नेपालमा नाेबल कोरोना भाइरसकाे महामारी गत वर्ष अनुमान गरे जति भयावह भएको देखिएन । तैपनि, काेभिड-१९ नामाकरण गरिएको यस भाइरसका कारण नेपालमा करिब दुई हजार जनाको ज्यान गएको सरकारकै तथ्याङ्क छ । हिजो सार्वजनिक भएको विवरणअनुसार पछिल्लो २४ घण्टामा २३२ संक्रमित थपिएका छन् भने ३८६ संक्रमणमुक्त भएका छन् । सरकारको तथ्याङ्कअनुसार नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या ३ हजार ४५२ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले ३ हजार ४५२ जना आइसोलेसनमा र १४७ क्वारिन्टिनमा बसेका जनाएको छ । अहिलेसम्म कुल २० लाख ३८ हजार ८४२ पीसीआर परीक्षण गरिएको छ । साथै बढी संक्रामक र घातक मानिएको नयाँ प्रकारको कोभिड-१९ पनि नेपालमा भेटिएको छ । यसैले नेपालमा कोभिड-१९ को जोखिम मत्थर भइसकेको ठान्नु आत्मघाती मूर्खता हुनसक्छ ।
कोभिड-१९ विरुद्धको खोप दिन सुरु भएको छ । नेपालमा समेत भारतले अनुदानमा दिएको १० लाख मात्रा खोप आइपुगेको छ र अग्रपङ्क्तिमा खटिएकाहरूलाई प्राथमिकताका आधारमा यही सातादेखि दिन सुरु गरिने सरकारले जनाएको छ । यसले महामारी मत्थर हुँदै जाने आशा जगाएको छ । अर्कोतिर, देश आन्दोलनमा होमिएको छ । भाइरसको संक्रमण रोक्न अपनाइँदै आएको सुरक्षा सावधानी देशभरबाट जनता ओसारेर गरिने प्रदर्शनहरूमा अपनाइने कल्पना पनि गर्न सकिँदैन । प्रतिनिधि सभाको असंवैधानिक विघटनविरुद्ध आन्दोेलनमा उत्रिएका विपक्षी राजनीतिक दलमात्र हैन महामारीमा नागरिकले अपनाउन पर्ने सुरक्षा मापदण्ड लागू गर्ने सरकारका प्रधानमन्त्रीले समेत जुलुसहरूमा भाषण गर्दै हिँडेका छन् । सडकमा सोफा राखेर मञ्च बनाउने, हेलिकाेप्टरबाट यात्रा गर्ने नेताहरू त सुरक्षित होलान् तर भिडमा नारा लगाउने वा बसमा कोचाकोच गरेर ओसारिने कार्यकर्तालाई त तिनले महामारीको जोखिममा धकेलिदिएकै छन् । अर्थात्, गत वर्ष चैतमा बन्दाबन्दी (लकडाउन) सुरू गर्ने बेलामा भन्दा अहिले कोभिड-१९ को महामारीको जोखिम बढी देखिन्छ ।
संसारका धेरै मुलुकले अहिले महामारीविरुद्ध सुरक्षा सावधानी फेरि कडा बनाउन थालेका छन् । अमेरिका र युरोपेली मुलुकमा मात्र हैन चीनमा समेत कडा सावधानीका मापदण्डहरू लागू गरिएका छन् । अस्ट्रिया, जर्मनीलगायत कतिपय युरोपेली मुलुकहरूमा त चिकित्सकीय स्तरकै मास्कको प्रयोग अनिवार्य गराइएको छ भने फ्रान्सले पनि यही मापदण्ड लागू गर्नसक्छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले पदमा बहाली गर्नेबित्तिकै संघीय क्षेत्राधिकारभित्र मास्क प्रयोग अनिवार्य गर्ने आदेश जारी गरिसकेका छन् । ब्राजिलले रियो डी जेनेरियोमा बर्सेनि हुने विश्वविख्यात कार्निभल (जात्रा) पनि सन् २०२२ सम्मका लागि स्थगित गरेको छ । यसबाट स्पष्ट हुन्छ, कोभिड-१९ को महामारीको त्रास विश्वव्यापी छ र संसारका धेरै सरकारहरूले यसको नियन्त्रणका लागि गम्भीर प्रयास पनि गरिरहेका छन् । दुर्भाग्य, नेपालका राजनीतिक दलका नेताहरू भने अहिले महामारी फैलाउने क्रियाकलापमा संलग्न छन् । प्रतिनिधि सभा भङ्ग गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोध गर्नु आवश्यक छ तर देशभरका कार्यकर्तालाई देशकै सबैभन्दा बाक्लो जनसङ्ख्या भएको काठमाडौं उपत्यकामा ओसार्नु भने महामारीलाई निम्तो दिनु नै हो । यस्तो कार्यलाई जनताप्रति उत्तरदायी भन्न पक्कै सकिँदैन । त्यसमाथि सरकार पक्षले झन् ठूलो प्रदर्शनको धम्की दिनु त अत्यन्त आपत्तिजनक र अनुत्तरदायी अभ्यास हो । कुनै पनि नाममा नेपाली जनतालाई महामारीको भुमरीमा पार्ने काम नहोस् ।
|