
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले समयमै लाभांशसम्बन्धी सूचना नपठाएको भन्दै सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको फागुन १६ गते बिहान १०:३० बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७६/७७ को मुनाफबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र उक्त बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
बैंकले सञ्चालक समितिको उक्त निर्णय कारोबार समय सुरु हुन अगाडि पठाउनुपर्नेमा कारोबार सुरु भए पनि पठाएको भन्दै नेप्सेले बैंकको सेयर कारोबारका गरेको हो । कारोबार सुरु हुन आगामी पठाउनुपर्ने उक्त सूचना कारोबार समय १२ बजेर ३४ मिनेटमा इमेलमार्फत पठाएको भन्दै बैंकलाई कारवाही गरेको नेप्सेले जनाएको छ ।
“धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ (१) ३ मा भएको व्यवस्थाबमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअगाडि उक्त सूचना जानकारी वा निर्णय नेप्सेमा पेस गर्नुपर्ने र सूचीकृत संगठित संस्थाको वेबसाइटमार्फत समेत सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेकाले सो विनियमको व्यवस्था पालन नगरेकाले विनियमावलीको विनियम १६ (ख) मा भएको व्यवस्थाअनुसार कम्पनीको सेयर खरिदबिक्री रोक्का गरिएको छ,” नेप्सेले सूचना निकल्दै भनेको छ ।
साथै नेप्सेले कम्पनीलाई तीन कार्यदिनभित्र के कारणले समयमै जानकारी दिन नसकेको त्यसको जानकारी गराउन भन्दै स्पष्टीकरण सोधेको छ ।