नेपाल जब जब अन्तरिक मामिलामा फसेको हुन्छ, दक्षिणको छिमेकी भारत संस्थापन पक्षलाई प्रस्ताव पठाउँछ – ‘‘विदेश मामिला र सुरक्षाको अधिकार हामीलाई दिए हामी तपाईँ वा तपार्इँको संस्थालाई स्थापित गराई दिन्छौँ ।’’ विगतमा बीपी, राजा वीरेन्द्र, गिरिजाप्रसाद कोइराला र अन्तिम राजा ज्ञानेन्द्रलाई समेत भारतबाट यस्तै प्रस्ताव आएको थियो । यो आलेख २०६२ ÷०६३ को जनआन्दोलनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भारतले कति दुःख दिएको थियो भन्ने विषयमा केन्द्रित छ ।
जनआन्दोलनको सफलतापछि पाचौँ कार्यकालका लागि प्रधानमन्त्री बनेका कोइराला तिनताका भन्ने गर्थे – ‘‘यार भारतीयहरुले मलाई चाहिने नचाहिने काम गराउन खोजेका छन्, म गर्नेवाला होइन ।’’
पुनःस्थापित प्रतिनिधिसभाको घोषणाबाट राजतन्त्र निलम्वन गर्ने, क्रमशः राजालाई कमजोर बनाउँदै संविधासभा र गणतन्त्रतर्फको यात्रा तय गर्ने रणनीतिमा दलहरु अघि बढिरहेका थिए ।
दरवारको अधीनमा रहेको शाही नेपाली सेनालाई नागरिक सरकारको मातहतमा ल्याई राजालाई कमजोर बनाउने अभियानको नेतृत्व उमेरले पचासी लागेका वृद्ध प्रधानमन्त्री कोइरालाले गरिरहेका थिए । अक्सिजनको सहाराले बालुवाटारबाटै शासन सत्ता चलाइरहेका प्रधानमन्त्रीले एक दिन आफ्नो ‘किचन क्याबिनेट’का सदस्य आमोदप्रसाद उपाध्यायलाई बेलाएर भने – ‘‘यार इन्डियनहरूले मबाट धेरै चाहिने नचाहिने काम गराउन खोजेका छन् बुझ्यौ । तर, म कुनै हालतमा उनीहरुको दबाब मान्नेवाला होइन ।’ पूर्वमन्त्री उपाध्यायले लेखकलाई सुनाए – ‘‘उनीहरुले के काम गराउन खोजेका छन् त्यो चाहिँ भन्नु भएन ।’’
तिनै ताकाको कुरा हो विराटनगरस्थित निवासमा लेखकलाई दिएको अन्तवार्तामा प्रधानमन्त्री कोइरालाले भनेका थिए – ‘‘आई विल नट कम्प्रोमाइज विथ एनी कन्ट्री, एनी पर्सन फर द सेक अफ डेमोक्रेसी एन्ड सोभरेन्टी ।’’
राजनीतिक दलहरु राजाका एक एक अधिकार कटौती गरेर बाघलाई खोरमा हाल्नुपर्छ भन्ने रणनीतिका साथ अघि बढ्दै थिए । कोइराला सरकारमा उपप्रधानमन्त्री रहेका हालका गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले २०६८ साल असार १८ गते लेखकलाई सुनाए – ‘एक दिन मलाई एक्लै बोलाउनुभयो । बालुवाटारमा हामी दुई जनामात्र २ घन्टा बस्यौँ । भारतबाट गिरिजाबाबुलाई ठूलो दबाब आयो । करिब करिब भुटानीकरणको प्रस्ताव आयो । हरेक कुरा भारतसँग सोधेर गर्नुस् । एक्लै सबै निर्णय गर्ने होइन भन्ने दबाब थियो । गिरिजाबाबुले मसँग भन्नुभएको थियो भूटानीकरणको रुपमा हो, लक्ष्य चाहिँ सिक्किमीकरण हो, अमिकजी ।’’
जस्तोसुकै कठिन अवस्थामा समेत प्रतिक्रिया दिन नचाहने तर ‘एक्सन’बाटै जवाफ दिने कोइरालाले शेरचनसँग भनेका थिए – ‘‘यो कुरा बाहिर ल्याउनुपर्छ, आफैँ भनौ भने मेरो स्तरले पनि दिएन । त्यसैले तपाइँ केही गर्नुस् ।’’
भारतीय दबाबका बारेमा उनी आफ्नै मन्त्रिपरिषद्का सदस्यसँग खुलेर कुरा गर्न सक्दैनथे । सूचना ‘लिक’ हुने डरले । शेरचनले सम्झिए – ‘‘भारतीयहरुलाई गिरिजाबाबुले भन्नुभयो म यो पक्षमा जादैन । यो सार्वभौम नेपाल हो । नेपालको हित र नेपाली जनताको चाहनाअनुरुप काम गर्छु । नेपालको समस्या हल गर्न हामी नेपाली सक्षम छाैँ, मलाई दबाब नदेऊ भनेर ठाडो ठाडो जवाफ दिनु हुन्थ्यो । अनी भारतीयहरुलाई लाग्यो गिरिजाप्रसादलाई सकिँदैन । जवाहरलाल नेहरुका समकालीन भएका कारण पनि उनीहरुले कोइरालालाई जवाफ दिन सकेनन् ।’’
भारतीय प्रस्ताव नमानेका कारण अन्तिम समयमा कोइरालालाई राष्ट्रपति बन्न दिइएन । यद्यपि, संविधानसभा चुनावअघि कोइराला राष्ट्रपति र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भन्ने मौखिक सहमति सात दल र माओवादीबीच भएको थियो । शेरचनले सम्झिए ‘‘त्यो कुरा बाहिर गयो । सहमतीय प्रणाली नटुटोस्, आगामी राष्ट्रपति गिरिजाबाबु बन्नुपर्छ भनेर ‘प्रचण्ड’ले नै प्रस्ताव गरेका हुन् । तर, पछि उहाँलाई राष्ट्रपति हुन नदिने शक्ति पनि भारत नै हो । उसले माओवादी र कांग्रेसभित्र खेलेर गिरिजाबाबुलाई राष्ट्रपति बन्न दिएन । मैले अन्तिम समयमा भनेको थिएँ । तपाईँ जित्नुहुन्छ गिरिजाबाबु उठनुस् । तर उहाँले म यो विवादमा पर्दैन अमीक जी भन्नुभयो ।’’
भारतमा मर्ने इच्छा थिएन
प्रधानमन्त्री हुँदै कोइरालाले उपप्रधान तथा स्वास्थ्यमन्त्री शेरचनलाई भनेका थिए – ‘‘अमीक जी मेरो स्वास्थ्य खराब छ जुन बेला जे पनि हुनसक्छ । मलाई अन्तिम समयमा पार्टीका साथीहरुले भारतमा उपचार गर्न लैजाने भनेर मार्न सक्छन् । म भारत हैन, नेपालमै मर्न चाहन्छु । आत्मालाई यस्तो लागेको छ । मेरो अन्तिम अवस्थामा मात्र यो कुरा मेरा साथीहरुलाई भनिदिनु होला । तपाईलाई विश्वास लागेरमात्र भनेको हुँ । कसैलाई नभन्नु होला ।’’ कोइरालासँगको त्यो संवादलाई शेरचनले लामो समयसम्म आफैँमा सीमित राखे । जीवनका अन्तिम दिनहरुमा कोइराला गंगालाल अस्पतालमा भर्ना भएर बोल्न नसक्ने अवस्था पुगेपछि मात्र शेरचनले यो रहस्य खोले ।
ती दिनहरू स्मरण गर्दै शेरचनले लेखकसँग भनेका छन् – ‘‘म अस्पतालमा भेट्न जाँदा उहाँलाई उपचारका लागि भारत लैजाने तयारी हुँदै थियो । मैले उहा“को अनुमति लिएँ, गिरिजाबाबु अब तपाइँको अन्तिम इच्छा बारे सार्वजनिक गरे हुन्छ भन्दा उहाँले टाउको हल्लाउनु भयो । अनि मैले सुशील कोइरालालगायत कांग्रेसका नेताहरुलाई उहाँको अन्तिम इच्छाबारे बताउँदै भने गिरिजाबाबुलाई भारत लिएर नजानु होला । न पत्याए उहाँलाई नै सोध्नुस् ।’
त्यो बेला सुशीलले भने – ‘‘हामी त दिल्ली लैजाने तयारीमा पो थियाैँ त ।’’ महाराजगन्जमा बस्दै आएका कोइरालाको अन्तिम इच्छा थाहा पाएपछि परिवारका सदस्य र पार्टी नेताहरुले अस्पतालबाट उनलाई सिधै छोरी सुजाताको निवास मन्डिखाटार लगे । जतिसुकै कमजोर हुँदा पनि आफैँ हिँडेर जाने र कहिल्यै आफूलाई कमजोर देखाउन नचाहने कोइराला पहिलो पटक त्यही दिन ह्विल चेयरमा देखिएका थिए ।
यस प्रसंगमा कोइरालाका भतिजा डा. शेखर कोइरालाले २०७२ साल वैशाख २९ गते लेखकलाई सुनाए – ‘‘सानो बुबा सिरियस हुनुहुन्थ्यो । सुशील दा, कृष्ण सिटौला, म थियाैँ । एयर एम्बुलेन्समा भारत लगाैँ भन्ने कुरा भयो । सुजाता (तत्कालीन उपप्रधानमन्त्री, एवं कोइराला पुत्री) देश बाहिर थिइन् । भारतमै लैजाने कुरा भयो । सानोबुबाले म जान्न भन्नुभयो । तैपनि हामी तीनै जनाले जानु पर्छ भन्यौ । हामीले दबाब दियौँ ।
त्यतिबेला भारतीय राजदूत दिल्ली गएका थिए । दूतावासमा दोस्रो व्यक्ति आलोक सिन्हालाई डा. शेखरले फोन गरेर भने –‘‘गिरिजाबाबु सिरियस हुनुहुन्छ । एयर एम्बुलेन्सबाट दिल्ली लैजाने प्रक्रिया मिलाउनु पर्यो । तपाईको सहयोग चाहियो,’’ सिन्हाले भने –‘‘डाक्टर साहब हमको मालुम है गिरिजाबाब सिरिएस हैँ । आपलोग प्रेसर कर रहे है उनको इन्डिया जानेके लिए । ले किन वह जायेंगे नही । फिर भी हम लोग लगे हुये हैँ ले जाने के लिए । हमको एक चिठी भेज दिजिए । एम्बेसी की तरफ से हम प्रयास करेंगे ।’’
कोइरालाको स्वास्थ्य दिन प्रतिदिन कमजोर हुँदै थियो । सास हुँदासम्म आशा । डा. शेखरले सम्झिए – ‘‘हामीले सुशील दालाई लेख्नुस् न पत्र लैजाऊँ भन्यौ । उहा“ले मान्नु भएन । कहा“ चिठी लेख्ने ? भने भैहाल्यो नि भन्न थाल्नुभयो । हामीले कर गरेपछि बल्ल लेख्नु भयो । फ्याक्सबाट पठायौँ । त्यसपछि मैले फेरि सिन्हालाई फोन गरेँ । उनले भने – चिठी मिल गया । लेकिन हम स्यौर है, फिर भी गिरिजाबाबु नहीँ जायेंगे । नभन्दै अन्तिम समयमा सानोबुबा भारत जान मान्नु भएन ।’’
यसरी पूर्वप्रधानमन्त्री कोइराला उपचारका लागि अन्तिम समयमा भारत गएनन् । विसं २०६६ चैत्र ७ गते छोरी सुजाताको मन्डिखाटार स्थित निवासमा उनको निधन भयो ।