site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सुत्केरी आमा

रातको उत्तरार्ध थियो कि बिहानीको पूर्वार्ध कुन्नि, आकाश अँध्यारो छँदै  एकपटक फेरि सुत्केरी भइन् आमा !

अचम्म, खसम बितेको कैयौं वर्ष भैसक्दा पनि फेरि सुत्केरी भइन् ! उद्देश्य उनैलाई थाहा होला, परिणाम पनि उनैलाई थाहा होला । किन सुत्केरी भयौ भनेर सोध्न ढिलो भइसकेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

श्रीमान् गम्भीर नेपाली जन्माउन सुत्केरी भइन् कि भनेर उकुसमुकुस भयो मलाई, प्रचण्ड प्रतापी भूपति जन्माउने भइन् कि भनेर हीनताबोध पनि भयो । आमा न थिइन्, उनको सोचाइलाई मनमनै सलाम गर्नुपर्ने बाध्यता पनि थियो मलाई, किनकि मलाई थाहा थियो– “अनुहार जस्तोसुकै होस्, भाग्य जस्तोसुकै होस्, सबै सुत्केरीहरू चन्द्रमा जन्माउँछन्, सूर्य जन्माउँछन् ।”

आफ्नो कर्तव्य लाग्यो, औपचारिक बधाई दिने हिम्मत जुटाएँ र एउटा किस्तीमा फलफूल, चकलेटको जोरजाम गरेँ । सुत्केरी आमाको मुख हेर्ने तयारीमा अर्को किस्तीमा फरिया, चोलो र मिठाई सजाएँ ।

किस्ती लिएर सबेरै उनको कोठामा पस्दा उनी हिजोअस्तिकै कमजोरीमा पलेंटी कसेर बसेकी थिइन् । सायद मेरै प्रतीक्षामा । हेर्दै लाग्थ्यो नुहाइधुवाइ गरेर चोखिइ सकिछन्, दैनिक पूजाआजा, धूपबत्ती पनि सिध्याइ सकिछन् ।   

अप्ठ्यारो मान्दै, लजाउँदै, दुवै किस्ती उनको हातमा राखिदिएँ र जिस्काएँ– “लौ, सुत्केरी आमालाई बधाई ।”

आमाले लजाउँदै किस्तीको फरिया–चोलो आफ्नो काखमा राखिन्, निधारमा रातो टीका लगाइदिइन् अनि मिठाईको एक टुक्रा खुवाइदिँदै आशीर्वाद दिइन्– “लौ लौ, प्रत्येक साल आजकै दिन जन्मिरहनू, तँलाई पनि जन्मदिनको शुभकामना !”
 

प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  ११:५९
प्रतिक्रिया दिनुहोस्