site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गणतन्त्र दिवस, जातीय विभेद र हत्या

बन्दाबन्दी (लकडाउन)मा शरीर घरभित्र बन्द छ तर मन उद्वेलित छ । बाहिर निस्किएर चिच्याउन मन लागिरहेको छ । चिच्याउने विषय गणतन्त्र – जिन्दाबाद हुनुपर्ने हो तर त्यस्तो छैन ।

मलर सदाको ज्यान किन गयो ?

सूर्यबहादुर तामाङको ज्यान किन गयो ? 

Prabhu Bank
Agni Group
NIC Asia

नवराज विक र उनका साथीहरुको ज्यान किन गयो ? 

प्रश्नहरु सोधेर चिच्याउने मन छ । तर प्रश्न सोध्नै वर्जित छ । प्रश्नै प्रश्न सोधेर जबाफ दिन नसकेपछि ढलेको हो पुरानो व्यवस्था । त्यही प्रश्नै प्रश्न सोधेर ल्याएको व्यवस्थामा प्रश्न गर्ने अधिकार हरण गरिएको भान हुन्छ बेला बेलामा । 

Global Ime bank

विसं २०७७ साल जेठ ६ गते मंगलबार सप्तरी कञ्चनरुप नगरपालिकाका मलर सदा मुसहरको ज्यान गयो । उनको घरमा चार दिनदेखि चुलो बलेको थिएन । खानाको जोहो गर्न कोदालो बोकेर हिँडेका मलर भोकले रन्थनिएर बाटामै ढले र ज्यान गयो । 

जेठ ११ गते अर्को समाचार आयो – धादिङका सूर्यबहादुर तामाङको । उनी काठमाठांैको कीर्तिपुरमा भारी बोक्ने काम गर्थे । लकडाउनले कामविहीन भएका उनी हातमा नाम्लो बोकेकै अवस्थामा सडकमा मृत भेटिए । यसको भोलिपल्ट, जेठ १२ गते प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन आयो । सम्बोधनको सुरुमै प्रधानमन्त्रीले –“कुनै मानवीय क्षति नहोस् भन्ने हाम्रो अथक प्रयासका बाबजुद यसबीचमा नेपालभित्र हाम्रा तीनजना नागरिकको दुःखद निधन भएको छ । उहाँहरु सहित कोरोना भाइरसद्वारा स्वदेश तथा विदेशमा भएको मानवीय क्षतिप्रती दुःख व्यक्त गर्दछु र शोकाकुल परिवारजनमा म गहिरो समवेदना व्यक्त गर्दछु” भने ।

खुसीलाग्यो प्रधानमन्त्रीको संवेदनशीलतामा । मृतक तथा मृतकका परिवारलाई सम्झे र समवेदना व्यक्त गरे । आशा पनि जाग्यो अब प्रधानमन्त्रीले मलर सदा र सूर्यबहादुर तामाङको मृत्युमा पनि दुःख र समवेदना व्यक्त गर्नेछन् । प्रधानमन्त्रीको सम्बोधन शब्द शब्द ध्यान दिएर सुन्न थालेँ । सम्बोधन अगाडि बढ्दै गयो तर मलर सदा र सूर्यबहादुरको नाम आएन । सम्बोधनको बीचमा प्रधानमन्त्रीले भने – “रोग वा भोक केहीबाट पनि हाम्रा देशबासीको जीवन जोखिममा पर्न नदिन सरकार हदैसम्म प्रयत्नशील रहन्छ ।”

यो सुनेपछि भने लाग्यो अब प्रधानमन्त्रीले मलर र सूर्यबहादुरको मृत्युमा समवेदना व्यक्त गर्ने छैनन् । किनभने उनी त रोग वा भोकले मानिस मर्न नदिन हदैसम्म प्रयत्नशील छन् ।

किन त्यसो भयो होला यसो सोचेँ । पहिलो उनले दिने जवाफ – मलाई त तिनीहरु मरेको थाहै थिएन । दोस्रो, मरे पनि कालगतिले होलान् जस्तो लाग्यो भोकले हो भनेर कसैले भनेन । तेस्रो, समाचारमा पढेको त हो तर हाम्रा मिडियाले कुरा बढाइचढाई गर्छन् । चौथो, हो भने पनि हाम्रा संघ, प्रदेश र स्थानीय तीन तीन तहका सरकारले थाहै नपाई मिडियाले कसरी थाहा पाए ? 

तैपनि, लाग्यो रोग वा भोक केहीबाट देशबासीको जीवन जोखिममा पर्न नदिन सरकार हदैसम्म प्रयत्नशील छ भनेर आफैँले भनेपछि प्रधानमन्त्रीलाई भोकले मान्छे मर्छन् भन्ने नै लाग्दैन । तर, तीतो सत्य के हो भने गणतन्त्रको १२ औं वर्षमा मलर र सूर्यबहादुर भोकले नै मरेका थिए । 

जेठ १० गते शनिबार पश्चिम रुकुमको चौरजहारीमा निकै डरलाग्दो र त्रासद घटना भयो । मानव सभ्यतालाई नै लज्जित बनाउने त्यस घटनामा फरक जातसँग प्रेम र विवाहको प्रसंगलाई लिएर बर्बरतापूर्वक लखेटीलखेटी नृशंस हत्या गरिएको खबर बाहिरिएको छ । चारजनाको ज्यान गएको र दुईजना अझै बेपत्ता रहेको सो घटनामा दस जनाभन्दा बढी घाइते भएका छन् । 

मल्ल ठकुरीकी छोरी र विश्वकर्माको छोराबीच प्रेम भएको तथा केटा र केटीको सल्लाहबमोजिम केटा पक्ष केटीको गाउँ पुगेको थियो । दुवैबीचको प्रेम प्रसंग थाहापाएको केटी पक्षले जातको कारण देखाउँदै पहिल्यैदेखि सम्बन्धको विरोध गर्दै आएको थियो । शनिबार पनि केटाहरुको समूह पुगेपछि केटीकी आमाले गालीगलौज गर्दै लखेटिन् । त्यसपछि सम्भावित दुर्घटनाको शंकामा केटाहरु फर्किँदै थिए । उनीहरु फर्किरहेका बेला नियोजितरुपमा केटीका बाबु र उनका पक्षका गाउँलेले घेरा हालेर आँसी, बन्चरोसहित ढुंगामुढा गर्दै खेदाएको र निर्घात कुटपिट गरेको, कतिले ज्यान बचाउन भेरी नदीमा हामफालेको तथा कतिलाई कुटपिट गरी भेरी नदीमा फालिदिएको प्रत्यक्षदर्शीले बताएका छन् । केटा पक्षको दाबीअनुसार नवराजलाई भने कुटपिट गरेर मारेर भेरीमा फालिएको थियो । सुन्दै पनि आङ सिरिङ्ग हुने यस घटनाको सर्वत्र भत्र्सना भइरहेको छ । घटनाको दुई दिनपछि प्रधानमन्त्रीको सम्बोधन आएकाले जातीय विभेदविरुद्ध तथा यी मृतकहरुप्रति समवेदना आउँछ कि भनेर आशा लाग्नु स्वाभाविकै हो ।

कथित तल्लो र माथ्लो जात, जातीय विभेद, छुत र अछुत जस्ता अमानवीय तर्क गर्दै प्रेम र विवाह गर्न खोज्नेलाई कानुनी बाटो छाडेर कुटपिट गर्नु, मरणासन्न भएपछि खोलामा फाल्नु र मार्नु अमानवीय अपराध हो । घटनाको सडकदेखि सदनसम्म, सत्तापक्ष विपक्ष सबैले भत्र्सना गरिरहेका छन् भने निष्पक्ष छानबिन र दोषी माथि कानुनबमोजिम सजायको माग गरेका छन् । नेपालमा आजभन्दा झन्डै ६० वर्ष अगाडि नै मुलुकी ऐन, २०२० ले जातीय छुवाछुत प्रथालाई दण्डनीय घोषणा गरिसकेको छ । यसैगरी १४ वर्ष अगाडि नेपाल जातीय भेदभाव तथा छुवाछुत मुक्त राष्ट्र घोषणा भइसकेको छ ।

तर, संसद्मा यो विषयमा कुरा उठ्दा सांसदहरुबीच नै आरोपप्रत्यारोप चल्यो । संसद्को दबाबपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले घटनाको जानकारी दिए भने सहसचिव स्तरीय छानबिन समिति बनाए । 

छानबिन समिति कस्ता हुन्छन् र यिनले के गर्छन् हाम्रोमा बग्रेल्ती दृष्टान्त छन् । पछिल्लो निर्मला पन्त बलात्कार अनि हत्या प्रकरणमै हेरौँ । कतिवटा छानबिन समिति गठन भए र परिणाम के छ ? राज्यले घटनाहरुको ठीकसँग छानबिन गरी दोषीलाई सजाय नदिँदा यस्ता छानबिन समितिप्रति जनमानसमा विश्वास देखिँदैन । 

राज्यको संविधान, कानुन, नीति तथा घोषणा र राज्यले अनुमोदन गरेका सन्धि महासन्धिले जातीय छुवाछुत दण्डनीय बनाइसकेको अवस्थामा थप छानबिन गर्न राज्यका सुरक्षा संयन्त्र नै सक्षम छन् । सुरक्षा निकायलाई राजनीतिक दबाब नदिने र उसले निष्पक्ष छानबिन गर्ने हो भने दोषीले सजाय पाउने निश्चित हुन्छ । 

घटनामा केही कुराहरु अकाट्य छन् – पहिलो, केटा र केटीबीच प्रेम भएको । केटीपक्षले अस्वीकार गरेको । उनीहरुले समूहनै बनाएर कुटपिट गरी मरणासन्न बनाएको वा उनीहरुको कुटपिटबाट नै नवराजलगायत चारै जनाको ज्यान गएकोे । तर, केटाको जात र प्रेम अस्वीकार्य भए प्रमाणसहित अदालतमा पेस गर्ने र न्याय पाउने बाटो हुँदाहुँदै किन केटीपक्ष कुटपिटमा ओर्लियो र अमानवीय हत्यासम्म पुग्यो ? यो मानवीय र सामाजिक चेतनाको प्रश्न हो । जसको जबाफ हुन्छ – यी भुइँमान्छेहरुलाई त हामी आज पनि ह्याकुलाले थिचेर मारी दिन्छौँ भन्ने जातीय अहंकार तथा विभेद । घटनामा अर्को एउटा अकाट्य प्रश्न पनि छ – त्यत्रो ठूलो घटना त्यति लामो समयसम्म भइँरहदा स्थानीय सुरक्षा निकाय के गरिरहेका थिए ?

संसद्मा घटनाको राजनीतिकरणको विषयलाई लिए हंगामा भयो । राजनीतिक नेतृत्व तथा सुरक्षा संयन्त्र घटना र हत्याविरुद्धमा एकमत हुनुपर्ने हुन्छ । किनभने जे जे तर्क गरेपनि मानव हत्या स्वीकार्य हुँदैन । भोलि अदालतबाट ठहरेबमोजिम हुनेगरी घटनाको निष्पक्ष छानबिनमा उनीहरु लाग्नु नै पर्नेहुन्छ । तर घटनालाई राजनीतिक जोडघटाउको विषय बनाई लाभ लिन खोज्ने हो भने जातीय भेदभाव र छुवाछुत तथा मानवताविरुद्धको अपराधलाई ठीक हो भनी स्वीकार गरेको ठहरिन्छ । एउटै घटनाका विषयमा सांसदपिच्छे फरक फरक तथ्य प्रस्तुत हुनु यसकै उदाहरण हो । यसकारण एकातिर यो घटना राजनीतिक जोडघटाउको विषय बन्ने शंका छ भने अर्कोतर्फ फौजदारी अपराध संहिताअन्तर्गत मुद्दा चल्न सक्ने र सजाय गर्न सकिने विषयमा सदनदेखि सडकसम्म तात्नु राज्य र राज्य संयन्त्रप्रतिको अविश्वास नै कारण हो । 

पटक पटकको राजनीतिक आन्दोलन र विद्रोहपछि जातीय छुवाछुतको उग्रविरोध गरेको नेतृत्व सत्ता र संसद्मा हुँदासमेत देशमा फेरि जातपातका नाममा नरसंहार हुन्छ र त्यसलाई दण्डित गर्न राज्य हिच्किचाउँछ भने परिवर्तन र त्यसको नेतृत्वकारीमाथि नै प्रश्न उठ्नेछ । ती आन्दोलन र विद्रोहमा अग्रमोर्चामा रहेका शोषित, पीडित, दलितले विगतको व्यवस्थाले यस्तै भेदभाव गरेकाले सत्ताविरुद्ध आवाज बुलन्द पारेको तीतो यथार्थ अहिले पनि बिर्सन मिल्दैन ।

सामाजिक चेतना पूर्णरुपमा जागृत नभएसम्म राज्यले चेतना अभिवृद्धिमा लागिरहनु पर्ने हुन्छ भने त्यसबीचको संक्रमणकालीन समयमा हुने घटनामा कानुनको कठोर पालना गरी दण्डित गर्नुपर्ने हुन्छ । त्यसैले अहिलेको आवश्यकता निष्पक्ष छानबिन, दोषीलाई दण्ड तथा पीडितलाई न्याय नै हो । तत्कालीन आवश्यकता निष्पक्ष छानबिन र दण्ड भएजस्तै दीर्घकालीन आवश्यकता चेतना अभिवृद्धि नै हो । तर, जब यही कामका लागि नेतृत्व पाएका जनप्रतिनिधी, मन्त्री, प्रशासक तथा प्रहरीमाथि नै प्रश्न उठ्छ तब विश्वास धर्मराउँछ । चौरजहारी घटनामा वडा अध्यक्ष नै सामेल हुनु र सांसद तथा मन्त्रीले जोडघटाउका आधारमा धारणा बनाउनु यसकै उपज हो ।

देशले १२ औं गणतन्त्र दिवस मनाइरहँदा  एकपटक फेरि प्रश्न उठेको छ – के नेपाल अझै जातीय विभेद र छुवाछुतको युगमा छ ? के नेपालमा अझै पनि कथित तत्लो र माथ्लो जात भनेर हेप्ने र पाए ज्यानसम्म लिने बर्बर प्रणाली कायमै छ ? यसकारण गणतन्त्रप्रतिको जनविश्वास बढाउन पनि नवराज विक र उनका साथीहरुका हत्यारालाई कारवाही गरेर कानुनको शासनमा सबै समान हुन्छन् र अब नेपालमा जातीय विभेद छैन भनेर व्यवहारमा प्रमाणित गर्नु जरुरी छ ।

अन्त्यमा, लकडाउनले शरीर बन्दी भएको त अहिलेमात्रै हो । एउटा सिंगै जातीय समुदाय लकडाउनमा रहेको युग बितिसकेको छ । यही युगको अन्त्यका लागि पटक पटक राजनीतिक आन्दोलन भयो र सत्तापलट  भयो । सत्तापलट भएपछि आएको नयाँ सत्ताले पनि पुरानैको रवैया अपनाएमा उद्वेलित मनहरु चिच्याउने छन्, बाहिर निस्कनेछन् । त्यतिबेला माइतीघरमा चिच्याएर केही हुँदैन भन्नेहरुले ह्दयंगम गर्नुपर्छ त्यही माइतीघरमा चिच्याएर सुरु भएको आन्दोलनले नै उनीहरुलाई सत्तामा पुर्‍याएको हो ।

गणतन्त्र दिवसमा रोग, भोक र अन्यायमा परेर मारिएका सबैप्रति प्रधानमन्त्रीको समवेदना आओस् ।
 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय