विराटनगर । नेपालको राजनीतिक आन्दोलनको छुट्टै गाथा छ । संघर्षको मैदानमा कोइराला परिवारको साइनो राणाकालदेखिकै हो । नेपाली लोकतान्त्रिक आन्दोलनको जग कृष्णप्रसाद कोइरालाले बसाएको मानिन्छ । कोइरालाहरुको जत्तिकै उनीहरुसँग जोडिएका आफन्त र बाहिर रहेकाहरुले पनि प्रजातन्त्र प्राप्ति र गणतन्त्र स्थापनाको विभिन्न कालखण्डमा संघर्ष गरेका छन् ।
२००७ सालको आन्दोलनको उठान मोरङबाट भएको थियो । यो जिल्लाले कांग्रेस र कम्युनिष्टसम्मका प्रभावशाली नेतृत्व जन्माउन सफल देखिएको छ ।
यिनैमध्येका एक थिए अशोक कोइराला । मोरङमा नेपाली कांग्रेसको भूमिगत संघर्ष र प्रजातन्त्र प्राप्तिको आन्दोलनमा उनले अगुवाइ लिए । कोइरालाको योगदानको युवा पुस्ताले मुक्तकण्ठले प्रशंसा गर्ने गर्छन् । उनै अशोकले आफूले कर्मभूमि र कर्मक्षेत्र बनाएको विराटनगरबाट बिहीबार सदाका लागि बिदा लिए ।
वि.सं. २००० साल वैशाखमा जन्मिएका थिए, अशोक । बुधबार अचानक स्वास्थ्यमा समस्या देखियो । परिवारले विराटनगर ८ स्थित निवास नजिकैको न्यूरो अस्पताल भर्ना गरे । तर, बिहीबार बिहान १ बजे ७८ वर्षको उमेरमा कोइरालाको निधन भयो । उनी बेहोस भएर घरमा ढलेका थिए ।
कुशल संगठकको पर्याय मानिने कोइरालाले २०४५ सालमा नेपाली कांग्रेस मोरङको बागडोर सम्हाले । पार्टी प्रतिबन्धको बेला उनले राज्यबाट निक्कै ठूलो सास्ती र यातना खप्नुपर्यो । यातना र कुटाइको त शृङ्खला नै बनेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मोरङका पूर्वसभापति अमृत अर्याल स्मरण गर्छन् ।
उनका अनुसार अशोक आन्दोलनका सधैँ अग्रमोर्चामा खटिन्थे । उनले पाएको यातनाको एकजना साक्षी हुन, अमृत ।
अर्यालले भने,“हामी सँगै जेलमा थियौं । प्रहरीको यातनाबाट म रगताम्य थिएँ । २०४२ साल पुसको घटना हो । राष्ट्रिय मेलमिलाप दिवसको दिन थियो । पोस्टरिङ गर्दै हिँडिरहेका थियौं । ट्राफिक चोकबाट गिरफ्तारीमा परियो । प्रहरीले डीएसपी कार्यालय लगे । लाठी र बुटले निर्मतापूर्वक पिटे । हामी रगतपिच्छे भएका थियौं ।” अर्याललाई अशोकले ढाडस दिइरहे । नआत्तिन र आत्मबल दह्रो बनाउन भने । त्यो सत्याग्रहको समय पनि थियो ।
पछि २०४५ सालमा नगरपालिकाको निर्वाचन सकिएको थियो । अशोकसहितका नेता प्रहरी हिरासतमा थिए । अमृत अर्याल, देवेन्द्र शर्मा र बादल दंगाल अनि अशोकको साथै थिए । “प्रहरीको मुड कुनबेला के हुन्छ थाहै हुन्नथ्यो । अति नै आततायी ढंगले पिट्थे,” अर्यालले स्मरण गर्दै भने,“अशोकदा’सहित हामी सबैलाई एक्कासी घोप्ट्याएर पाइन्ट खोलेर प्रहरीले मलद्वारमा खुर्सानीको धुलो हालिदियो । देवेन्द्र र बादल धेरै चिच्याउनु भयो । मलाई पनि असह्य पीडा भएको थियो । अशोक दा पनि धेरै पीडामा हुनुहुन्थ्यो । कल्पनै गर्न नसकिने यातना दिएको थियो प्रहरीले ।”
अर्यालका अनुसार दंगाल त मानसिक रुपमै विक्षिप्त भएका थिए । यस्तो पीडाका बेला पनि अशोकले आफूहरुलाई निरास नहुन र कष्ट सहन हौसला दिएको अर्यालले बताए ।
पार्टीमाथिको प्रतिबन्धको असहज स्थितिमा कोइराला निरन्तर ३ कार्यकाल कांग्रेस मोरङको सभापति बने । त्यसपछि पनि पार्टीलाई नेतृत्व दिन पछि हटेनन् ।
२०४६ सालको प्रजातान्त्रिक आन्दोलनको अगुवाइ गरे । बहुदलपछि २०४९ सालमा विराटनगर उपमहानगरपालिकाको पहिलो निर्वाचित मेयर बने । तर, आफूले राजनीति सिकाएको युवा तिनै अमृत अर्यालबाट पार्टी सभापतिमा पराजित भएपछि अशोकलाई निकै असहज भयो ।
“मैले खेलाएको केटो हो के जित्छ भन्ने सोच्नु भएको थियो । तर मैले पराजित गरें,” अर्यालले भने, “मलाई पार्टीको जिल्ला सभापति मान्न उहाँलाई निकै कठिन भएको थियो । तर म उहाँको घर गइरहन्थेँ । सुझाव लिन्थेँ । केही समय असहज मान्नुभयो । तर पछि सामान्य रुपमा लिनुभयो ।”
कोइराला २०६२–६३ को जनआन्दोलनमा अग्रमोर्चामा थिए । तर पार्टीको नेतृत्वमा भने अर्याल थिए । अशोक दुईवटा संसदीय निर्वाचनमा पराजित बने । दोस्रो संविधान सभामा संविधान सभा सदस्य भए । राष्ट्रिय सभामा पनि निर्वाचत बने ।
अशोक र बीपी कोइराला सानीआमा ठूलीआमाका छोराहरू हुन् । कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री स्व. सुशील कोइराला सहोदर भाई हुन् । वि.सं. २००० साल वैशाखमा पिता बोधप्रसाद र माता कुमुदिनीको कोखबाट जन्मिएका थिए अशोक । ६ छोरामध्ये उनी ठाइँलो सन्तान हुन् । जेठो प्रमोद, माइलो विनोद, साइलो सुशील, काँइलो अरूण र कान्छो विजयको यसअघि नै निधन भइसकेको छ । अशोकका एक छोरा र एक छोरी छन् । निमोनियाबाट ग्रसित भएपछि कोइरालालाई अस्पताल भर्ना गरिएको थियो ।
चाइनिज साइकलमा दौडन्थे अशोक
बिहीबार अन्तिम श्रद्धान्जली दिन विराटनगर आएका कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले अशोकसँग बिताएका केही पल उजागर गरे ।
मिलनसार नेताको रुपमा सम्झदै शशांकले भने,“मेरो बुबासँग पनि निकै राम्रो सम्बन्ध थियो । बनारसमा छँदा भेटघाट भइरहन्थ्यो । हामी सानै थियौं । उहाँको रातो रंगको चाइनिज साइकल थियो । तर, हामीलाई माग्दा दिनुहुन्थ्यो ।”
कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अनुशासित र अति नै व्यवस्थित नेताको रुपमा अशोकलाई स्मरण गरे ।
भने,“नेपाल विद्यार्थी संघको निर्वाचनमा जिल्लाबाट उठ्दा विद्यार्थीले रुचाएका थिए । उठ्न भने तर अरु कसैले नउठिदिनुहोस् भनिदिएछन् छाडिदिनुभयो । उठ्नु भएन ।”
कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अशोक कोइरालाको नेतृत्वदायी क्षमताले अहिलेसम्म कांग्रेस यो क्षेत्रमा दह्रो हुन सकेको बताए ।
भने,“पञ्चायतको बर्बर र निर्मम यातना सहेर पनि उहाँले कांग्रेसको संगठन निर्माण गर्नुभयो ।”
सिटौलाले अशोक कोइराला कुशल संगठकको पर्याय भएको चर्चा गरे ।