सत्य त व्यक्ति र वस्तु सापेक्ष नहुनुपर्ने हो । तर, हेर्नेको दृष्टिमै आग्रह र दोष भए कसैको केही लाग्दैन रहेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो थातथलो, संस्कृति र मौलिकता बचाउने खोकनावासीको संघर्षलाई ‘क्षणिक राजनीतिक स्वार्थका आधारमा गरिने जातीय र सांस्कृतिक नामका अन्तरविरोध’को संज्ञा दिएको समाचार सार्वजनिक भएको छ । प्रधानमन्त्री मातहत रहेको रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको पहिलो चौमासिक प्रगति समीक्षाका क्रममा शुकवार गरेको टिप्पणीबाट खोकनावासीको संघर्षलाई हेर्ने उनको दृष्टि पनि उजागर भएको छ । उनले खोकनावासीको संघर्षलाई ‘‘समाजमा साम्प्रदायिकता भड्काउने तथा अशान्तिको विष छर्ने प्रयास’’ भन्दै त्यसबाट ‘सतर्क’ आह्वान गरेका छन् । काठमाडौं–तराई(मधेस) द्रूतमार्गको प्रारम्भ विन्दुमा रहेको खोकनामा निर्माणका क्रममा प्राचीन सम्पदा र स्थानीय बासिन्दाको आजीविकामा आघात पर्ने भन्दै खोकनावासीले विरोध गर्दैआएका हुन् । यसैले प्रकारान्तरले उनीहरूलाई समाजमा साम्पदायिकता भड्काउने तत्त्व भन्ने ध्वनित हुनेगरी लाञ्छित गर्नु अनुचित हो ।
खोकनावासीको विरोधलाई प्रधानमन्त्री ओलीले ‘क्षणिक राजनीतिक स्वार्थका आधारमा गरिने जातीय र सांस्कृतिक नामका अन्तरविरोध’ वा ‘समाजमा साम्प्रदायिकता भड्काउने तथा अशान्तिको विष छर्ने प्रयास’ ठानेका रहेछन् । अर्कातिर, सरकारी कर्मचारीलगायत सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले यसलाई ‘मुआब्जा’को लोभका रूपमा व्याख्या गरेका छन् । परन्तु, यथार्थ भने अर्कै छ । खोकनावासीले द्रूतमार्गले मिच्ने जमिनको क्षतिपूर्ति बढाउने प्रयास गरेका होलान् । त्यसो गर्नु अनुचित वा अनौठो पनि होइन । र, अपराध त झन् हुँदै होइन । तर, बस्तीका बीचबाट द्रूतमार्ग बन्दा पुरातात्विक र सांस्कृतिक सम्पदा मासिएला भनेर बढी डराएको खोकनावासीले बताउँदै आएका छन् । यसबाट स्पष्ट हुन्छ या त प्रधानमन्त्री ओलीले खोकनाको यथार्थ बुझ्ने प्रयासै गरेका छैनन् नभए परम्परागत आद्यात्मिक संस्कृति विरोधी भौतिकवादी कम्युनिस्ट दीक्षाले उनी पूर्वाग्रही भएका हुनसक्छन् । एक्काइसौं शताब्दीमा पनि ’चिनियाँ सांस्कृतिक क्रान्ति’ र ‘नक्सलबाडी’ आन्दोलन ताकाको मानसिकता प्रकट हुनु दुर्भाग्य हो ।
खोकनावासीलाई त शताब्दीयौं पुरानो पुरातात्विक सम्पदा र सांस्कृतिक परम्परा जोगाउन अडान लिएबापत राज्यले सम्मान गर्नुपर्ने हो । उनीहरूले अडान लिएकैले संसारको ध्यान खोकनाको पुरातात्विक महत्ताप्रति आकर्षित भएको हो । द्रूतमार्ग बनाउँदा खोकनावासीले भनेजसरी प्रारम्भ विन्दुमा केही फेरबदल गर्दा आकाश खस्दैन । अलिकति पैसा बढी खर्च होला तर खोकना जोगिन्छ भने त्यसलाई ठूलो ठान्नु पर्दैन । अर्को खोकना त जति पैसा खर्च गरे पनि बनाउन सकिँदैन नि । त्यसका साथै काठमाडौं उपत्यकाभित्रै पनि खोकनाको अलग्गै सांस्कृतिक पहिचान छ । तिनलाई जोगाउनकै लागि खोकनावासी चिन्तित भएका हुन् । यसैले प्रधानमन्त्री ओलीले खोकनावासीका चित्कार सुन्ने प्रयास गरून् । उनीहरूसँग बसेर छलफल गरेर खोकनाको मौलिकता र प्राचीन सम्पदामा आँच नआउने गरी द्रूतमार्गको नक्सा परिवर्तन गर्न निर्देशन दिऊन् । कारण, अर्को खोकना बनाउन सकिँदैन तर द्रूतमार्ग आरम्भ विन्दु त परिवर्तन गर्न सकिन्छ नि !