
विश्वमा कोभिड १९ संक्रमण फैलिएपछि नेपाल पनि अछुतो रहन सकेन । यसको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रमा पनि पर्यो । पर्यटकीय नगरी पोखरा पनि अछुतो रहन सकेन । यस्ता विपत्मा हामीले सरकारको निर्देशनलाई नै मान्नुपर्ने हुन्छ । त्यसैअनुसार लकडाउन, निषेधाज्ञालाई मान्दै आयौँ । कोभिड नियन्त्रणमा आउन समय लाग्ने देखिएकाले अब सुरक्षित तरिकाले उद्योग व्यवसाय खुला गर्नुपर्छ भन्ने लविइङ संघमार्फत गर्यौँ । सुरुमा स्थानीय सरकार, स्थानीय प्रशासन उद्योग व्यवसाय खुला गर्नुपर्ने भन्ने विषयमा नेगेटिभ जस्तो देखिएको थियो । तर, प्रदेश सरकारले सहयोग गरेपछि चैतको एक महिनापछि नै सबै सुरक्षाका मापदण्ड अपनाएर खुला गर्न मिल्ने व्यवसाय सुरु गर्यौं ।
पोखरालाई पर्यटनको राजधानी भन्नेबित्तिकै पर्यटनसँग सम्बन्धित धेरै उद्योग व्यवसाय अन्तरनिहित हुन्छन्, उत्पादन, बजारको हिसाबले पनि । त्यसैले पर्यटनमा समस्या आउने वित्तिकै त्यसले अरु उद्योग व्यवसायलाई असर नपार्ने भन्ने नै रहेन । त्यसैले सुरुमा यस्ता विपत्तिको असरबाट कसरी रिभाइभ हुने ? कसरी गुमेको रोजगारीलाई बचाउने ? पलायन भएका उद्योग व्यवसायलाई कसरी बचाउन सकिन्छ ? भन्ने विषयमा नै तीनवटै तहका सरकारसँग समन्वय गर्ने काम गर्यौं ।
अहिले पनि हामी त्रासमा छौं र पर्यटनसँग सम्बन्धित व्यवसाय पूर्ण रुपमा खुल्न सकेको छैन । जुन गतिमा बढ्नुपर्ने हो, त्यो गतिमा नबढिसकेको हुनाले उद्योगी व्यवसायीका समस्याहरु धेरै नै छन् । सुरुमा उद्योगी व्यवसायी, गुम्न लागेको रोजगारी जोगाउनको लागि कम्तिमा पनि राहत चाहियो भनेर सरकारसँग भन्यौं । जब बजेट आयो, बजेट उद्योगी व्यवसायीमुखी नआएको भनेर हामी निराश थियौं । त्यसपछि मौद्रिक नीतिले उद्योगी व्यवसायीको हकमा केही कुराहरुलाई छोएको जस्तो लागेको थियो र हामीले स्वागत पनि गर्यौं ।
तर, अहिले पनि मौद्रिक नीतिले भनेका कतिपय कार्यान्वयन पक्ष अहिले पनि अगाडि बढेको छैन्, समस्याहरु छन् । राष्ट्र बैंकले निर्देशन दिएपनि बैंकहरुले आनाकानी गरिरहेको अवस्था छ । बैंकहरुले नै राष्ट्र बैंकलाई नटेरेको हो कि जस्तो हामीले बुझ्यौं । बैंकहरु पनि व्यवसाय भएको हुनाले यस्तो संकटको बेलामा कोही कमाउने, कोही डुब्ने हुनु हुँदैन भन्ने हाम्रो मान्यता हो ।
उद्योगी व्यवसायी बैंकसँग सम्बन्धित छन् र बैंक डुब्नु भएको देशकै अर्थतन्त्र डगमगाउने हो भन्ने हिसाबले यो बेलामा हामी सबै साना, ठुला, मझौला व्यवसायसहित सरकार पनि चल्नुपर्छ भन्ने हिसाबले हाम्रो अर्थतन्त्रको आकार जस्तो त्यस्तै खालको राहत खोजेका हौं ।
सक्षम राष्ट्रले दिएको जस्तो राहत खोजेका पनि होइनौं । यो बेलामा त हामीलाई हौसला दिने हो । हामीले सबै छुट मागेका पनि छैनौं ।
भोलि कोभिडको कहर हट्दै गयो भने हामी सञ्चालनमा आउछौं, नाफा कमाउछौँ, सरकारलाई कर तिर्छौँ । तर, योबीचमा उद्योग, व्यवसाय सञ्चालन नै नभएको समयमा, पर्यटन व्यवसाय खुला गर्नै नसकेको अवस्थामा यो समयमा सहयोग गर्नु भन्ने मात्रै थियो । केही राहतका कुराहरु आएको छ, केही कार्यान्वयन भएको पनि छ ।
पोखराको पर्यटन व्यवसाय केही रिभाइभ भएको हो । सुरुमा त केही पर्यटन व्यवसायीहरु अहिले नखोल्ने की ! खोल्दा उच्च लागत पर्छ की ! भन्ने कुराहरु थिए ।
त्यसपछि उद्योग वाणिज्य संघले सुरुमा व्यवसाय खुलेको छ भन्ने सन्देश दियौं । त्यसपछि न पर्यटक आउँने हुन् । अहिले विदेशी पर्यटकको बारेमा सोच्न सक्ने अवस्था छैन, आन्तरिक पर्यटक नै हो ।
हामीले अहिले पोखरा खुलेको सन्देश थियौं भने विस्तारै विस्तारै त्यसको सकारात्मक सन्देश जान्छ, त्यसपछि न विदेशी पर्यटक पनि आउने हुन भनेर अनुरोध गरेपछि पर्यटन व्यवसायीहरु पनि खुला गर्नुपर्छ भन्नेमा विश्वस्त हुनुभयो । कोडिभको कहर कहिलेसम्म अन्त्य हुन्छ भन्ने निश्चित नै नभएको हुनाले हामीले खुला गर्न ‘इनिसियसन’ लियौं । अहिले विस्तारै अगाडि बढेको अवस्था छ ।
तर विडम्बना नै भन्नुपर्छ कि लामो समयदेखि द्वन्द्वकाल, भूकम्प, नाकाबन्दी, कोभिडको कहर भोगिरहेको बेलामा फेरी राजनीतिक अस्थिरताका कुरा आएको छ । सत्ता पक्ष, प्रतिपक्ष पनि सकडमा आएको अवस्था छ । कोभिड विरुद्धको खोप पनि आइसकेको हुनाले अन्तर्राष्ट्रिय पर्यटक पनि विस्तारै आउने सोचिरहेका थियौं तर राजनीतिक अस्थिरता फेरी देखिने हो की भनेर चिन्तित अवस्थामा छौं । तथापी, हामी धैर्य गरेर बसेका छौं ।
सन् २०२१ मा पनि हामी नाफामा जान सक्दैनौं जस्तो लाग्छ । तथापी सरकारले गरेका केही कुराहरु राम्रा पनि छन् र केही कुराहरु हामी पर्यटन व्यवसायीहरुले पनि योगदान गर्नुपर्ने छ । पूर्ण क्षमतामा कुनै पनि उद्योग व्यवसाय चलेका छैनन् । हामीलाई सरकारले टिकाउने खालेको वातावरण मात्रै बनाइदिनुहोस् भनेका छौं ।
कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयासस्वरुप बाह्रखरी मिडियाले एनसेल–बाह्रखरी पहलअन्तर्गत पोखराका उद्योगी व्यवसायीसँग जारी राखेको कुराकानीमा पोख्रेलको यस्तो धारणा आएको हो । सुस्ताएको पर्यटन क्षेत्रलाई पुनर्जिवित गर्न एनसेललगायतका कर्पोरेट क्षेत्रको सहयोगमा बाह्रखरीले शनिबार पोखरामा आमन्त्रण गल्फ आयोजना गर्न लागेको छ ।
एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको पनि सहकार्य रहेको छ । अन्य प्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, काल्र्सबर्ग, सिभास रिगल, हुन्ड्याई मोटर्स र आईएमई रहेका छन् ।