काठमाडौं । नेपालले प्राप्त गर्ने विप्रषणबारे अनपेक्षित तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले आफूले गरेको अनुमान तथा विश्व बैंकले गरको प्रक्षेपणलाई चुनौती दिने तथ्य सार्वजनिक गरेको हो ।
मुलुकको केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकमा आर्थिक वर्ष २०७६-७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले मात्र कमी आएको छ । आर्थिक वर्ष २०७५-७६ मा ८ खर्ब ७९ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स प्राप्त भएकामा गत वर्ष ८ खर्ब ७५ अर्ब रुपैयाँ विप्रेषण आप्रवाह भएको छ ।
नेपाल राष्ट्र बैंकले लकडाउनका कारण रेमिट्यान्स २० प्रतिशतले घट्ने अनुमान गरेको थियो जबकि विश्व बैंकले १४ प्रतिशतले घट्ने प्रक्षेपण गरेको थियो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.८ प्रतिशतले बढेको थियो ।
गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २० प्रतिशतले घटे पनि विप्रेषण भने स्थिर रहेको देखिन्छ । वर्षभर अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३२.६ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ३४.७ प्रतिशतले घटेको छ ।
लकडाउनमा मात्रै करिब ३ खर्ब रुपैयाँ रेमिट्यन्स भित्रियो
नेपाल राष्ट्र बैंकका अनुसार तेस्रो चौमासिकमा मात्रै २ खर्ब ८३ अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ । अघिल्लो आर्थिक वर्षको चैतदेखि असारसम्म अर्थात् पछिल्लो चार महिनामा २ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स प्राप्त भएकामा गत वर्ष कोभिड परिवेशमा सामान्य घटेको हो ।
केन्द्रीय बैंकको तथ्यांकमा गत असारमा मात्रै १ खर्ब १ अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ । यस्तै जेठमा ९४ अर्ब, वैशाखमा ५३ अर्ब र चैतमा साढे ३४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
अघिल्लो आवको चैतदेखि असारसम्म मासिक क्रमशः ७१ अर्ब, ७२ अर्ब, ७४ अर्ब र ८० अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त भएको थियो ।
यस्तो छ विदेशी विनिमय सञ्चितिको हिसाबकिताब
रेमिट्यान्स यथावत् रही व्यापार घाटा संकुचन आउँदा विदेशी विनियम सञ्चितिमा भने व्यापक सुधार आएको छ ।
आर्थिक वर्ष २०७६-७७ मा कुल वस्तु व्यापार घाटा १६.८ प्रतिशतले संकुचन भई १० खर्ब ९९ अर्ब ९ करोड कायम भएको छ । गत आव चालु खाता घाटा ८७.९ प्रतिशतले घटेर ३२ अर्ब ६ करोड कायम भएको छ ।
यस अवधीमा पुँजीगत ट्रान्सफर ८.१ प्रतिशतले घटेर १४ अर्ब २१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४९.१ प्रतिशतले वृद्धि भएर १९ अर्ब ४८ करोड पुगेको छ । आर्थिक वर्ष २०७६-७७ मा शोधनान्तर स्थिति २ खबै ८२ अर्ब ४१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ६७ अर्ब ४० करोडले घाटामा थियो ।
गत आर्थिक वर्ष खुद सेवा आय १ अर्ब २२ करोडले बचतमा छ । यस्तै भ्रमण आय १९.२ प्रतिशतले कमी आई ६० अर्ब ८९ करोड र भ्रमण व्यय ४०.९ प्रतिशतले घटेर ५३ अर्ब १४ करोड कायम भएको छ ।
विप्रेषणसहित खुद ट्रान्सफर आयमा १.३ प्रतिशतले कमी आएर ९ खर्ब ८२ अर्ब २२ करोड कायम भएको छ । खुद ट्रान्स्फर कमी आए पनि व्यापार घाटामा उल्लेख्य गिरावट, विप्रेषण यथावत्, सेवा आय बचत र प्रत्यक्ष वैदेशिक लगानीमा सुधार आउँदा विदेशी विनियम सञ्चित भने व्यापाक परिमाणमा बढेको छ ।
२०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३४.९ प्रतिशतले बढेर २०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रहेकोमा २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७७ असार मसान्तमा १ खर्ब ७५ अर्ब ७१ करोड पुगेको छ । २०७७ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.८ प्रतिशत छ ।
आर्थिक वर्ष २०७६-७७ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.४ महिनाको वस्तु आयात र १२.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिने राष्ट्र बैंकको हिसाब छ ।