site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
झापामा कांग्रेसको गरिखाने अभियानको ‘रोड शो’

काठमाडौं । नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समितिले सञ्चालन गरेको राष्ट्रव्यापी गरिखाने अभियानको ‘रोड शो’ झापाको धुलाबारीमा सम्पन्न भएको छ । गरिखाने अभियान उद्यमशील बन्न चाहनेहरूलाई सीप, पुँजी, प्रविधि र बजारसँग जोड्ने देशव्यापी अभियान हो ।

यस अभियानसँग जोडिनेहरूलाई उद्यमशील बनाउन विभिन्न व्यावसायिक संस्थाहरूले काम गरिरहेका छन् । कोभिड–१९ महामारी उत्पन्न संकटको परिवेशमा आममानिसको आय–आर्जनका क्रियाकलापमा पर्ने असरलाई ध्यान दिँदै नेपाली कांग्रेसले उद्योगपति एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीको संयोजकत्वमा ‘लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समिति’ गठन गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समितिले अघि बढाएको गरिखाने अभियानअन्तर्गत नवउद्यमी, उद्यमलाई विस्तार गर्न चाहने, नवीन सोच भएका, हातमा सीप भएकाहरूलाई उद्यमी बन्न आवश्यक सहयोग गर्दै आएको छ । अभियानसँग आबद्ध भएर विभिन्न विशिष्टीकृत संस्थाहरूले अभियानमार्फत् जोडिएका व्यक्तिहरूलाई उद्यमशीलता विकासमा सहयोग गर्दै आएका छन् ।

समितिले गरिखाने अभियानको रोड शो देशभर सञ्चालन गरिरहेको छ । झापामा आयोजित रोड शो कार्यक्रममा समितिका संयोजक चौधरीले अनुशासन, कडा परिश्रम, दृढ इच्छाशक्ति र चाहेको कुरा पुर्‍याउँछु भन्ने संकल्पले व्यावसायिक सफलता प्राप्त हुने बताए । चौधरीले नेपाली कांग्रेसको नेतृत्वमा २०४८ सालमा गठन भएको सरकारले अर्थतन्त्रमा युग परिवर्तन (प्याराडाइम सिफ्ट) गराएको भन्दै त्यस्तै पुनः अर्थतन्त्र र विकासलाई गति दिन रूपान्तरणकारी अभियान आवश्यक रहेको बताए ।

‘‘सोच, सपना, स्रोतको पहिचान गरेर योजनाबद्ध ढंगले गरिने लगानीले नयाँ–नयाँ उद्यमीहरू जन्मनेछन् र धेरैलाई सफल उद्यमी बनाउनु नै हाम्रो अभियानको सार्थकता हुनेछ,’’ चौधरीले भने, ‘‘समयसापेक्ष र जनताको आवश्यकताअनुसार पार्टीको अभियान अघि बढ्न जरुरी छ ।”

वागमती प्रदेशको प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले गरिखाने अभियान गाउँमुखी, कर्ममुखी र जनमुखी अभियान भएको भन्दै यसमार्फत् नेपाली कांग्रेसले आर्थिक सशक्तीकरण र आर्थिक समृद्धिको एजेन्डा लिएर अघि बढेको बताए । ‘‘मैले देश र समाजको सेवा गर्न राजनीति गरेको हुँ, जीवन चलाउन व्यवसाय गरेको हुँ,’’ उनले भने, ‘राजनीतिलाई पेसा बनाउने संस्कारलाई हामीले अन्त्य गर्नुपर्छ ।’’ बानियाँले गरिखाने अभियानअन्तर्गत आगामी असार मसान्तसम्ममा एक हजार परियोजनालाई सहयोग पुर्‍याउने लक्ष्य रहेको जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १८:१८
प्रतिक्रिया दिनुहोस्