
काठमाडौं । फाइनप्रिन्टले गैंडाकोट नगरपालिकाको हर्कपुरमा उन्नती कल्चरल भिलेजमा फागुन २८ देखि २९ सम्म फाइनप्रिन्ट फिभर आयोजना गर्ने भएको छ । फाइनप्रिन्ट फिभरमा फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका प्रायः अधिकांश लेखकको उपस्थिति रहनेछ । लेखकहरुका रोचक एवम् बौद्धिक विमर्शका सत्रहरू सञ्चालन हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा लेखकले आफ्ना पुस्तकका विषयमा चर्चा गर्नुका साथै पाठकसँग संवाद एवम् अन्तक्र्रिया पनि गर्ने छन् ।
कार्यक्रमका अवसरमा लेखकसँग पुस्तक हस्ताक्षरका कार्यक्रम हुनेछन् भने विशेष छुटमा पुस्तक प्रदर्शनी रहनेछ ।
“हामीलाई लाग्छ, यो कार्यक्रमले पाठक एवम् लेखकलाई नजिक्याउनेछ । बौद्धिक बहसको एउटा क्रमलाई निरन्तरता दिनेछ । कोभिडले ल्याएको मानिसमानिसबीचको दूरी हटाउनेछ । भावनात्मक एकता ल्याउन सघाउनेछ,” फाइनप्रिन्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कार्यक्रममा कोको सहभागी हुँदै छन् ?
फाइनप्रिन्ट फिभरका अवसरमा एक ज्यान दुई जुनीका लेखक देवेन्द्रराज पाण्डे, गुमनाम आमाहरूको कथाका लेखक डा. बाबुराम भट्टराई, जिजीविषाकी लेखक मनीषा कोइराला, देश देशावरका लेखक जीवा लामिछाने, पुँजीवाद र स्वतन्त्र समाजका आधारशिलाका अनुवादक मुराहरि पराजुली, कका लेखक असीम सागर, कबाल्स एन्ड कार्टेल्सका लेखक राजीव उपाध्याय, बिटविन क्विन्स एन्ड द सिटिजका लेखक निरञ्जन कुँवर र रहरका लेखक सुरेश बडालको सहभागिता रहनेछ । यी लेखकका कृतिबारे सत्रहरू सञ्चालन हुनेछन् ।
उक्त अवसरमा रवीन्द्र मिश्रको नयाँ कृति राजनीतिसँगै राजकाज पुस्तकमा केन्द्रित रहेर सञ्चारकर्मी रवि लामिछानेले संवाद गर्ने कार्यक्रम छ ।