site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
द्वन्द्वपीडितको प्रमाण
Sarbottam CementSarbottam Cement

नारायण लामिछाने


माघको महिना, पश्चिमी वायुका कारण झमझम परिरहेको पानी भर्खर रोकिएको छ । कुमाख, निगालचुला, जैतपानीका डाँडा सेता देखिएका छन्, हिउँले ढपक्क छन् । रूकुमको सिस्ने हिमशृङ्खला सूर्यका किरणले टलक्क टल्किएको टाढैबाट देखिएको छ । हप्ता दिनदेखि धुम्म परेको आकाश खुलेको छ, घमाइलो घाम लागिरहेको छ । जिल्ला प्रशासन कार्यालय सल्यानको कोठा नम्बर सातअगाडि बसिरहेको छु, घाम ताप्दै । 

सेवाग्राही कोही छैनन्, फुर्सदमा छु । ढाड सूर्यतिर फर्काएर आनन्दसँग बसिरहेको छु । खलङ्गामा गाडी नआउँदासम्म सेवाग्राही आइपुग्दैनन् । गाडी र सेवाग्राहीको प्रत्यक्ष सम्बन्ध छ, नङमासुको जस्तै । 

Prabhu Bank
Agni Group
NIC Asia

एक्कासि टकटकटक आवाज सुन्छु । सोच्छु, कोही आउँदै छ । आँखा आफ्नो अगाडिको बाटोमा दौडाउँछु, कोही देख्दिनँ । केको आवाज हो यस्तो ? आफैंलाई प्रश्न गर्छु । तुरून्तै जवाफ पाउँछु । बैसाखीको आवाज पो रहेछ, बैसाखीकै सहारामा आएका रहेछन् एक सेवाग्राही । कोठा नम्बर सात खोज्दै थिए उनी । बोलाएँ मैले, आफ्नो विपरीत दिशामा रहेको कुर्सीमा बस्न भनें । बसे उनी । आफूलाई भन्दा बढी ख्याल गर्दै भुइँमा राखे बैसाखीलाई । 

“केका लागि आउनुभयो ?” पहिलो प्रश्न थियो मेरो ।

Global Ime bank

“द्वन्द्वपीडितको सिफारिस चाहियो सर,” सेवाग्राहीको जवाफ थियो । 

“केका लागि चाहियो सिफारिस ?”

“द्वन्द्वपीडितका छोराछोरीलाई विद्यालयबाट छात्रवृत्ति दिने भनेको छ, त्यसकै लागि हो, सर,” जवाफ दिए उनले ।

“सिफारिस मागेर पाइन्छ ?” जिस्किँदै अर्काे प्रश्न सोधिदिएँ । मलाई कठ्याङ्ग्रिँदो कोठाभित्र पस्न मन थिएन । नढाँटी भन्दा अल्छी बनाएको थियो, न्यानो घामले, काम गर्न मनै थिएन । 

सेवाग्राहीले मबाट सायद त्यस्तो प्रश्नको अपेक्षा गरेका थिएनन् । “के चाहिन्छ त सिफारिसको लागि ?” स्वर र आँखा ठुल्ठूला पार्दै हेर्न थाले मलाई । उनको मुहारमा आक्रोश थियो, सँगसँगै निराशा पनि । आँखा राता बनाए, आगोको ज्वाला जस्तै । आक्रोश स्पष्टै देखिन्थ्यो उनका आँखामा । 

“निवेदन छ ?”

“छैन ।”

“वडाको सिफारिस छ ?”

“छैन ।”

“द्वन्द्वपीडितको सूचीमा नाम छ ?”

“थाहा छैन ।” 

“द्वन्द्वपीडित हो भन्ने प्रमाण के छ ?”

हात भुइँतिर बढाए उनले, बैसाखी टपक्क टिपे । माथि उठाए, मलाई देखाए, “योभन्दा ठूलो अरु कुनै प्रमाण चाहिन्छ र ?” प्रतिप्रश्न सोधे उनले । 

“बैसाखी बोक्ने जति सबैलाई द्वन्द्वपीडितको सिफारिस दिन मिल्छ र ? गाडी पल्टेर पनि अशक्त भएका हुन सक्छन्, अरु कारण पनि हुन सक्छन्, म त दिन सक्दिनँ,” प्रतिप्रश्नको जवाफ दिएँ मैले पनि । मेरो जवाफले स्तब्ध भए उनी । केही बोलेनन् वा बोल्नै सकेनन् वा बोल्नै चाहेनन्, थाहा पाइनँ मैले । 

जुरूक्क उठे उनी, बैसाखीकै सहारामा । एउटा हात बैसाखीमाथि राखे । लाग्थ्यो, उनको जिन्दगीको भारी बैसाखीले बोक्दै छ । एक पटक मतिर हेरे, आँखा चारैतिर घुमाए । उनी सँगसँगै मैले पनि घुमाएँ आँखा । कोही थिएनन् वरपर । उनी र म मात्र थियौं । केवल दुई जना । सेवाग्राही भएर आएका थिए उनी, म सेवाप्रदायकका रुपमा थिएँ । उनी किन उभिए ? के गर्न खोज्दै छन् ? थाहा थिएन मलाई । सोच्दै गर्दा लगाइरहेको पाइन्टको चेन खोलिदिए उनले, अप्ठ्यारो लाग्यो मलाई । के गर्दै छ यो मान्छे, पाइन्टको चेन खोलेर ? कतै भित्री र गोप्य अङ्ग त देखाउँदै छैन मलाई ? विचारमग्न भएँ । पाइन्ट बिस्तारै घुडाँतिर सारे र देखाए बन्दुकका गोलीले छियाछिया भएको तिघ्रा । “सर, अरु प्रमाण पनि देखाउनुपर्छ ?” 

तर्सिएँ म । तिघ्रा पूरै सुकेको थियो, हेरिरहन सकिनँ । बैसाखीप्रति उनले गरेको मायालाई बुझें । उनको प्रश्नले नाजवाफ भएँ । मनमा कहीँकतै घोचे जस्तै लाग्यो । मस्तिष्क तरङ्गित भयो । कोही मानिस बैसाखीको सहारामा आएको छ । द्वन्द्वले आफ्नो खुट्टा गुमाएको हुँ भन्छ । बन्दुकका गोलीले छियाछिया भएको तिघ्रा देखाउँछ, त्यो सबै देख्दिनँ म, त्यो सबै सुन्दिनँ म । म त केवल कागजका खोस्टाहरू मात्र पो देख्ने भएछु । कागजका खोस्टाहरू मात्र पो पढ्ने भएछु । मैले त मानिसका कथा पढ्नु थियो, मानिसका व्यथा लेख्नु थियो । मल्हम लगाउनु थियो घाउहरूमा । तर म त फेरिँदै गएछु मौसम जस्तै । मानवतालाई बिर्संदै गएछु । असाध्यै माया लाग्यो, मलाई उनको र आफ्नो पनि । 

उनको प्रतिप्रश्नले आफ्नो सोच बदलें । बस्न आग्रह गरें । पहिले जस्तै गरी बसे उनी । बैसाखीको असाध्यै ख्याल गर्दै । 

“कहाँको घटनाले द्वन्द्वपीडित बनायो त ?”

“टाकुरी गाउँको ।”

“कहिलेको घटना हो ?”

“साठी साल वैशाख १० गते ।” 

टाकुरी गाउँ, ६० साल वैशाख १० गते सुन्नेबित्तिकै झस्किएँ म । राज्य र विद्रोही पक्ष दुवैतिरका दर्जनौं मानिसले ज्यान गुमाएका थिए त्यो घटनामा । बन्दुकका गोलीले बिजुलीको पोलसमेत छियाछिया भएका थिए । गाउँ मुर्दा बस्ती जस्तै बनेको थियो । कति ठाउँमा त माटो नै रातो बनेको थियो, रगतको आहाल थियो कतिपय ठाउँमा । धेरैका लास सग्लासमेत थिएनन् । केही लास हातविहीन थिए, केही खुट्टाविहीन । टाउको छिनेका पनि थिए । दर्दनाक थियो अवस्था । शोकमग्न थियो गाउँ । सारा गाउँलेका आँखा रसाएका थिए । कतिले त आफ्नै परिवारका सदस्यसमेत गुमाएका थिए । 

“राज्य पक्षबाट हो कि विद्रोही पक्षबाट हो द्वन्द्वपीडित भएको ?” सेवाग्राहीको बारेमा थप जानकारी लिँदै जान थालें । 

“राज्य पक्षबाट ।”

“के गर्दै हुनुहुन्छ अहिले ?” उनीप्रतिको आत्मीयता बढाउदै लाने प्रयास गरेंँ । 

“भारी बोक्न सक्दिनँ, धेरै हिँडडुल गर्न पनि सक्दिनँ । सानो दोकान छ, दिन बिताउने बाटो, दुईचार ओटा बिस्कुट अनि चाउचाउ राखेको छु । दुई ओटी छोरी छन् । श्रीमती छे । छोरीहरूलाई पढाएर ठूलो मान्छे बनाउने सपना छ । छोरीहरूले मैले रोजेको बाटो नरोजून् जस्तो लाग्छ । म जस्तो पीडित नबनून् जस्तो लाग्छ । कहीँकतैबाट छोरीहरूलाई पढाउन केही सहयोग पाए सजिलो हुन्थ्यो जस्तो लाग्छ ।”

“तिघ्रामा लागेको गोली अन्त लागेको भए बाँच्नै गाह्रो हुने थियो होला, भाग्यले बँच्नुभएछ, भाग्यमानी हुनुहुँदो रहेछ । घटना कसरी भयो ? केके भयो ?” 
 
“दुई सय जनाको टोली थियो हाम्रो । कमान्डरले नेतृत्व गरेका थिए । कहाँ लिएर जाँदै थिए उनले, केही थाहा थिएन । थाहा थियो त आक्रमण गर्न जाँदै छौं भन्ने मात्र । रातभर हिड्थ्यौं हामी, जङ्गलै जङ्गल । दिनभर सुरक्षित ठाउँ खोजेर बस्थ्यौं । सानोसानो समूह बनाएर स्थानीयका घरमा खाना बनाउन लगाउथ्यौं । खान्थ्यौं । गाउँलेहरूले डरले खुवाए वा मायाले, थाहा छैन, अहिले पनि भन्न सक्दिनँ । चिउरा र चाउचाउ बोकेका थियौं, हामीले । तीन दिन हिँडेपछि मात्र थाहा भयो, हामी टाकुरी गाउँमा आक्रमण गर्न जाँदै छौं भनेर । 

राति नौ बजेपछि चारैतिरबाट घेर्‍यौं टाकुरी गाउँलाई । र आक्रमण थाल्यौं । पहाडको टुप्पोमा थियो गाउँ, टाकुरामै थियो चौकी पनि । गाह्रो थियो, हामीलाई लडाइँ गर्न तर मनमा विश्वास थियो । थाहा छैन, कहाँबाट आयो, त्यो समयमा त्यत्रो आत्मविश्वास ? मर्न र मार्न कसरी तयार भयौं हामी ? म आफूलाई समेत थाहा छैन । केका लागि लड्यौं हामी ? लडेर के पायौं ? सम्झिँदा विरक्त लाग्छ । तर त्यो समयमा पूरै एकहोरो भएको थिएँ । शासन सत्ताको विरूद्धमा थिएँ ।  

आक्रमण सुरू हुनेबित्तिकै गोली चल्न थाल्यो । दुस्मनलाई सिध्याउन ज्यानलाई हत्केलामा राखी लडें । लड्दै जाँदा जे देखे पनि दुस्मनै जस्तो लाग्ने रहेछ । रुखका पात हल्लिँदा पनि दुस्मनै जस्तो लाग्ने । चराहरूले खस्य्राकखुस्रुक गर्दा पनि दुस्मन जस्तो लाग्ने । रुखका पातमा समेत हानियो, कति पटक गोली । 

लडिरहेको थिएँ । थाहा छैन, कताबाट आयो गोली, कसले हान्यो गोली ? मेरो यही दाहिने तिघ्रामा लाग्यो, उभिन सकिनँ, डङ्रङ्गै लडें । त्यसपछि के भयो ? केही थाहा छैन । ब्यूँझिँदा दोभान चौरमा थिएँ । आँखा टाकुरी गाउँतिरै थिए । सूर्य उदाइसकेको थिएन । रातो देखिएको थियो क्षितिज । तर दोभानचौर डरत्रासले ब्यूँझिन सकेको थिएन । सबै घर बन्द थिए । कहीँ कतै कोही देखिँदैनथे । बस्तीमा मानिस नभएको भान भइरहेको थियो । 

म प्यासले छटपटिएको थिएँ । तिघ्राको दुखाइ सहनै नसकिने गरी बल्झिरहेको थियो । साथीले सकीनसकी बोकिरहेको थियो मलाई । मैले मागिरहेकोे थिएँ, “पानी पानी ।” पानी नै नखाई जिन्दगी सकिन्छ कि जस्तै भएको थियो । पानीको मुहान कहीँकतै देखिँदैनथ्यो । मानिसका घरमा गएर पानी मागेर खान सक्ने अवस्थासमेत थिएन । घरहरू सबै बन्द गरिएका थिए । 

“ए भाइ,” मलाई बोकिरहेको साथी करायो । 

सानो बच्चाले हामीलाई देख्यो । १२–१३ वर्षको जस्तो थियो ऊ । हामीलाई देख्नेबित्तिकै डराएर भाग्न थाल्यो । हातमा पानीको लोटा बोकेको थियो उसले । सायद जङ्गलतिर शौच गर्न जाँदै थियो । 

“ओ भाइ पानी छ ?” मलाई बोकिरहेको साथीले भुइँमा राख्यो र जोडले चिच्यायो । साथीले उसलाई पिछा गर्न थाल्यो । बच्चा झनै तर्सियो, पानीको लोटा त्यहीँ छाडेर सासै नफेरी घरतिर दौडियो, अलप भयो हाम्रो आँखाबाट । त्यही लोटाको पानी खुवाइदियो साथीले मलाई । मेरा लागि पानी मात्र थिएन त्यो, रातभर लडेको, तिघ्रामा गोली लागेको, प्यासले छटपटिएको म, त्यो अमृत जस्तै भयो । एकैचोटि पिएर सिध्याएँ । अहिले सम्झँदा लाग्छ, त्यो पानी पिउन नपाएको भए सायद म बाँच्ने थिइनँ ।’’ 

आफ्नो घटना विवरण सिध्याए उनले । लामो सास फेरें मैले । 

“पानी पिलाउने बच्चाको केही हुलिया याद छ तपाईंलाई ?”

बच्चा सानो थियो । खुट्टामा चप्पल लगाएको थियो । मसिना थिए खुट्टा, सायद दुब्लो थियो ऊ । जाँघे लगाएको थियो । सेतो भेस्ट लगाएको थियो । टाउको खौरिएको थियो । टुप्पी थियो । सायद भर्खर व्रतबन्ध गरेको बाहुनको बच्चो थियो ऊ । 

सम्झिएसम्मका सबै हुलिया बताए उनले । 

एकटकले हेरिरहें मैले उनीलाई । मर्न र मार्न तयार भएका उनी अपाङ्ग भएका थिए, घरव्यवहार चलाउनै नसक्ने अवस्थामा थिए । थकित देखिन्थे, सायद हारिसकेका थिए जिन्दगीबाट । उत्साह र उमङ्गविहीन बनेका थिए । विगत सम्झेर निकै पछुताइरहेका थिए । उनको आँखाले यही बताउँथ्यो ।  

“निवेदन लेख्नू द्वन्द्वपीडितको सिफारिस बनाइदिन्छु,” मैले भन्दै गर्दा मेरो मुहारमा एकहोरो हेरिरहे, उनले । सायद मेरो कुरामा विश्वास गर्न सकेनन् । 

“द्वन्द्वपीडित हो भनी प्रमाण चाहिँदैन र ?” ठूल्ठूला आँखा बनाउदै व्यङ्ग्यमिश्रित स्वरमा सोधे । 

“निवेदनबाहेक केही चाहिँदैन । तपाईंका लागि द्वन्द्वपीडितको प्रमाण मै हुँ । तपाईं घाइते हुँदा, तपाईंले पानी माग्दा, पानीको लोटा बाटोमै छाडेर भाग्ने बच्चा अरु कोही थिएन, मै थिएँ । त्यसैले मै हुँ तपाईंका लागि द्वन्द्वपीडितको प्रमाण,” मैले भनें ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  ११:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement