site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘ख्वै, किताब पढे कि पढेनन् !’

काठमाडौं । गएको वैशाख ११ गते मकालु प्रकाशन गृहले कोरोना महामारीको चिनियाँ अनुभवहरू समेटिएको पुस्तक ‘साहस र दृढ संकल्पका कथाहरू : कोरोना भाइरसले बन्दी बनेको उहान’ प्रकाशन गरेको खबर दियो । चीनको विदेशी भाषा छापाखाना (फरेन ल्याङ्वेज प्रेस) ले प्रकाशनमा ल्याएको अंग्रेजी भाषाको सो पुस्तक नेपाली भाषामा अनुवाद गरी मकालु प्रकाशनले आमनेपाली पाठकहरूका लागि प्रकाशनमा ल्याएको थियो ।

 

तर चैत ११ देखि कोरोना महामारीको जोखिम नियन्त्रणका लागि नेपालमा लकडाउन (बन्दाबन्दी) सुरु भयो । त्यसैबीचमा नेपालीमा अनुवाद भएर प्रकाशनमा आएको त्यो पुस्तक पाठकहरूको हातहातमा पुग्न सकेन । चीनको उहानबाट उत्पन्न भाइरसको प्रकोप र यसको नियन्त्रणमा चीन सरकार र त्यहाँका जनताले गरेको निरन्तर प्रयत्न र उनीहरूले हासिल गरेको सफलता सो पुस्तकमा जीवन्तरूपमा प्रस्तुत गरिएको मकालु प्रकाशन गृहका प्रबन्ध निर्देशक वासुदेव ढकालको भनाइ छ ।

वासुदेव ढकालका अनुुसार मकालु प्रकाशनले विविध विषयमा पुस्तक प्रकाशन गर्दै आएको छ । सोही क्रममा प्रकाशनले चीनको इन्टरप्रेनर सिरिज भनेर चीनका सुप्रसिद्ध व्यवसायीहरूको जीवनी र तिनले सञ्चालन गरेका व्यवसाय अनि तिनका संस्थाका विषयमा लेखिएका किताबहरू पनि अनुवाद गर्दै आएको छ ।

उनका अनुसार चीनको ‘फरेन ल्याङ्वेज प्रेस’ लाई मकालु प्रकाशनले नेपालमा चीनबाट प्रकाशित विभिन्न किताबहरूको अनुवाद गरेर प्रकाशन गरिरहेको थाहा थियो । त्यसैले उक्त प्रेसले यो किताब अनुवादको कुरा अगाडि ल्याएको थियो । 

ढकालका अनुसार कोरोना उपचारको पद्धतिको महत्त्वपूर्ण कडी लकडाउन भएकाले उहानमा त्यसबेला लकडाउन सुरु भएको थियो । त्यसपछि मात्रै त्यहाँ रोग कसरी आयो, कसरी त्यसको निक्र्योल गरियो, कसरी उपचार गरियो, उपचारका लागि महत्त्वपूर्ण आधार के–के थियो भन्ने विषय, त्यहाँको सरकार, सुरक्षाकर्मी, डाक्टर, नर्स, अस्पताल र पत्रकारले कसरी काम गरे भन्ने विषयमा साना–साना कुरा पनि लेखिँदै गयो । र पुस्तकको रूप लिएको थियो ।

मकालु प्रकाशनका प्रबन्ध निर्देशक वासुदेव ढकाल भन्छन्, “भोलिका दिनमा हामीलाई यी सारा कुराहरूमा अलमल नहोस् भनेरै होला, फरेन ल्याङ्वेज प्रेसले मसँग पुस्तकको नेपालीमा अनुवादको कुरा उठायो । त्यतिबेला यृुरोप र अमेरिकामा पनि कोरोना भाइरस फैलिसकेको थियो । नेपालमा पनि कसैकसैमा यो लक्षण देखिन सुरु भइसकेको थियो ।”

ढकाललाई पनि लाग्यो यो किताबको नेपाली अनुवाद नेपालीहरूका लागि सहयोगी हुनसक्छ । त्यसैले उनले दायाँबायाँ केही नहेरी किताब अनुवाद गरेर प्रकाशित गर्ने निर्णय गरे । र चीनको प्रकाशनलाई जानकारी गराए । 

उनका अनुसार किताब नेपाली भाषामा आए त्यसले नेपालका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नीति निर्मातालगायत आमनागरिकलाई कोरोना भाइरसबारे बुझ्न, सतर्क हुन र बाँच्न सजिलो हुन्छ । यही सोचले उनलाई यो काममा लाग्न उत्प्रेरित ग¥यो ।

तत्कालै ढकालले चीनबाट प्रकाशित अंग्रेजी भाषाको किताबको नेपालीमा प्रकाशनको सम्झौता गरे । नेपालसँगै अरू पनि १५ वटा देशमा त्यो किताबको अनुवाद हुने सम्झौता भएको ढकाल बताउँछन् । 

चीनबाट किताबको सफ्ट कपी आयो । त्यो आउनासाथ उनले तत्काल किताबका लागि अनुवादक तोकिएका डा. विमलकुमार सुवेदीलाई फरवार्ड गरे र तत्काल काम गर्नुपर्ने बताए । किताबका अनुवादक डा. विमलकुमारले पनि डकुमेन्ट पाउनासाथ नेपालीमा अनुवाद गर्न थाले ।

“यसरी १८ घण्टे काम सुरु भयो अनुवादक विमलको । र म पनि त्यसका लागि अरू व्यवस्थाका लागि खटिएँ,” वासुदेव भन्छन् । ढकालका अनुसार पुस्तकको युद्धस्तरमा अनुवाद हुँदै गयो । अनुवाद भएर आएका जति पृष्ठहरूको भाषा सम्पादन तथा प्रुफ हेर्ने कामले तीव्रता लियो । र लकडाउनकै बीचमा अनुवादको काम सकियो ।

ढकाल भन्छन्, “तर लकडाउनले सर्वत्र आवतजावत बन्द थियो ! म विशेष अनुरोध गर्दै प्रेस चलाउने मेसिन म्यानदेखि आवश्यक सबै जनशक्तिको बन्दोबस्त मिलाउनमा खटिएँ । कागजको व्यवस्थाका लागि विक्रेतासँग सम्पर्क गरेर कागज ल्याएँ । वास्तवमा यो किताब धेरैका लागि महत्त्वपूर्ण सामग्री हुन्छ भनेर नै मैले यो कामलाई गति दिएको थिएँ ।” 

अन्ततः लकडाउनकै बीचमा यो किताब छापियो । तर, लकडाउनले गर्दा आमपाठकहरूको हातहातमा भने किताब पु¥याउन सक्ने अवस्था रहेन । किनभने पत्रपत्रिका पसल बन्द थियो । यातायात बन्द थियो । सबै कुरा बन्द–बन्द थियो । त्यही बन्दमा पनि कोरोना भाइरसका बारेमा व्यापक जानकारी किताबमा समेटिएको थियो । किताबमा साना–साना कुराहरू पनि उल्लेख भएको मकालुका प्रबन्ध निर्देशक ढकाल बताउँछन् । त्यसैले पनि यो किताब सबैका लागि महत्त्वपूर्ण रहेको उनको ठहर छ ।

तर लकडाउनका कारण आफूहरूले सबैको हातमा किताब पुर्‍याउन नसकेकामा दुःखी छन् उनी । कोरोना महामारीको यो समयमा यस किताबले महत्त्वपूर्ण भूमिका खेल्ने थियो ।  तर लकडाउनको अवस्थामा पनि मुलुक व्यवस्थापनको जिम्मा लिएकाहरूको हातहातमा उक्त किताब आफूहरूले पुर्‍याउने काम गरेको ढकाल बताउँछन् । उनका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्यमन्त्री, अन्य मन्त्रीहरू, स्वास्थ्य मन्त्रालयका डीजीदेखि नीति निर्माताहरूको हातहातमा किताब पुर्‍याइएको छ । 

प्रबन्ध निर्देशक ढकाल भन्छन्, “तर त्यो किताब कसैले पढे कि पढेनन् ? त्यसबाट तिनले के अनुभव गरे ? के सिके ? तिनलाई उक्त पुस्तकमा उल्लेखित अनुभवहरूले कोरोना नियन्त्रणका लागि सहयोग गर्‍यो कि गरेन ? भन्ने विषयमा भने थाहा हुन सकेन । ख्वै, त्यसको लक्षण पनि देखिएको छैन !”

ढकालका अनुसार यदि त्यो किताब सरोकारवालाहरूले पढिदिएको भए हरेक क्षेत्रमा धेरै सहयोग पुग्ने उनको भनाइ छ । किताबमा मसिना–मसिना कुराहरू पनि उल्लेख भएकाले त्यसले धेरैलाई मार्गनिर्देश गर्ने उनी बताउँछन् ।

ढकाल भन्छन्, “यहाँ त खाली लकडाउन थपिएको थपिएकै मात्र छ । यस्ता विषयमा पनि त्यो पुस्तक मद्दतगार हुनसक्थ्यो । मलाई लाग्छ तिनले किताब पढेको भए धेरै गर्न सक्थे । कोरोना कन्ट्रोलमा राम्रो र उल्लेख्य काम हुनसक्थ्यो । वास्तवमा यो किताब गुरुमन्त्र हुनसक्थ्यो धेरैका लागि । यो किताबले कोरोना नियन्त्रणका विषयमा धेरै ज्ञान दिन्छ ।” ढकालका अनुसार अहिले यो पुस्तक अनलाइन किन्न र पढ्न पाउने व्यवस्था मिलाइएको छ । त्यसका लागि पाठकले मकालु प्रकाशन गृहको वेबसाइटमा गएर बुझ्न सक्ने उनी बताउँछन् । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro