
काठमाडौं । ‘अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) मा छनोट भएका चलचित्रको लिस्ट सार्वजनिक भएको छ । आउँदो वर्षको वैशाख २३ गतेबाट २७ गतेसम्म काठमाडौंमा आयोजना हुने महोत्सवमा ५२ देशका ४५० चलचित्र सहभागी भएको आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ ।
कोरोना महामारीका कारण नेपाली कथानक चलचित्रको छनोटलाई बाँकी राख्दै ३१ देशका ६३ चलचित्र प्रस्तिस्पर्धाका लागि छनोट गरिएको नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताएका छन् ।
‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका चलचित्रलाई अलग्ग ‘क्याटगोरी’मा प्रतिस्पर्धा गराइ अवार्ड वितरण गरिने बताइएको छ । कोभिड १९ ले पारेको प्रभावमा बनेका चलचित्रले ५ सय अमेरिकी डलर प्राप्त गर्नेछन् ।
अन्तर्राष्ट्रिय प्रतिष्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ छ । International Federation of film societies, IFFS Don Quijote Award उत्कृष्ट फिचर फिल्मको लागि प्रदान गरिने छ । यसैगरी, सर्वोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलरको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको वाग्मती अर्वाड प्रदान गरिनेछ । त्यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर सिनेमालाई रु १ लाख, उत्कृष्ट सर्ट सिनेमालाई नगद रु ५० हजार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
यो वर्ष आयोजकले नेपाली फिचर फिल्म भने छनोट गरेको छैन । यो वर्ष चलचित्र हल रिलिज नभएकाले यो विधाको सूचि सार्वजनिक गर्न नसकिएको आयोजकले जनाएको छ । निर्माताहरुले केही दिन समय माग गरेकाले छनोटको सूचि सार्वजनिक नगरिएको अध्यक्ष पाठकले जानकारी दिए । कम्तीमा राम्रा तीनवटा चलचित्र उपलब्ध भएको अवस्थामा केही दिनमा छनोटको सूचि सार्वजनिक गर्ने उनको भनाइ छ ।