site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 पौडेलको पक्राउ र पञ्चायतको प्रेत

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधवार उनकै गृह जिल्लमा प्रहरीले केही बेर नियन्त्रणमा लिएर छाडेछ । बुल्दी खोलामा बनेको एउटा पुल उद्घाटन गर्न जान लाग्दा सत्तारुढ दलका स्थानीय नेता कार्यकर्ताले विरोध गरेकाले शान्ति व्यवस्था कायम राख्न नेता पौडेलको सुरक्षाका लागि उनलाई नियन्त्रणमा राख्नुपरेको स्थानीय प्रहरीले बताएको छ । पूर्वनिर्धारित उद्घाटन कार्यक्रम बिथोलेर अशान्ति मच्चाउने कम्युनिस्ट कार्यकर्ताहरू भने पक्कै पनि पक्राउ परेका छैनन् । कांग्रेसका नेता पौडेलको कार्यक्रम बिथोल्नेहरूको साटो उनैलाई पक्रेर शान्ति सुरक्षा कायम राख्ने प्रहरी प्रशासनको व्यवहारले पञ्चायतकालको एउटा यस्तै घटना सम्झायो । 

त्यस्तै २०४० /४१ सालतिरको कुरा हो । तनहुँमा कांग्रेस समर्थकले जिल्ला पञ्चायतमा मात्र होइन गाउँ पञ्चायत पनि थुपै्रमा जितेका थिए । उनीहरू जिल्ला पञ्चायतका पदाधिकारीहरू गाउँमा आऊन् भन्ने चाहन्थे । हामी पनि गाउँमा जान उत्साहित हुन्थ्यौँ । ( म तनहुँ जिल्ला पञ्चायतको उपसभापति निर्वाचित भएको थिएँ ।) गाउँ सभा, विद्यालयको वार्षिकोत्सव, योजनाहरू उद्घाटन र शिलान्यास जस्ता अनेकौं निहुँमा हामी गाउँमा जान्थ्यौँ । यसले एकातिर अप्रत्यक्षरूपमा पार्टीको संगठन विस्तार हुन्थ्यो भने प्रशासन र मण्डलेहरूबाट सताइएका स्थानीय शिक्षक, पञ्चहरूको मनोबल बलियो हुन्थ्यो ।  हामी गाउँ गाउँमा जान्थ्यौं । धेरैजसो युवक संगठनका जिल्ला सभापति ध्रुवलाल प्रधान र मजदुर संगठनका सभापति काशीराम श्रेष्ठ र मसँगै हुन्थ्यौँ । जिल्ला पञ्चायतका क्षेत्रगत सदस्यहरू पनि साथमा हुने नै भए । सभापति विष्णुवीर आले प्रायः दक्षिण भेगमा र म बीचको तथा उत्तरी भेगमा जाने गर्थ्यौँ । धेरै ठाउँमा त मिलेसम्म सँगै पनि जान्थ्यौँ । यो लामो गन्थन पृष्ठभूमि बुझाउनका लागि हो । 

हाम्रो गाउँ भ्रमण प्रशासनका लागि निल्नु न ओकल्नु भएको थियो । पञ्चायतका कार्यक्रममा जान रोक्न पनि नमिल्ने तर हामी यसरी गाउँ गाउँ गएर भाषण दिँदै हिँडेको मण्डलेहरूलाई सह्य पनि नहुने । यही क्रममा केशवटार र घाँसीकुवा गाउँ पञ्चायतका वार्षिक गाउँ सभाहरू दिन मिलाएर हामी जानेगरी तय गरियो । ध्रुव र काशीका साथै क्षेत्र नम्बर १ का जिल्ला पञ्चायत सदस्य कृष्ण गिरी पनि सँगै जाने भइयो । अरू साथीहरू पनि गएका थिए तर तिनको नाम अहिले सम्झन सकिन । 

Prabhu Bank
Agni Group
NIC Asia

केशवटारको कार्यक्रम शान्तिपूर्वक सम्पन्न भयो । भोलिपल्ट बिहान घाँसीकुवाको पञ्चायत भवन भएको ठाउँमा आइयो । घाँसीकुवामा हामी सबैका अग्रज कांग्रेसका नेता मेघनाथ कैनी प्रधानपञ्च थिए । प्रशासनले उनका विरुद्ध स्थानीय मण्डलेहरूलाई उक्साउँदै आएको थियो । गाउँ सभा हुन नदिने र कैनीलाई कम्तीमा पनि निलम्वन गर्ने षड्यन्त्र प्रशासनले गरेको थियो ।

श्रीभगवान सिंह नामका दबंग प्रशासक प्रमुख जिल्ला अधिकारी थिए । उनीहरूले सबै तारतम्य मिलाएका रहेछन् क्यारे हामी पञ्चायत भवन भएको ठाउँमा पुग्नेबित्तिकै पसलहरूबाट एक हुल मानिस निस्के । केहीले मसँग राम्रै मुखले भलाकुसारी गरे । म विपक्षीहरूको समूहमा उनीहरूसँग कुरा गर्दै बसेँ । गाउँ सभामा गणपूरक संख्या नपुग्ने आकलन मण्डलेहरूले गरेका रहेछन् तर हामीले सम्झाउन थालेपछि राजनीतिक आग्रह नभएका सोझा सदस्यहरू २–४ जना गाउँ सभामा भाग लिन तयार भए । मैले उनीहरूलाई कोरम नपुगे गाउँ सभा उद्घाटन नगर्ने वचन दिएँ । साथै कोरम पुगेमा उनीहरूले पनि बखेडा गर्न नपाउने सर्त राखेँ ।  

Global Ime bank

प्रशासन र उनले खटाएका मण्डलेहरूका लागि यो अप्रत्याशित भएछ । उनीहरू गणपूरक संख्या नै पुग्दैन भनेर ढुक्क रहेछन् । अनि त दमौलीमा सधैँ प्रमुख जिल्ला अधिकारीको बैठकमा भेटिने केही पञ्चहरू र उर्बौला मण्डले केटाहरू उत्तेजित भए । मलाई केही भलाद्मीजस्ताले अलमल्याएर राखे भने ध्रुव, काशी, गिरीहरूलाई उग्र भिडले घेरेछ । मसँग छुट्ट्याएर अरू साथीहरूमाथि आक्रमण गर्ने उनीहरूको रणनीति रहेछ । सायद, सीडीओकै निर्देशनमा उनीहरूले त्यसो गरेका थिए । यस्तैमा चर्काचर्की भएपछि ध्रुवलाल प्रधान स्थानीय एक जनालाई घचेटेर बाहिर निस्कन खोजेछन् । अनि त के चाहियो र उपसभापतिले पञ्चलाई कुटायो भनेर दमौलीमा खबर पुगिसकेछ । मण्डलेहरूले प्रहरीको आडमा कुटपिट, लछारपछार गर्न थाले । मलाई घेरेर अलि पर लगी एउटा घरमा थुनिदिए । प्रधानपञ्च मेघनाथ कैनीलगायत साथीहरूलाई दमौली लगेछन् । करिब दुई घण्टा जतिपछि मलाई ल अब जानुस् भनेर छाडिदिए । 

 

कांग्रेस नेता रामचन्द्र पौडेललाई पुल उद्घाटनमा जानबाट रोक्दै प्रहरी । तस्बिर : प्रकाश अधिकारी


कमलाबारी ओर्लेर बसबाट म दमौली पुगेँ । सभापति जिल्ला पञ्चायतमा थिएनन् । दमौली पुगेपछि ध्रुव, काशी, गिरी, कैनीलगायतका साथीहरूलाई प्रहरीले पक्रेको थाहा भयो । मैले सीडीओलाई जिल्ला पञ्चायतका सदस्यहरू र प्रधानपञ्च कैनीलाई घाँसीकुवामा कुटपिट र अभद्र व्यवहार गरिएकाले कुटपिट गर्नेहरूमाथि कारबाही गरियोस् भन्ने बेहोराको पत्र लेखेर पठाएँ । तर, सीडीओले पहिले नै कैनीहरूविरुद्ध उजुरी परेको र उनीहरूमाथि सार्वजनिक अपराधको मुद्दा चलाइएको खबर पठाए । मैले त्यहाँ हाम्रो समूहले कुटपिट गरेको छैन । मसँग गएका साथीहरूमाथि मुद्दा चलाइन्छ भने मलाई पनि प्रहरीले पक्राउ गरोस् भने । सीडीओले कुन्नि के कारणले हो उजुरीबाट मेरो नामै मेटिदिएछन् । साथीहरू २४ दिन प्रहरी हिरासतमा राखिए ।  

सरकार समर्थकहरूलाई बिज्याइँ गर्न उक्साएर अनि शान्ति सुरक्षाका नाममा सरकार विरोधीलाई निषेध र प्रतिबन्ध लगाउने नेपालको प्रशासनको पुरानै प्रवृत्ति हो । प्रधानमन्त्री केपी शर्मा ओलीको शासनमा पञ्चायतको यही प्रवृत्ति दोहोरिँदै गएको छ । कांग्रेसका नेताहरूले पनि सत्तामा छँदा यस्ता अभ्यास गरेकै थिए । यसैले उनीहरूले केही दिनपछि यो घटना नै बिर्सन सक्छन् । तर, लोकतान्त्रिक मूल्य मान्यता जोगाउन भने नागरिकहरू नै अलि सावधान हुनुपर्ने हो कि ?

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  २१:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC