग पनि अधिकांशले झारा टार्ने शैलीमा गर्ने गरेका छन् । गाउँको अवस्था पनि यसभन्दा खासै फरक देखिँदैन ।
कोिभड-१९ विरुद्ध खोप ९भ्याक्सिन० दिन थालिएपछि दुनियाँमा आशाको सञ्चार भएको थियो । तर, खोप सर्वसुलभ नहुने लक्षण देखिन थालेको छ । एकातिर, धनी मुलुकहरूले आवश्यकभन्दा बढी ओगटेर गरिब मुलुकले नपाउने अवस्था उत्पन्न भएको छ भने अर्कातिर ‘खोप राष्ट्रवाद’ निकै चर्कोरूपमा प्रकट भएको छ ।
नेपालमा पनि भारतको अनुदानबाट प्राप्त खोपले जगाएको आशामा अहिले अनिश्चयको तुवाँलो लागेको छ । पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाएका अर्को मात्रा बेलैमा पाउनेमा ढुक्क हुन सकिएको छैन भने सरकारले बेलैमा निर्णय नगर्दा निजी क्षेत्रले छिटै खोप ल्याउन सक्ने अवस्था छैन ।
महाव्याधि कोभिड-१९ भने झम्टी झम्टी फर्किइरहेको छ । यसैले जनस्तरबाटै सावधानी अपनाएर महाव्याधिको प्रकोप साम्य बनाउनु आवश्यक छ । खोपको दोस्रो मात्रा समयैमा उपलब्ध गराउन सरकार पनि गम्भीर बनोस् । गत वर्ष सरकारको अकर्मण्यता, भ्रष्टाचार र हेलचेक्य्राइँका साथै जनताकै पनि असावधानीका कारण नेपालीले धेरै खती सहेका छन् । अब यस्तै क्षति फेरि सहन परे राज्य र समाज दुवैका लागि निकै महँगो पर्नेछ ।