site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिलखबन्दमा प्रचण्ड
SkywellSkywell

काठमाडौं । एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा पार्टी गठबन्धनले देशव्यापी जित दर्ता गर्दै थियो । तर, चुनावी परिणाम नआउँदै आशङ्काका बादल मडारिन थाल्यो । एमाले–माओवादी केन्द्रबीच पार्टी एकता हुने त कता हो कता, उनीहरूको गठबन्धनको भविष्यमाथि नै प्रश्नचिह्न खडा भइरहेको थियो । कतै एमाले मधेसवादी दलसँग सहकार्य गरेर माओवादी केन्द्रलाई ‘बाइपास’ त गर्ने होइन भन्ने आशङ्कालाई एमालेको विगतको चरित्रले बल पुर्‍याएको थियो ।

बहुमतको अतृप्त तृष्णामा रहेको नेकपा एमालेका लागि राजनीतिक सिद्धान्त, निष्ठा र इमान्दारिताभन्दा पनि सत्ताको ‘गणित’ नै प्रिय थियो । बहुमतको सरकारको नेतृत्व गर्न लालायित एमालेले जोसँग जुनसुकै बखत जेसुकै सम्झौता गर्न सक्थ्यो । र, त्यसैले माओवादी केन्द्र ऊसँग विश्वास र शङ्काको समदूरीमा थियो ।  त्यतिबेला पूर्वमाओवादी केन्द्रभित्र भयको सन्नाटा चिर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘पछाडि फर्कने पुल भत्काइसकेकाले’ एमालेसँग एकता अपरिहार्य रहेको जिकिर गरेका थिए । र, एकताको अविश्वासलाई दूर गरिदिएका थिए ।

“पुल भत्काइएन भने पछि फर्कन पनि सकिन्छ, त्यसैले पुल नै भत्काएर हामी अघि बढेका हौँ,” चितवनमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले यही तर्क गरेका थिए । प्रचण्डको अठोट ६ महिनामै पार्टी एकतामा बदलियो । एमाले, माओवादी केन्द्र आपसमा विलय भएर नेकपाको प्रादुर्भाव भयो । प्रचण्ड ओली बराबर हैसियतको अध्यक्ष बने ।

KFC Island Ad
NIC Asia

तर, एकताको तातो नसेलाउँदै उनी दोस्रो वरीयताको अध्यक्षमा खुम्चिए । अहिले भूमिकाका सङ्कुचन आउँदाआउँदा प्रचण्डको हैसियत सचिवालयका नेता सरहमात्रै रहेको चर्चा नेकपावृत्तमा हुन थालेको छ । एकताअघि राष्ट्रिय राजनीतिमा उनको जुन भूमिका हुन्थ्यो, जसरी मुलुकको समस्यामा प्रस्तुत हुन्थे, संसद्मा विचार राख्थे, सत्तारूढ दलको नेता हुनाले स्वाभाविक रूपमा त्यसमा कमी आउने नै भयो । तर पार्टीमा पनि अपेक्षित भूमिका खेल्न नसकेको टिप्पणी हुन थालेको छ ।

किन प्रचण्डको भूमिकामा सङ्कुचन पैदा भयो । यसको उत्तर विविध कोण र आयामबाट खोज्नुपर्ने पूर्वमाओवादी समूहका नेताहरू बताउँछन् । पार्टी एकताका दुई महत्त्वपूर्ण साझेदार हुन् ओली–प्रचण्ड । उनीहरूकै सम्झौताको अन्तिमरूप हो, नेकपा एकता । तर, पार्टी एकता गरेदेखि प्रचण्डको चिन्तन र कार्यशैलीमा बदलाव आएको उनीहरूको तर्क छ । 

Royal Enfield Island Ad

पार्टी एकता हुँदा भदौभित्रमा पार्टी एकताका सम्पूर्ण काम निचोडमा पु¥याउने भनिएको थियो । जनसङ्गठन र जिल्ला तहसम्म कार्यदल बनाएर एकता–एकीकरणको काम टुङ्ग्याउन मातहतका कमिटीलाई परिपत्र (अन्तरपार्टी निर्देशन) पनि गरिएको थियो । पार्टी एकताले गति नलिनुमा पूर्वएमालेको गुटगत मनोदशा कारण छँदै थियो । पूर्वमाओवादी केन्द्र, विशेषगरेर अध्यक्ष प्रचण्ड पनि सहायक बन्न थालेको आरोप ओली समूहले लगाउन थाल्यो । पूर्वमाओवादीका नेताहरूको बुझाइ पनि ओली समूहको आरोपसँग मिल्दोजुल्दो छ ।

२०७५ भदौदेखि नै सरकारलाई अस्थिर बनाउनेदेखि पार्टीभित्र पकड जमाउने खेलको सुरूआत भइसकेको ओली समूहको दाबी थियो ।

त्यसलाई पुष्टि गर्न उनीहरू भारत भ्रमण जानुअघिको परिघटना व्याख्या गर्छन् । २०७५ भदौ २० गते सम्पादकहरूलाई बोलाएर छिट्टै मन्त्रिपरिषद् पुनःगठन हुने बताएका थिए । भोलिपल्ट भारत प्रस्थान गरेका प्रचण्डले त्यहाँ गएर एकताअघिको गोप्य सहमति ‘खुलासा’ पनि गरे । ‘द प्रिन्ट’का लागि ज्योती मलहोत्रासँग कुरा गर्दै प्रचण्डले पहिलोपल्ट ओलीसँग आलोपालो सरकार चलाउने सहमति भएको बताएपछि नै दुई अध्यक्षबीच खटपट सुरु भएको कतिपय नेताको बुझाइ छ । नेपाल फर्किएलगत्तै ओलीले गोप्य सहमतिको खुलासाबारे प्रचण्डसँग असन्तुष्टि राखेका थिए ।

त्यसैको असर हुनसक्छ, प्रचण्ड झण्डै एकवर्ष मौन देखिए । सरकार सञ्चालनमा कैयन् असमझदारी रहेता पनि प्रतिरक्षा र बचाउमा प्रस्तुत भइ नै रहे ।  पार्टी एकताको वर्षदिन पूरा भएपछि भने प्रचण्ड पूर्वएमालेभित्रको छिद्रमा पसेर खेल्न थालेको माओवादी केन्द्र घटकका एक नेता भन्छन् ।

“पार्टी एकतामा जति ढिलाइ हुँदै गयो र एकीकरण प्रक्रिया तन्कँदै गयो, प्रचण्ड पूर्वएमालेभित्रको गुटमा त्यति नै सक्रिय हुन थाले । पूर्वएमालेभित्र जति दरार पैदा गर्न सकिन्छ, त्यति नै आफ्ना लागि ठाउँ निर्माण हुन्छ भन्ने चिन्तन उहाँमा देखियो,” उनको तर्क छ ।

ओलीविरूद्ध गठबन्धनको प्रादुर्भाव

पार्टी एकताका ‘नायक’ ओली–प्रचण्ड हुन् । दुई अध्यक्षको समझदारी र सहमतिको विस्तारित रूप नै पार्टी एकता भएकाले वैधता पनि उनीहरूसँगै छ । तर, एकता–एकीकरण र पार्टी सञ्चालनमा देखिएका अन्तरविरोधको समाधान प्रचण्डले दुई अध्यक्षभन्दा बाहिर खोज्न थाले । ओलीले पनि सरकार सञ्चालनका कतिपय नीतिगत र प्रक्रियागत निर्णयमा प्रचण्डलाई ‘स्पेस’ दिएनन् ।

“दुई अध्यक्षबीच असझमदारी देखिए पार्टी एकताको मूल म्यान्डेटमा जानुपर्थ्यो । एकताका बेला केपी ओलीसँग जे समझदारी भएको हो, त्यतैतिर फर्कनुपर्थ्यो,” पूर्वमाओवादी समूहका एक नेता भन्छन्, “अर्को महाधिवेशनसम्म प्रचण्ड र ओलीबीचको सहकार्य नै पार्टी एकताको निरन्तरता हो ।”

तर, प्रचण्डले ओलीसँगको सहकार्यलाई धरापमा पारेर पूर्वएमालेका अरू गुटसँग हातेमालो गर्न थालेको प्रचण्डकै सहधर्मी बताउँछन् । 

“यो बीचमा ओलीलाई लागेको हुँदो हो, प्रचण्डले मसँग सहकार्य गर्नुपर्थ्यो,” ती नेता विश्लेषण गर्छन्, “प्रचण्डलाई ओलीले ‘स्पेस’ दिएनन् । मसँग सल्लाह गरेनन्, म ठाउँ निर्माण गर्छु भन्ने लागेको होला । यही अन्तरविरोधले प्रचण्डको अध्यक्षको भूमिका क्रमशः कटौती हुँदै गयो । र, पार्टी निर्णयमा पनि ओली सर्वेसर्वा भए ।”
पार्टी र सरकार सञ्चालनमा एकलौटी गर्न थालेपछि प्रचण्डले अर्को उपाय पहिल्याए– पूर्वएमालेका गुटलाई मुद्दामा गाँस्ने र ओलीविरूद्धको घेरालाई कस्दै लैजाने ।

प्रदेश कमिटी गठनदेखि नै माधव नेपाल ओलीसँग असन्तुष्ट थिए । झलनाथ खनाल वरीयतामा घटुवामा परेकै थिए । असन्तुष्टहरूको समूहमा वामदेवलाई पनि मिसाएर गठबन्धनको जन्म दिए ।

२०७५ पुसतिर ललितपुरको एक अपार्टमेन्टमा भेला भएर ओलीविरूद्ध सङ्गठित रूपमा प्रस्तुत हुने निर्णय गरेका थिए । तर गठबन्धन प्रत्युत्पादक भएको प्रचण्डनिकटवर्ती केही नेताको निष्कर्ष छ । भन्छन्, “गठबन्धनले ओली कमजोर हुनुपर्ने, प्रचण्डचाहिँ कमजोर बने । ओलीसँगको समझदारीबाट टाढा बनाउँदै लग्यो । त्यसको घाटा प्रचण्डलाई नै हो ।”

तर पनि प्रचण्डले गठबन्धनलाई निरन्तरता दिइ नै रहे । ओलीले त्यही गठबन्धनभित्र खेलेर प्रभाव विस्तार नगरेका होइनन् । माधव नेपालको वरीयता खोसेर झलनाथको ‘पदोन्नति’ गरिदिए । विधानमा व्यवस्था नै नभएको उपाध्यक्ष पदमा वामदेव गौतमलाई प्रस्ताव गरे । तथापि, पाँच नेताको सहकार्य भत्काउन भने सकेनन् । न आफ्नो कार्यशैली, प्रवृत्तिगत चिन्तन नै सुधार्नतिर ध्यान दिए । परिणामतः २०७६ पुस २३ गतेसम्म आइपुग्दा अपार्टमेन्टको भेला भैंसेपाटी गठबन्धनको रूपमा विकास भयो ।

“पार्टीभित्रको अविश्वास र अस्थिरताको जड नै भैंसेपाटी गठबन्धन भएको छ । पूर्वमाओवादीभित्र यो कुराको समीक्षा भएको छ । दुई अध्यक्षको दरार भैंसेपाटी गठबन्धनले मेट्न सक्दैन भनेर विवेचना नभएको होइन,” प्रचण्डनिकटै मानिएका अर्का नेता भन्छन् ।

बाह्रखरीसँगको कुराकानीमा पूर्वमाओवादी केन्द्र समूहका एक नेता ओली–प्रचण्ड मिल्नुबाहेक अर्को वैधानिक व्यवस्था र कानुनी बाटो नै देख्दैनन् । अहिले जेजति समस्या सिर्जना भएका छन्, तिनको समाधान पहिल्याउनु छ, त्यो ओली–प्रचण्डको समझदारीले नै तय गर्ने उनको बुझाइ छ ।

“आमरूपमा पार्टीभित्र जे समस्या सिर्जना भएको । त्यसको समाधानका लागि हिजो पार्टी एकता हुँदा जे सहमति भएको हो, अथवा जुन सहमतिको जगमा पार्टी एकता भयो दुवैजना त्यहीँ पुग्नुपर्ने हुन्छ,” उनको तर्क छ ।

पार्टी विधानले एकता महाधिवेशन नै सहमतिका साथ गर्नु भनेकाले बहुमतीय खेलमा लाग्नुको कुनै तुक नरहेको उनको बुझाइ छ । उनले प्रचण्ड अहिले बहुमतमा हुँदाहुँदै पनि कमजोर देखिनुको कारण पनि अहिलेको सचिवालयको गणित लाई विधानले चिन्दै नचिनेको बताए । आफ्नो तर्कमा बलियोसँग उभिँदै उनी भन्छन्, “ओली र प्रचण्डबाहेक पार्टी एकताले अरूलाई चिन्दै चिन्दैन । पार्टी एकताको हस्ताक्षरकर्ता अध्यक्षद्वय नै हुन् । अतः एकले अर्कालाई हटाउन, पदविमुख तुल्याउन वा बर्खास्त गर्न मिल्दैन ।”

पार्टीभित्र उत्पन्न समस्याको निकासका लागि ओलीसँग मूल समझदारी र अरू नेताहरूबीच सह–समझदारी गरेर जानुपर्नेमा प्रचण्ड आफैँ पूर्ववर्ती सहमतिबाट ‘यु टर्न’ लिएको अधिकांशको बुझाइ छ । “असमझदारी कहाँबाट भयो भने प्रचण्डले वामदेव गौतमलाई प्रधानमन्त्रीसम्मको चारो फ्याँकिदिए । प्रधानमन्त्रीलाई हटाउनेसम्मको तयारी थाले । सहमति भत्किएकै हो भने पनि ओली प्रचण्ड बसेर नै मिलाउनुपर्थ्यो । अन्यत्र गएर गठबन्धन गर्नुको के अर्थ ?” एकजना नेता प्रश्न गर्छन् ।

पार्टी स्थायी कमिटी सदस्य मणिचन्द्र थापाको भिन्न तर्क छ । उनी अध्यक्ष प्रचण्डले विधान र एकताको सहमतिले दिएको कार्यादेश नै उपयोग गर्न नसकेको बताउँछन् । “प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गरिराख्नुभएको छ । प्रचण्डले पनि आफ्नो अधिकार प्रयोग गर्नुपर्थ्यो,” उनी पनि आफ्नो तर्कमा उभिन्छन्, “पार्टी र सरकारले सन्तुलित ढङ्गले काम गर्नुपर्छ भनेर यो भन्दा अघि नै दुईजना अध्यक्ष मिलेर निर्णय गर्नुभएको हो । नियत नै त न नभनौं, तर कामको व्यवस्थापन सही ढङ्गले भइरहेको छैन ।”

उनले स्थायी कमिटी, केन्द्रीय कमिटी बैठकले निरन्तरता नपाएको र आवधिक ढङ्गबाट नभइरहेकाले त्यस्तो समस्या सिर्जना भएको हुन सक्ने लख काट्छन् ।

पार्टीले, सचिवालयले निर्णय नै गरेर जिम्मेवारी दिएकाले प्रचण्ड उपयोग गर्ने दिशातिर अघि बढनुपर्ने उनको सुझाव छ । अर्का अध्यक्षले सरकारको नेतृत्व गरिराख्नुभएको छ । पार्टी अध्यक्ष प्रचण्डले पार्टी सञ्चालन गरे भइहाल्यो,” उनी सुझाव दिँदै भन्छन् “सरकार सञ्चालनमा केही असमझदारी आए ओलीले प्रचण्डसँग सल्लाह गर्दा हुन्छ । पार्टी सञ्चालनमा केही असमझदारी आए प्रचण्डले ओलीसँग सल्लाह गरेर हल गर्दा हुन्छ ।” 

यद्यपि, थापा पूर्वमाओवादी केन्द्रभित्र प्रचण्ड किन पार्टीको भूमिकामा देखिएनन् भनेर खोजी भने भइरहेको स्वीकार्छन् ।

पार्टी स्थायी कमिटी सदस्य हरिबोल गजुरेल पार्टी नै कोमामा गएकाले प्रचण्डको भूमिका खोज्नु व्यर्थ हुने बताउँछन् । प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गरिराखेले उनको भूमिका देखिए पनि अरू शीर्षस्थको भूमिका ओझेलमै रहेको जिकिर गर्छन् । “पार्टी नै चलेको छैन, पार्टी चलेको भए पो प्रचण्डको भूमिका देखिनु ! प्रचण्ड होइन, पार्टीका कसैको पनि भूमिका देखिएको छैन,” उनी भन्छन्, “सरकार चलेकाले प्रधानमन्त्रीको चर्चा भइरहेको होला ।”

मङ्सिर ४ गतेको सचिवालय बैठकले दुई जना अध्यक्षको जिम्मेवारीको साँधसीमा तोकेको थियो । भूमिका परिभाषित पनि गरेको थियो । पार्टी चलायमान नहुँदा ओलीको मात्र भूमिका देखिएको उनको तर्क छ । “प्रचण्डले खै कार्यकारी अध्यक्ष चलाउन पाएको हो । बैठक, छलफल, बहस भए पनि प्रचण्ड र अरू नेताको भूमिका देखिने खोजी हुने हुन्छ । स्थायी कमिटी बस्दैछ, त्यहाँ खोजी होला,” उनी धारणा प्रस्तुत गर्छन् ।

प्रचण्डप्रति गठबन्धनकै अविश्वास

रोचक कुरा त, प्रचण्डले गठबन्धनकै विश्वास जित्न सकेका छैनन् । प्रचण्ड–ओली मिल्नुपर्छ भन्नेमा पूर्वमाओवादी केन्द्र मात्रै होइन, ओली समूहभित्र पनि मत बलियो छ ।

वैशाख १७ को परिघटनापछि ओली पक्षले प्रचण्डसँगको संवादको वातावरण घनिभूत बनायो । त्यसो त ओली र माधव नेपाल समूहबीच अलग्गै वार्ता प्रयास नभएको होइन । अल्पमतबाट जोगिन प्रधानमन्त्री ओली पक्षले वैशाख १५ गते कोटेश्वरमा माधव नेपाललगायत नेतासँग छलफल गरेका थिए । यद्यपि, वार्ता निष्कर्षमा पुग्न सकेन ।

त्यतिबेला नेपाल पक्षलाई दुई मुख्यमन्त्रीसहित तेस्रो अध्यक्षको प्रस्ताव आएको थियो । दुईदिनपछि बसेको सचिवालय बैठकमा नेता नेपालले प्रस्ताव अस्वीकार गरिदिए । अर्को, भैंसेपाटी गठबन्धन निर्माणका हर्ताकर्ता उपाध्यक्ष वामदेव गौतमप्रति पनि गठबन्धनको अविश्वास छ । वामदेवले ‘खुट्टा टेकेको’ भए वैशाख २० ओलीको लागि बहिर्गमनको दिन हुन्थ्यो । तर वामदेव लकपकाए । ‘उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने’ प्रस्तावमा वामदेवले सहमत जनाएपछि ओलीको सम्भावित दशा टर्‍यो ।

ओलीको यसप्रकारको चलाखी गठबन्धनमा एकअर्काप्रति विश्वास कमजोर बन्दै गएको पार्टी निर्णयमा सार्थक हस्तक्षेप गर्न नसकेको प्रचण्डको निकटस्थको बुझाइ छ ।  प्रचण्डप्रति नेता नेपाल पनि विश्वस्त हुन सकिरहेका छैनन् ।ओलीको बहिर्गमनपछि गठबन्धनले नेता नेपाललाई प्रधानमन्त्री प्रस्ताव गरेको थियो । पार्टीभित्रको अन्तरसङ्घर्षलाई सत्ताच्यूतको तहसम्म पुर्‍याउन हुँदैन भन्ने निष्कर्षमा उनी पुगेको देखियो ।

त्यसका पनि केही वस्तुगत कारण रहेको नेपालनिकट नेताहरू बताउँछन् । २०४५ सालमा पार्टी नेतृत्वमा आएपछि अध्यक्ष प्रचण्डलाई निरन्तर सहयात्री फेर्न बानी परेको छ । ओलीपछि प्रहारको केन्द्र बन्न नेपाल चाहँदैनन् पनि । “३२ वर्षको अवधिमा मोहनविक्रम सिँह, मोहन वैद्य, निर्मल लामा, रूपलाल विश्वकर्मा, सीपी गजुरेल, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द ‘विप्लव’सम्मलाई पन्छाएको देखेर माधव नेपाल हच्किएका हुन्,” उनी निकटस्थ नेता बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ९, २०७७  २१:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro