site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डू नट फर्गेट माई ब्लड : गणेशमान सिंहले सधैं सम्झिरहने गंगालालको अन्तिम वाक्य
Tiktok banner adTiktok banner ad

बुबासँग पहिलो भेट जेलमा 

२०१५ सालको निर्वाचन नेपालको इतिहासमा पहिलो आम निर्वाचन थियो ।    क्रान्तिको रापतापले सिर्जना गरेको चुनाव । निर्वाचनमा नेपाली कांग्रेसको दुई तिहाइ मत आयो । लोकनायक बीपी कोइरालाको नेतृत्वमा प्रथम जननिर्वाचित सरकार गठन भयो । तर, १८ महिना पनि व्यतीत हुन पाएन । राजाले घाँटी निमोठे । जनअधिकारको गला दबाइयो । अल्पायुमै सरकार ढल्यो । तर, छोटो समयमा पनि कांग्रेसको सरकारले जनतालाई छुने खालका कार्यक्रमहरू ल्यायो । किसानलाई सम्बोधन गर्‍यो । जनताका मुद्दाहरुलाई सम्बोधन गर्दैै गइरहेको थियो । त्यही बेलामा तत्कालिन राजा महेन्द्र शाहले कू गरे । बीपी कोइराला, गणेशमान सिंह, रामनारायण मिश्र, देवानसिंह राई, योगेन्द्रमान शेरचन सबै सुन्दरीजल जेलमा पर्नुभयो । ०१७ सालको प्रजातन्त्रविरोधी कदम थियो । म सानै थिएँ । 

०१७ सालको घटना घटिसकेपछि पिताजीलाई सुन्दरीजल जेलमा लगियो । सुन्दरीजल जेलमा पनि उहाँले कोहीसँग भेट्नु भएन । तत्कालीन समयमा महिनामा एक पटक परिवारसँग भेट्ने व्यवस्था थियो । 

तर, बुबाले के कारणले हो उहाँले एक डेढ वर्ष कसैलाई भेट्नु भएन । तर, पछि भेट्ने समय मिलेपछि सुन्दरीजल जेल जाँदाखेरीको मलाई सम्झना आउँछ । 

पीएल सिंह दाईले व्यवस्थापन गरेर हामीलाई लैजानुहुन्थ्यो । आमा, दिदि, दुईजना बहिनी, प्रदीप दाईसँगै म पनि गएको थिएँ ।  सुन्दरीजल जाँदा खेतको फाँटैफाँट, बीचमा सानो बाटो थियो । त्यही बाटाको छेउमा जेल रहेछ ।

कालो ठुलो गेट अहिले पनि छ । भेट्ने पालो आएपछि सानो गेटबाट भित्र पस्यौं ।  भित्र चौरको छेउमा रहेको टहरामा भेट्ने गरिँदो रहेछ । त्यहीँ जाँदा मैले जेल भित्र पहिलो पटक भेटेको सम्झना छ ।  पहिलो पटक भेट भएको कारणले गर्दा बुबाले आर्मीको ड्युटीमा रहेको अफिसरलाई हामीलाई घुमाइदिन भन्नुभयो । 

जेलभित्रै घुम्दै जाँदा वीपी कोइरालालाई पनि मैले पहिलोपटक देखेँ । उहाँलाई कुरा गर्न दिइँदैन्थो ।  तर, उहाँ हामीलाई देखेर मुस्कुराउनुभएको चित्र मेरो मानसपटलमा अहिले पनि ताजा छ । वास्तवमा मलाई राजनीतिमा प्रेरित गरिरहने दृश्य पनि त्यही हो । ०१२ सालमा मेरो जन्म भयो । ०१७ सालमा जेल परेपछि पीताजी ८ वर्ष जेल बस्नुभयो । ०२५ सालमा रिहा हुनुभयो । लगत्तै निर्वासनमा गएपछि २०३३ सालसम्म त उहाँ मुलुकबाहिर नै रहनुभयो । 

खाजा खानबस्दा जासुसले देखेपछि..

१९९७ सालमा राणाहरुको विरुद्धमा शोभा भगवतीमा उहाँले प्रजापरिषद्को सदस्यता लिनुभयो । १९९७ सालमा विवाह गरेको ४ महिनापछि नै उहाँ पक्राउ पर्नुभयो । १९९७ देखि २००१ सालसम्म भद्रगोल जेलमा बस्नुभयो । भद्रगोल जेलका दुईटा अग्ला अग्ला पर्खाल नाघेर भाग्नुभयो । र, भारत पस्नुभयो । 
फेरि ०७ सालको क्रान्तिका लागि नेपाल आउनुभयो । काठमाडौं आएर फर्किने क्रममा उहाँलाई ठोरीबाट पक्राउ गरियो । त्यतिवेला साथीहरूले उहाँलाई ठोरीमा अलमल नगर्न सुझाएका रहेछन् । बीचमा खाजा खान लाग्नुभयो भने पक्राउ पर्नुहुन्छ भनेर सम्झाएका पनि रहेछन् । तर, चार दिनदेखिको भोकले चुर भएकाले जीवन नै प्राथमिकतामा पर्‍यो ।

ठोरीको कुन्नी कुन पसलमा हो । खाजा खान थाल्नुभएछ, त्यतिबेलै जासुसहरुले उहाँलाई चिनेर पक्राउ गरिहाले ।  प्रजातन्त्रप्रति उहाँको कमिटमेन्ट बेजोड थियो । प्राण हर्लान्, त्यसको कुनै वास्ता थिएन । चारपाँच सय कोर्रा हान्दा पनि उहाँ चुँक्क नबोली सहन सक्नुहुन्थ्यो । हान्नेहरु नै आजित होउन्जेल सहन सक्ने उहाँको सहनशीलता थियो । 

उहाँलाई त्यसै लौहपुरुष भनिएको होइन । हुन त प्रजातन्त्रको लडाइँमा उहाँ मात्र होइन, थुप्रै नेताले संघर्ष गरेका छन्, तर उहाँले जत्तिको दुःख कष्टचाहिँ अरु कसैले भोगेका छैनन् । 

गंगालालको त्यो वाक्य ‘डू नट फर्गेट माई ब्लड’

गंगालाल श्रेष्ठलाई फाँसी दिन लैजाने बेला उहाँ पनि सँगै जेलमा हुनुहुन्थ्यो ।  झुन्ड्याउन लैजाने बेलाको दृष्य उहाँ पटक–पटक सुनाउनुहुन्थ्यो । उहाँसहित अरु सबै बन्दीहरुलाई भित्तापट्टि फर्काएर राखिएको थियो ।  गंगालाललाई अनुहारमा कालो कपडाले छोपिसकिएको थियो । बाहिर लैजाने बेला गंगालालले भन्नुभएछ, ‘गणेशमान दाइ, डु नट फर्गेट माई ब्लड ।’ 

गंगालालको यो भनाइले उहाँलाई सधैँ पिरोलिरह्यो । एक हिसाबले यो उहाँको लागि हौसला बन्यो ।  जतिबेला उहाँ राजनीतिबाट निराश हुनुहुन्थ्यो, राजनीति नै छोडिदिऊँजस्तो लाग्थ्यो, उहाँलाई गंगालालको त्यही वाक्यले घचघच्याउँथ्यो ।  ‘मेरो रगतलाई नबिर्सिनुहोला’ भन्ने गंगालालको अन्तिम तथा बिदाइअघिको वाक्यलाई उहाँले सहिदले क्रान्ति पूरा गर्न सुम्पेर गएको जिम्मेवारीको रुपमा ग्रहण गर्नुभएको थियो ।

उहाँ कति मिहिनेती हुनुहुन्थ्यो भने हिडेरै पूरै देश डुल्न तयार हुनुहुन्थ्यो ।  यसरी गाउँ गाउँ डुलेकै कारण पनि होला, उहाँले जनताको पिरमर्कालाई राम्रोसँग बुझ्नुभएको थियो ।  उहाँको हृदय निकै कोमल र विशाल थियो । आफू दुःख सहने तर अरुको दुःख देख्न नसक्ने ।  त्यसैले पनि जनताको मुक्ति र स्वतन्त्रताका लागि उहाँले जस्तोसुकै कष्ट पर्दा पनि संघर्ष छोड्नुभएन । 

गणेशमानकै छोरा भनेर पाइलट पढ्न दिइएन 

उहाँ निकै अध्ययनशील हुनुहुन्थ्यो । न्युरोडमा पाइने सबै दैनिक, साप्ताहिक पत्रिका उहाँ किन्नुहुन्थ्यो ।  भारतबाट पनि साथीभाइमार्फत पत्रपत्रिका, किताबहरू मगाउनुहुन्थ्यो र सबै टप टु बटम (आद्योपान्त) पढ्नुहुन्थ्यो ।  गणेशमानकै छोरा भएकाले मैले पाइलट बन्न पाइन । हामी दाजुभाइले नै अस्कल क्याम्पसबाट आइएससी पास गरेका थियौँ । 

हामीले आइएससी गर्नेबित्तिकै क्यानेडियन सरकारको कोटामा पाइलट पढ्न विदेश जाने भनेर गोरखापत्रमा विज्ञापन आयो । दाइ र म दुवैले फारम भर्यौं ।  परीक्षा र अन्तरवार्ता पास गरेर १३ जनाको कोटामा हामी दुवैजना छनोट भयौँ । सबै प्रक्रिया पूरा भइसकेको थियो । 
फेरवेल पार्टीसमेत भएर भोलिपल्ट उड्ने तय भएको थियो । उड्ने अघिल्लो दिन दरबारमा कुरो उठेछ । 

गणेशमानका छोराहरू कसरी छनोट भए, यिनीहरूलाई पाइलट पढ्न जान दिन हुँदैन भन्ने भएछ र दरबारले १३ जनालाई नै रोकिदियो । 

क्यानेडियन सरकारले पछि थाहा पाएछ । यसरी राजनीतिक प्रतिशोध राखेर गणेशमानका छोराहरु जाने भए भनेर रोकियो भन्ने थाहा पाएपछि ६–७ वर्षसम्म उसले पाइलटको कोटा नै पठाएन । सात वर्षपछि मात्रै अर्को ब्याजको लागि कोटा पठायो । दाइले त्यसैमा भर्नुभयो र सात वर्षपछि गएर पाइलट पढ्नुभयो ।

मैलेचाहिँ भरिनँ । पहिला भर्खरै आइएससी पास गरेको, पाइलट बन्ने ठूलो जोस थियो ।  सात वर्षपछि त त्यो जोस पनि रहेन । फेरि, मुखैमा आइसकेको अवसर त्यसरी खोसिएपछि मनमा दिग्दारी पलायो ।  त्यतिबेला मैले बीएससी सकेर एमएससी गर्न थालिसकेको थिएँ । छोडेर जान मन लागेन । 
सुरुमा पाइलट पढ्न जान नपाउँदा मलाई छाँगाबाट झरेजस्तो भएको थियो ।  आजभन्दा भोलि अवसाद बढ्दै गयो । त्यतिखेर बुबा निर्वासनमा गोरखपुर हुनुहुन्थ्यो । म बुबालाई भेट्न गएँ ।  बुबाले सम्झाउँदै भन्नुभयो, “जिन्दगी यस्तै हो । जीवनमा तिमीलाई अरू नै केही गर्नु होला । पाइलट बन्नु मात्र पनि त तिम्रो जीवनको उद्देश्य नहोला । यसरी निराश भएर नबस । केही नगरी बस्नुभन्दा बीएससी भर्ना होऊ ।” 

बरु यतै गोरखपुर विश्वविद्यालयमा पढ भनेर बुबाले उतै भर्ना गरिदिनुभयो । भर्ना त भएँ, तर मलाई उता बस्न मन लागेन । यतै आएर त्रिचन्द्रमा भर्ना भएँ । बीएससीमा मैले विश्वविद्यालय टप गरेँ । एमएससी पनि मैले ८३ प्रतिशत ल्याएर विशिष्ट श्रेणीमा पास गरेँ । त्यसपछि केही समय त्रिचन्द्रमा प्राध्यापन पनि गरेँ । तर मलाई त्यतिमै सन्तुष्टि मिलेन । सत्याग्रह पनि सुरु हुँदै थियो । अनि म पार्टी राजनीतिमा सक्रिय भएँ । 

जुम्ला जान्छु भन्दा देश चिन्नेभयो भनेर खुशी हुनुभयो

बुबालाई विज्ञानप्रति निकै मोह थियो । राजनीतिशास्त्र, इतिहास जस्ता अरू विषय पछि पढ्न पनि सकिन्छ । पहिले विज्ञानकै पढाइ पूरा गर भन्ने उहाँको सुझाव थियो ।  अरु कुरामा बुबाले यसै गर भन्नुभएन । आफूलाई रुचि भएको काम गर । जे गर्दा पनि आफ्नै इच्छाले गर, अरूले यसो उसो भन्यो भनेर त्यतातिर नलाग भन्नुहुन्थ्यो । 

मैले एमएससी गर्दा राष्ट्रिय विकास सेवा थियो । डिग्री लिनुअघि एक वर्ष गाउँमा गएर सेवा गर्नुपर्ने थियो । चिठ्ठा तान्दा मलाई दोलखातिर जानुपर्ने परेको थियो ।  मलाई चाहिँ यता नजिकै गएर त दुर्गमलाई के बुझिन्छ र अलि टाढाको जिल्ला जानुपर्छ भन्ने लाग्यो । त्यतिखेर जुम्लाको चिठ्ठा तान्ने साथीचाहिँ एकदमै आत्तिएर बसेको रहेछ । 

मैले भने, ‘तिमी मेरोमा जाऊ, म तिम्रोमा जुम्ला जाऊँला नि त ।’ ऊ ज्यादै खुसी भयो ।

यो ३४–३५ सालतिरको कुरो हो । त्यतिखेर बुबालाई यहीँ प्रहरी तालिम केन्द्रमा राखिएको थियो । उहाँहरू मेलमिलाप नीति लिएर ३३ सालमा नेपाल आउनुभएको थियो । म बुबालाई भेट्न गएँ । म यसरी जुम्ला जान लागेको भनेँ ।  छोराले देश चिन्ने भयो भनेर उहाँ निकै खुसी हुनुभयो । बीपी उपचार गरेर फर्किंदा उहाँलाई एउटा टु इन वन ट्रान्जिस्टर ल्याइदिनुभएको रहेछ । 

उहाँले ‘तिमी त्यस्तो ठाउँमा जान लागेको, यो लैजाऊ’ भनेर त्यो मलाई त्यो ट्रान्जिस्टर दिनुभयो ।  आफू जेलमा कष्ट सहिरहँदा पनि अरूको यस्तो ख्याल राख्नुहुन्थ्यो उहाँ । मैले यहाँ आफैँले पनि ट्रान्जिस्टर किनेको थिएँ, त्यो उहाँलाई दिएँ । (यसो भनिरहँदा सिंह निकै भावुक भए । केहीबेर उनको गला अवरुद्ध भयो ।) 

बुबाको प्रभावले होला, ज्ञानेन्द्रको ‘कू’ विरुद्ध उभिएँ

बुबासँग त्यति साथमा बस्न नपाए पनि पिताका रुपमा उहाँको माया र उत्प्रेरणा हामीले पाइराख्यौँ ।  जस्तोसुकै दुःख पनि सहन सक्ने र आफ्नो अडानमा कायम रहने उहाँको बानीको प्रभाव ममा पनि परेको छ ।  सायद यही प्रभावले होला, ज्ञानेन्द्रले प्रजातन्त्रमाथि कु गरेर शासन हातमा लिँदा कसैले विरोध गर्ने हिम्मत गरेनन् । त्यतिबेला पनि मेरो मनमाचाहिँ एउटा प्रतिबद्धता जन्मियो, यस्तो बेलामा त आफ्नो अडानमा अडिनै पर्छ । चाहे ज्यानै जाओस्, जेलमा कुहाएर मारे मारोस्, मचाहिँ अडान लिन्छु । 

‘यो हुँदै भएन भनेर विरोध गर्छु’ भन्ने अठोट लिएर मैले विरोध गरेँ । संविधानले नै कल्पना नगरेको शाही आयोग बनाएर राजाले हामीलाई जेल हाल्ने, अडानबाट बिचलित गराउने कोसिस गरे । तर, मैले आफ्नो अडान छोडिनँ । 

रामनारायण मिश्रजीको घर पिपरा गएको सम्झना हुन्छ 

हामी एकदम सानो हुँदा बुबा जेल पर्नुभयो । आमा (मंगलादेवी सिंह) पनि जेलमै हुनुहुन्थ्यो । यो १८–१९ सालको कुरा हो ।  आमा पहिलेदेखि डाइबिटिजको विरामी हुनुहुन्थ्यो ।  जेलमा आमा सिकिस्त बिरामी हुनुभयो । हाड र छाला मात्र बाँकी रहँदा पनि उपचार गर्न भारत लैजानका लागि सरकारलाई  भन्दा मानेन । 

जेलभित्रै निधन हुन्छ भन्ने लाग्यो होला, पछि सरकारले रिहा गर्‍यो आमालाई । 

आमालाई काठमाडौंबाहिर जान प्रतिबन्ध लगाइएको थियो । त्यतीबेला हाम्रो परिवारको सबै पीएल सिंह दाईले हेर्नुहुन्थ्यो ।  उहाँले उपचारका लागि भारत लैजानका लागि धेरै प्रयास गर्नुभयो ।  तर, पञ्चायती सरकारले मान्दै मानेन । त्यसपछि शान्त भवनमा डा. बेरी भन्ने हुनुहुन्थ्यो । अवस्था जटिल छ परिवारले हुन्छ भन्नुहुन्छ भने म हेर्छु भन्नुभयो । पछि अप्रेसन सफल पनि भयो । 

बुबा ०२५ सालमा रिहा भएर आउनहुनुभयो । त्यसबेला हामी जावलाखेलमा भाडाको घरमा बस्थ्यौं ।  केही दिनमा उहाँ जिल्ला यात्रामा निस्कनुभयो । त्यसपछि बुबासँग हामी सबै परिवारजनहरु पिपरामा रामनारायण मिश्रको घरमा गएको सम्झना छ ।  मिश्रजीलाई जेलमा हुँदा नै क्यान्सर भएको थियो । अन्तिम अवस्थामा उहाँलाई रिहा गरिएको थियो । पछि उहाँ बित्नुभयो । बुबाले उहाँको घरमै पुगेर समवेदना प्रकट गर्नुभएको थियो । त्यसको केही दिनपछि त बुबा फेरि निर्वासनमै जानुभयो । 

राजनीतिक क्रान्तिपछि आर्थिक क्रान्तिमा जोड  

बुबाको लडाइँ राजनीतिक परिवर्तनको लागि मात्रै थिएन । राजनीतिक क्रान्तिपछि आर्थिक क्रान्ति हुनुपर्छ भन्ने पक्षमा उहाँ हुनुहुन्थ्यो ।  जनताले अधिकार मात्रै पाएर पुग्दैन, उनीहरुको आर्थिक अवस्था पनि सुध्रिनुपर्छ भन्ने उहाँको धारणा थियो । सुशासन र आर्थिक समृद्धिबाट मात्रै जनतालाई खुसी बनाउन सकिन्छ भन्नुहुन्थ्यो उहाँ । 

हाम्रा प्राकृतिक स्रोत साधनहरूको उचित प्रयोग र समयसापेक्ष परिचालन गरेर त्यो उद्देश्य पूरा गर्न सकिन्छ भन्ने उहाँको दृष्टिकोण थियो ।  त्यसैले अब हामीले सुशासन र आर्थिक क्रान्तिको पाटोलाई कार्यान्वयनमा लगेर मुलुकलाई समृद्ध बनाउनुपर्छ । यो नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने मलाई लाग्छ । 

टनकपुर सन्धीमा त्यो ‘लेटर बम’..

परराष्ट्र मामिलामा पनि उहाँ प्रस्ट हुनुहुन्थ्यो । हाम्रा दुई छिमेकी भारत र चीनलाई समान महत्व दिएर, दुवैसँग समदुरी राखेर कूटनीतिक सम्बन्ध बढाउनुपर्छ ।  दुई ठूला देशबीचको भूराजनीतिलाई बुझेर नेपालले आफ्नो अस्तित्व स्थापित गर्नुपर्छ भन्ने उहाँको धारणा थियो ।  शक्तिराष्ट्रहरूको प्रभावमा परेर कुनै पनि सन्धि सम्झौता गर्दा राष्ट्रिय हितविपरीत जानु हुँदैन । 

छलछामको राजनीति गर्नु हुँदैन भन्नुहुन्थ्यो । पारदर्शी ढंगले जनतालाई चित्त बुझाएर गर्नुपर्छ भन्नुहुन्थ्यो । टनकपुर सन्धि हुँदा उहाँले पत्र लेखेरै असहमति जनाउनुभयो । जुन पत्रलाई ‘लेटरबम’का रुपमा लिइयो ।  राष्ट्रिय मात्र नभएर उहाँको अन्तर्राष्ट्रिय छवि पनि उच्च थियो । २०४६ सालपछि संयुक्त राष्ट्रसंघले उहाँलाई शान्ति पुरस्कारबाट सम्मानित गर्यो । 

२०४६ पछि उहाँसँग कुनै पद त थिएन, तैपनि उहाँको छवि कस्तो भने भारतका प्रधानमन्त्रीहरू यहाँ आउँदा घरमै आएर उहाँलाई भेट्नुहुन्थ्यो । 

(गणेशमान सिंहको स्मृति दिवसको सन्दर्भमा कांग्रेस नेता, सिंह पुत्र प्रकाशमान सिंहसँग जगन्नाथ दुलालले गरेको कुराकानी)

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro