काठमाडौं । पछिल्लो समय नेपाल-भारतबीचको सीमा विवाद चुलिएको छ । नेपाल सरकारले लामो समयदेखि भारतीय कब्जामा रहेको आफ्नो भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेपछि भारतसँगको सम्बन्ध चिसिएको छ ।
नेपालले बुधबार नक्सा सार्वजनिक गरेपछि सोही दिन साँझ भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालले सार्वजनिक गरेको नयाँ नक्सा स्वीकार्य नहुने र नेपालको यो एकपक्षीय कदम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको प्रतिक्रिया दिएको थियो । भारतले जारी गरिएको विज्ञप्तिमा सुगौली सन्धिलाई बेवास्ता गरिएको देखियो । नेपालले भने सुगौली सन्धिअनुसार कालीनदीपूर्वका नेपाली भूभाग समेटेर नेपालको राजनीतिक र प्रशासनिक नक्सा जारी गरेको थियो । 'नेपालको कृत्रिम विस्तार भारतले स्वीकार नगर्ने' भारतले जनाएको थियो ।
भारतले यसअघि सन् २०१९ मा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नक्सा सार्वजनिक गरेको थियो । भारतको उक्त नक्साप्रति प्रतिक्रिया दिँदै नेपालले भारतले जारी गरेको नक्सा मान्य नहुने र नेपाली भूमि अतिक्रमण गरेको विरोध गर्दै वार्ताका लागि आह्वान गरेको थियो । नेपालले त्यसपछि दुईपटक भारतलाई वार्ताका लागि बोलाउँदा पनि कुनै जवाफ फर्काएको थिएन । तर, एकाएक ८ मे २०२० मा भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूमि हुँदै मानसरोवर जाने सडक उद्घाटन गरेका थिए । भारतले सुस्ता र कालापानी विवादित भूमि स्वीकार गरेको अवस्थामा फेरि त्यही संरचना निर्माण गर्नु अन्तर्राष्ट्रिय सीमासम्बन्धी कानुनको उल्लंघन भएको नेपालले जनाएको छ ।
यसअघि सन् २०१५ मा नेपालले भूकम्पले थिलथिलो भएको समयमा नेपालमाथि ५ महिना लामो नाकाबन्दी लगाएको थियो । भारतले विभिन्न पटक नेपाली राजनीतिमा पनि हस्तक्षेप गर्ने गरेको तर विसं २०७२ (२०१५) नेपालले भारतको प्रस्ताव अस्वीकार गर्दै संविधान जारी गरेपछि नाकाबन्दी लगाएको नेपाली राजनीतिज्ञ र भारत-नेपाल सम्बन्धका जानकारहरुले बताएका थिए । भारतको नेपालप्रतिको दृष्टिकोण व्याख्या गर्न भुटानीकरण, फिजीकरण र सिक्किमीकरण जस्ता शब्दावलीहरु प्रयोग गर्ने गरिएका छन् ।
भारतले त्यसअघि २०२७ सालमा र २०४५-०४६ मा पनि नाकाबन्दी गरेको थियो ।
०२७ सालमा भारतको खटनपटन नेपालको पञ्चायती सरकारले नमान्दा दुई देशबीच राजनीतिक सम्बन्धमा तनाव आएपछि नाकाबन्दी लगाएको थियो । त्यसैगरी चीनबाट नेपालले भारतलाई नसोधी हतियार खरिद गरेको भन्दै २०४५ चैत १० गतेदेखि केही महिनासम्म कडा आर्थिक नाकाबन्दी गरेको थियो ।
भारतका एक पत्रकार इन्दर मल्होत्राले १२ जुन, १९७० मा 'दि स्टेट्सम्यान' मा प्रकाशित आफ्नो लेखमा भनेका छन्, "भारत-नेपाल सम्बन्ध बिग्रनुको प्रमुख कारण 'कुरूप भारतीयहरू' (अग्ली इन्डियन्स) कै कर्तुतहरु हुन् ।' पछिल्ला केही बहसहरुमा भारतीय कूटनीतिज्ञ अथवा नेपाल-भारतसम्बन्धी जानकारहरुले नेपालको राजनीतिको उचाईमा माओवादीलाई भारतले पुर्याएको र अहिले चीनसँग मिलेर भारतविरुद्ध खनिएको आरोप लगाइरहेका छन् । केही भारतीय विज्ञ भनिएकाहरुले नेपालले फेरि नाकाबन्दीको सामना गर्नुपर्ने र कोरोना संकटसँग लडिरहेको नेपाल थप समस्यामा पर्नेसम्मका आधारहीन तर्कहरु गरिरहेका छन् ।
'नेवरहुड फर्स्ट' (छिमेकी पहिलो) भन्ने भारतीय प्रधानमन्त्रीको नारा एकातिर फकाउने र अर्कोतिर अतिक्रण जारी राख्ने दोहोरो किसिमको देखिन्छ । विवादित भनेर आफैंले स्वीकार गरेको भूमिमा अतिक्रमण जारी राखेर कहिल्यै कसैको अधिनमा नरहेको स्वाभिमान, सदाबहार स्वतन्त्र र सार्वभौम मुलुकको अपमान गर्नुका साथै सम्पूर्ण कूटनीतिक मर्यादाको उल्लंघन गर्ने भारतले बुधबार साँझ नक्साप्रति आपत्ति जनाउँदै जारी गरिएको विज्ञप्तिमा भने भारतको सार्वभौमसत्ताको सम्मान गर्ने पाठ पढाएको थियो ।
स्वीडेनको उपसाला विश्ववविद्यालयको शान्ति र द्वन्द्व अनुसन्धान विभागका प्रोफेसरसमेत रहेका भारतीय प्राज्ञ अशोक स्वाइनले भनेका छन्, "नेपालले जारी गरेको नक्सा भारतले स्वीकार गर्छ भन्ने कसैलाई अपेक्षा पनि थिएन । यद्पि यो 'म्याप वार' कसले सुरु गर्यो ? सन् २०१९ मा भारतले किन एकतर्फीरुपमा राजनीतिक नक्सा सार्वजनिक गरेको ? त्यो भनेको शक्ति-अन्ध मोदीले काश्मीरलाई समेटेर नक्सा सार्वजनिक गरे । तर, नेपाल काश्मीर होइन ।"
फ्रिडम गजेटका प्रधान सम्पादक मोहम्मद जिसानले 'दक्षिण एसियामा भारतको आफ्नै दुश्मन' लेखमा लेखेका छन्, "भारत र नेपालमात्रै दुई छिमेकी हुन् । जोसँग खुला सिमाना छ र मैत्रीपूर्ण सन्धिहरु छन् । भारतले दुबै मुलुकमा ठूलो आर्थिक सहयोग गर्दै आएको छ । भुटानको राष्ट्रिय सुरक्षाका लागि त्यहाँ भारतीय सेना तैनाथ छ । तर, नेपालको हकमा भारतको राष्ट्रिय सुरक्षाका लागि भारतीय सेनामा भर्ती भए नेपालीहरु तैनाथ छन् ।" भारतले समय र आधुनिकतासँगै आफ्नो विदेश नीति परिवर्तन गर्नुपर्ने उनको तर्क छ ।
अन्य छिमेकीसँगको सीमा समस्या !
"भारतका गैरवामपन्थीहरुले भारत 'सुपरपावर' मुलुक हुने सपना बेचिरहेका छन् । त्यसका लागि भारतसँग आफ्ना सहयोगी हुनुपर्छ । के भारतसँग उभिन तयार कुनै पनि छिमेकी छ ? यदि भारतलाई समस्या पर्दा उभिन नजिकको छिमेकी नेपाल पनि तयार छैन भने अन्य मुलुक को हुन सक्छ भारतीय पक्षमा ?," प्रो. स्वाइनले नक्सा जारी भएपछि ट्विटरमार्फत आफ्नो विचार व्यक्त गरेका थिए ।
भारतीय राजनीति, कूटनीतिलाई बुझेका स्वाइनले विभिन्न तथ्यहरुलाई आधार बनाएर यो अभिव्यक्ति दिएको हुनुपर्छ । दक्षिण एसियामा सबैभन्दा ठूलो मुलुक भारतसँग एसियाका सात मुलुक अफगानिस्तान, बंगलादेश, भुटान, चीन, म्यानमार, नेपाल र पाकिस्तानसँग सीमा जोडिएको छ । जसमध्ये भारतको चार मुलुकसँग सीमा समस्या कायमै छ । बंगलादेशको सन्दर्भमा भने भारत र बंगलादेशबीच दुई पक्षीय सहमति जमिन साटासाट भएर सीमा समस्या समाधान गरेको थियो ।
१०६ किलोमिटर सीमा क्षेत्र रहेको अफगानिस्तान र भारतबीच त्यस्तो नराम्रो सम्बन्ध छैन । युद्धग्रस्त बनेको अफगानिस्तानमा भारत विभिन्न राजनीतिक मुद्दाहरुमा आफ्नो स्थान खोजी गरे पनि अमेरिकाको प्रभुत्व कायम भएकोले भारतको उपस्थिति गौण देखिन्छ । अमेरिका-तालीबान सम्झौताका क्रममा थुप्रै भारतीयहरुले आतंकवादलाई अमेरिकाले हर्ने दृष्टिकोण फरक भएको र भारतीयहरुले पाकिस्तान केन्द्रितलाई मात्रै आतंकवाद मान्ने गरेको भारतीय नी तिनिर्माणमा भूमिका खेल्नेहरुले दिएका अभिव्यक्तिबाट स्पष्ट हुन सकिन्छ ।
त्यसैगरी भारत-बंगलादेशबीचको सीमा विवाद समाधान गरिएको धेरै भएको छैन । ४१ वर्षदेखिको सीमा विवाद समाधान लागि सन् २०१५ जुनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणका क्रममा मोदी र बंगलादेशकी प्रधानमन्त्री सेख हसिना वाजेदको उपस्थितिमा तत्कालीन भारतीय विदेश सचिव सुब्रमन्यम जयशंकर र बंगलादेशका विदेश सचिव मोहम्मद साहिदुल हकले 'ल्याण्ड बाउन्ड्री एग्रिमेन्ट' हस्ताक्षर गरेका थिए ।
त्यसअघि सन् १९७४ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र बंगलादेशका प्रधानमन्त्री शेख मुजिबर रहमानबीच ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट भएको थियो । उक्त सम्झौतापछि पनि विवाद कायमै थियो र सन् २०१५ मा ढाकामा गरिएको सम्झौता अनुसार बंगलादेशले ४२ हजार ८४४ विघा (१७, १६० एकड) पायो भने भारतले १७ हजार ७५२ विघा (७,११० एकड) भूभाग प्राप्त गरेको थियो ।
भारतले ६९९ किलोमिटरको सीमा जोडिएको भुटानमा भारतीय सेनाले त्यहाँको सुरक्षामा रहेका छन् । भारतले लामो समयदेखि भुटानलाई ठूलो आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । भारत र भुटान सीमा पनि खुला छ । दक्षिण एसियामा भुटानको सबैभन्दा निकट सहयोगी देश भारत हो । भारतले अनौपचारिक रुपमा भुटानको सुरक्षा र विदेश मामिलासमेत हेर्ने गरेको भारतको दाबी छ ।
भारतले भुटानलाई सम्पूर्ण सहयोग गर्दै आएकोमा पछिल्लो समय चीनले भुटानलाई प्रयोग गर्न थालेको भारतले आरोप लगाएको थियो ।
तर, चीनले पनि भारतले भुटानलाई आफूविरुद्ध उक्साएर विवाद निम्त्याउन खोजेको आरोप लगाएको थियो । सन् १९६२ मा चीन-भारतबीच डोक्लाममा युद्ध भएको थियो । डोक्लाममा अहिले पनि भारतीय सेना बसिरहेको छ । चीनले भने उक्त सेना फिर्ता गर्न चीनले चेतावनी दिएको थियो । डोक्लाम सामरिकरुपमा भारतको लागि महत्वपुर्ण ठाउँ मानिन्छ । भारतकै कारण भुटान र चीनबीचसमेत सात सय ६४ वर्ग किलोमिटर भूभागलाई विवादित मानिएको छ ।
तीन हजार ४८८ किलोमिटर सीमा जोडिएको भारत-चीनबीचको सीमा विवादसँगै अर्थतन्त्र र सैन्य मामिलामा समेत होडबाजी चल्दै आएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीन पहिलो हुने दौडमा रहँदा भारतले भने चीनलाई रोक्ने विभिन्न रणनीतिहरु चालिरहेको छ । अमेरिकाले पनि चीनलाई मत्थर पार्न दक्षिण एसियामा भारतलाई प्रयोग गर्ने गरेको छ ।
दुई साताअघि पूर्वी लद्दाखको पेङ्गोङ त्सो ताल नजिक भारत र चीनका सेनाबीच झडप भएको थियो । भारतले अक्साई चीनमा पर्ने गालवन घाटी किनारामा चिनियाँ सेनाका केही टेन्ट देखिएको बताएको थियो । त्यसपछि भारतले पनि उक्त क्षेत्रमा आप्नो फौजको तैनाथी बढाएको थियो ।
भारतले सीमाको पश्चिमी सेक्टरमा पर्ने अक्साई चीनमाथि आफ्नो दाबी गर्दै आए पनि त्यो भूभाग चीनको नियन्त्रणमा छ । सन् १९६२ को युद्धका दौरान चीनले उक्त भूभागमा कब्जा गरेको थियो । त्यस्तै पूर्वी सेक्टरमा चीनले अरुणाचल प्रदेशमाथि आफ्नो दाबी गर्दै आए पनि उक्त भूमि भारतीय नियन्त्रणमा छ ।
दुबै मुलुकबीच यथास्थिति बनाइराख्न 'लाइन अफ एक्चुअल कन्ट्रोल' टर्मको प्रयोग सुरु भए पनि लाइन अफ एक्चुअल कन्ट्रोल स्पष्ट छैन । दुवै देश आफ्नाो अलग-अलग लाइन अफ एक्चुअल कन्ट्रोल बताउँदै आएका छन् । त्यसैगरी पाकिस्तानसँग त भारतको पानी बाराबारको स्थिति छ । जम्मु-काश्मीर क्षेत्रमा भारत-पाकिस्तानी सेनाबीच प्राय: गोली हानाहान हुन्छ ।
तीन हजार ३२३ किलोमिटर सीमा जोडिएको पाकिस्तान र भारतबीच काश्मीर, साइचेन हिमनदी, साल्टोरो रिज र सिर क्रिक क्षेत्रमा विवाद छ । विशेष गरी जम्मु काश्मिर क्षेत्र पूर्ण रुपमा आफ्नो भएको पाकिस्तानले दाबी गर्छ भने भारते पनि पूर्णरुपमा आफ्नो दाबी गर्छ । सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बनेदेखि यता दुई मुलुकबीच कहिल्यैपनि सम्बन्ध सुमधुर हुन सकेन ।
यस अवधिमा दुई देशबीच कैयौं यस्ता घटना भए जसले कहिले युद्ध नै निम्त्यायो त कहिले चर्को तनाव । दुबै मुलुक स्वतन्त्र भएको दुई महिनापछि काश्मीरलाई लिएर युद्ध भएको थियो । अगस्ट १९६५ मा पनि कश्मीरलाई अर्को छोटो युद्ध भएको थियो भने डिसेम्बर १९७१मा भारतद्वारा पूर्वी पाकिस्तान (वर्तमान बाङ्ग्लादेश) मा अतिक्रमण गरेको थियो ।
१४ फेब्रुअरी २०१९ मा समेत कश्मीरको पुलवामामा विद्रोहीद्वारा आत्मघाती विस्फोट गराएको थियो । अर्धसैनिक बल सीआरपीएफका ४० भन्दा धेरैको मृत्यु भएको थियो । पाकिस्तानमा रहेको जैश-ए-मोहम्मद समूहद्वारा उक्त घटनाको जिम्मेवारी लिएको थियो । ५ अगस्ट २०१९ मा भारतद्वारा भारत-प्रशासित जम्मू-कश्मीर राज्यलाई दिइएको संवैधानिक मान्यता खारेज गरेपछि पाकिस्तानले त्यसको विरोध गर्दै आएको छ ।
त्यसैगरी एकहजार ६४३ किलोमिटर सीमा जोडिएका भारत र म्यानमारबीच पनि सीमा विवाद कायमै छ । म्यानमारको उच्च पहाडी भाग कावाव उपत्यका, भारतको मनिपुर राज्यमो मोरे, नाम्फालोङ, म्यानमारको सागयाङ क्षेत्रका विवाद कायमै छ ।
दक्षिण एसियाकै घृणाको पात्र !
भारतले दक्षिण एसियमा अन्य दुई मुलुक श्रीलंका र माल्दिभ्समा पनि आफ्नो राजनीतिक र क्षेत्रीय प्रभाव लाद्न खोजेका विभिन्न प्रसंगहरु जगजाहेर छन् । भारतसँगको यति मुलुकहरुको सीमा विवाद हुँदा पनि यस विषयमा अहिलेसम्म कुनै पनि मुलुक अन्तर्राष्ट्रिय अदालत गएको पाइँदैन ।
पाकिस्तानले पटक-पटक जम्मु-काश्मीरको विषयलाई लिएर संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराए पनि अन्तर्राष्ट्रिय अदालतमा उजुरी भने दिइसकेको छैन । अन्तर्राष्ट्रिय अदालत जाने भन्ने व्यापक जनदबाब पाकिस्तान सरकारलाई परेको थियो ।
तर, अन्तर्राष्ट्रिय अदालत जाँदा कमजोर मुलुकले हार्ने गरेको इतिहास रहेको र जितेमा पनि भूमि फिर्ता ल्याउन निकै समस्या हुने विज्ञहरुले सुझाव व्यक्त गरेका थिए । भारतले आफ्नै कारण क्षेत्री नेतृत्व गर्न नसकेको र सुपर पावरको सपना फजुलको रहेको भारतीय विज्ञहरुले समेत बताउँदै आएका छन् ।
मोहम्मद जीशानले भारतले दक्षिण एसियाली मुलुकको सार्वभौमसत्ताको सम्मान नगर्दा भारत समस्यामा परेको तर्क गरेका छन् । उनले भनेका छन्, "यद्यपि भारतीयहरू आफेनो सरकारलाई प्रायः दक्षिण एसियाली मुलुकहरुले किन घृणा गर्छन् भनेर बुझ्न संघर्ष गर्दैछन् । नयाँ दिल्लीले आफ्ना छिमेकीहरूसँग 'कपटी' व्यवहार गर्दछ - र तिनीहरूलाई राष्ट्रिय सुरक्षा खतराहरूको रूपमा लिन्छ ।"
सन् १९४७ अगाडि भारतमा बेलायती औपनिवेशिक शासनका बेला भारतका अंग्रेज शासकहरूले नेपाललाई आफ्नो प्रभाव क्षेत्रको मुलुकको रूपमै बुझ्थे ।
नेपालका तत्कालीन राणाशासकहरूले भारतका बेलायती शासकहरूलाई खुसी पार्ने नीति अँगालेका थिए । कहिल्यै पनि सूर्य नअस्ताउने साम्राज्य ओगटेर बसेको बेलायती शासकसँग निहुँ खोजेरभन्दा मिलेरै आफ्नो शासन सत्ताको सुरक्षा गर्न सकिन्छ भन्ने उनीहरूको बुझाइ थियो । वास्तवमा तत्कालीन सन्दर्भमा नेपालका लागि त्यो व्यवहारिक र बुद्धिमतापूर्ण विदेश नीति नै थियो होला । तर, भारतले पछिल्ला दिनहरुमा समेत उही व्यवहार गर्दा नेपालीहरु भारतको हेपाह प्रवृति सहन नसक्ने स्थितिमा पुगेको भारत र नेपाल दुबैतर्फ विज्ञहरुले जनाएका छन् ।
उनले भारतले अथवा भारती सेना प्रमुखले यदि नेपाल चीनको उक्साहटमा लागेर बोलेको ठानेका छन् भने उनी गलत हुने तर्क गरेका छन् ।
जीशानले भनेका छन्, "नेपालले भारतका धेरै तनाव र पीडाहरु झलेको छ । त्यसकारण नेपाल भारतलाई बदला लिन चाहन्थ्यो । चीन त्यसको एक कारक मात्रै भनेको हो । किनभने नेपाल भारतको 'हेजिमोनिक' व्यवहारबाट हैरान भइसकेको थियो ।" त्यसैगरी प्रो. स्वाइनले भारतले नेपाललगायत आफ्ना छिमेकीसँगको सम्बन्ध सुधार गर्नका लागि निकै सक्रिय भूमिका खेल्नुपर्ने सुझाव दिएका छन् ।