काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै कार्यशैलीका कारण अप्ठ्यारोमा छन् । आफैं अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई एक वचन नसोधी र पार्टी कमिटीलाई जानकारीसमेत नगराइ दुईवटा अध्यादेश ल्याएपछि उनी थप आलोचित बनेका छन् । त्यही शैली उनको अधोगतिको कारण बनेको छ ।
अध्यक्ष ओलीमा ‘म नै पार्टी हुँ र पार्टी नै म हुँ’ भन्ने प्रवृत्ति देखा परेको, यसले कम्युनिस्ट आन्दोलन र पार्टीलाई विघटनको दिशामा हुत्याउने भन्दै सचिवालय सदस्यले नै सरकारबाट फिर्ता बोलाउनुपर्ने धारणा राखिरहेका छन् । बहिर्गमन गराएरै छाड्न अठोटमा सचिवालयका बहूल सदस्य देखिएका छन् ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको दोष मिडियालाई लगाएका छन् । मे दिवसको शुभकामना सन्देशमा पनि उनले ‘वचनवाण’ मिसाउन छाडेनन् । १ सय ३१ औं मे दिवसका सन्दर्भमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यम अस्थिरताको कारक रहेको ‘लाञ्छना’ लगाए ।
“आज नेपालका केही सञ्चार माध्यमहरू र सामाजिक सञ्जालहरूमा पनि स्थिरता, स्थायित्व र विकासकाविरूद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरूको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ । एकातिर सम्पूर्ण नेपाली जनता र सिङ्गै विश्व कोरोना महामारीका विरूद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थिरताका त्यस्ता प्रयासहरू गरिनु दुःखद् कुरा हो । आफ्ना स–साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन । त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु,” प्रधानमन्त्री ओलीले लिखित र भिडियो सन्देशमा भनेका छन् ।
प्रधानमन्त्रीले सञ्चारमाध्यमलाई ‘छुद्र’ टिप्पणी–गाली गरेको पहिलोपटक भने होइन । दोस्रोपटक सत्ता सम्हालेदेखि नै सञ्चारमाध्यमप्रति उनको दृष्टि दोष रहँदै आएको छ । सरकार सञ्चालनको सुरूआती महिना उनले मिडियाबाट राम्रौ साथ–सहयोग–समर्थन पाएका थिए ।
दोस्रो र तेस्रो महिनामै सरकारको नियत उदाङ्गो बन्न थालेपछि समाचार माध्यमले आफ्नो ‘धर्म’ निर्वाह गर्ने नै भए । त्यसपछि प्रधानमन्त्री ओली सञ्चारमाध्यमप्रति निकै असहिष्णु, आलोचक बन्दै आएका छन् ।
गत पुस २९ गते प्रधानमन्त्री ओलीले सम्पादकहरूलाई ‘मुटुविहीन प्राणी’को दर्जा दिए । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरू प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । ओलीले सरकारले असाधारण काम गरिरहेको तर प्रचार गर्न सम्पादकहरूको मुटु नै नभएको आरोप लगाएका थिए ।
“हामीले काम गरेका छौं । तर, अहिले यस्ता कामहरूको प्रशंसामा लेख्ने कलम छैनन् । यस्ता कामहरुको प्रशंसामा लेख्ने, प्रशारण गर्ने टेलिभिजन छैनन् । यस्ता काम प्रकाशित गर्ने पत्रपत्रिका छैनन् । यस्ता कामहरूको प्रशंसा गर्ने मुटु भएका, मन भएका सम्पादक छैनन् । कसैकसैले कतै कतै छ्यास्स छुस्स लेखिहालेछ भने त्यसले त्यहीँ गाली खान्छ– सरकारको दलाल भइस् कि क्या हो ? आलोचनात्मक चेत खै ? राम्रा कुरा गर्न थालिस्, बिग्रिइछस् । सकारात्मक कुरा पनि गर्न थालिस् । यस्तो भन्ने एउटा तप्का छ । जसलाई तथ्य मतलव छैन, निन्दा गर्नुलाई आलोचनात्मक चेत भन्छ । त्यस्ता कुराहरुबाट हामी प्रभावित हुँनुहुँदैन । नेपालले विकास गर्दैछ,” उनले टिप्पणी गरेका थिए ।
तिनताका सरकारले काठमाडौंलाई र क्रमशः देशलाई नै सडक मानवमुक्त, सहयोगापेक्षीमुक्त बनाउने अभियानको अगुवाइ गरिरहेको थियो । त्यस्ता मानिसहरूको परोपकार, सेवाका लागि भनेर खोलिएका सङ्घ–संस्थाको पहलमा व्यवस्थापन गरिरहेको थियो । पत्रपत्रिकाले राम्रै स्थान दिएका थिए । तर, प्रधानमन्त्रीले आलोचनाका अक्षर मात्रै पढे । टिप्पणी गर्न हतारिइहाले ।
सरकार सञ्चालनको दुई वर्ष पुगेका सन्दर्भमा गत फागुन ३ गते प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गरेका थिए ।
त्यहाँ पनि प्रधानमन्त्रीले सञ्चारमाध्यमको आलोचनात्मक चेतप्रति प्रश्न मात्रै उठाएका थिएनन्, नियतको ‘जाँचपड्ताल’ नै गरेका थिए । संसद्मा सांसदहरूलाई साक्षी राखेर प्रधानमन्त्रीले भनेका थिए, “केही दिनअघि केही सम्पादकहरूले मलाई प्रश्न गर्नुभयो, हामी त चौथो अङ्ग हौं– क्रिटिकल हुन्छौं । सरकारको खवरदारी गर्छौ । हाम्रो खवरमा ‘नियत’ किन हेरिन्छ ? हेरिन्न । त्यत्तिकै नियतमा किन शंका गर्ने ? चौथो अङ्ग क्रिटिकल हुन पाउँछ, तथ्य आधारित सक्दो क्रिटिकल होओस् । भनिन्छ नि, लेखाइको ‘लाइन’ स्पष्ट भए ‘विट्वीन द लाइन’ पढिँदैन ।”
गत माघमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठक बसेको थियो । केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीको धुवाँधार आलोचना भयो । अधिकांश केन्द्रीय सदस्यले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाए ।
त्यसको आक्रोशचाहिँ प्रधानमन्त्रीले सञ्चारमाध्यमलाई नै पोखे ।
१५ गतेदेखि १९ गतेसम्म चलेको बैठकमा समूहगत छलफलमा भाग लिएका अधिकांश केन्द्रीय कमिटी सदस्यले गुटगत मान्यता, दृष्टिकोणकै आधारमा आ–आफ्ना धारणा राखेका थिए ।
टाढा किन जानू, नेकपाको नवौं महाधिवेशनमार्फत् चुनावी प्रतिस्पर्धाबाटै छानिएर आएका हुन् ओली । नेतृत्वका लागि मात्रै होइन प्रतिनिधि र त्यसभन्दा अघि राष्ट्रिय परिषद् सदस्य छान्न पनि चुनाव भएको थियो । चुनाव प्रतिनिधिहरूका बीच होइन, गुट गुटका बीच भएको थियो । माधव नेपालसँग आधासय भन्दा कम मतान्तरमा अध्यक्षमा चुनिएका हुन्, उनी । त्यसको असर अद्यापि छँदैछ । नेकपाको पूर्वएमालेभित्र ओली र माधव समूह, पूर्वमाओवादी केन्द्रभित्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, रामबहादुर थापा ‘बादल’, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को समूह जीवितै छ ।
तर, प्रधानमन्त्रीले सञ्चारमाध्यमले गुटमा भाग लगाइ दिएको भन्दै भँडास पोखे ।
“हामीले यी पाँच दिनहरूमा बहुतै राम्रोसँग बैठक गरेका छौं, छलफल गरेका छौं र सम्पन्न पनि गरेका छौं । देशको अपेक्षा र जनताको अपेक्षाअनुसार पार्टी एकजुट र एकढिक्का भएर अडाडि बढेको छ । एकढिक्का छ भनेर अगाडि बढ्ने एउटा महत्त्वपूर्ण काम भएको छ । तर दुःखको कुरा हो– केही सञ्चारमाध्यमहरूले हामीलाई यताको भाग र उताको भाग भनेर अत्यन्तै अपमान गरेका छन्,” यसो भन्दै प्रधानमन्त्रीले अन्तरनिहीत कुण्ठा पोखेका थिए ।
उनले ‘हामी यसको गोठभित्र, त्यसको कटेराभित्र, उसको झुण्डभित्र परेका मान्छे होइनौं’ भनेर दाबी पनि गरेका थिए । तथापि, अहिले नेकपाभित्र अनेकको आ–आफ्नै ‘गोठ–कटेरो’ छँदैछ । तिनै कटेरामध्ये, अधिक कटेराले उनलाई प्रधानमन्त्रीबाट ‘राजीनामा देऊ’ भनिरहेका छन् ।
तर प्रधानमन्त्रीले भन्न छाडेनन्, “हामी हरेक स्वतन्त्र (इन्डिपेन्डेन्ट) नेताहरू छौं, तर हामीलाई आआफ्नो स्वार्थमा मान्छेले यता र उता भनेर अखबारबाजी गर्ने, विभिन्न मान्छेका टाउका टाउकाअन्तर्गत राखेर यताको भागमा यति टाउका, उताको भागमा उति टाउका भनेजस्तो गरेर अंशवण्डा गर्न खोजिएको छ । हामी देश निर्माणका लागि हिँडेको एउटा पार्टी र यसको नेतृत्वलाई एउटा झुण्डको वा यता र उताको भागमा बाँडेर प्रचार गर्नु उचित होइन । हरेक मान्छेसँग एउटा टाउको छ, मस्तिस्क छ, त्यसबाट विभिन्न विचारहरू आउँछन्, विभिन्न व्यक्तिका विचार फरक पर्न सक्छन् । त्यसमा छलफल हुन्छ र छलफलबाटै एउटा निष्कर्ष निस्कन्छ । अनि छलफल हुनेबित्तिकै वा विचारहरू आउनेबित्तिकै मान्छे भाग लगाउने वा भाग लगाएर अपमानित गर्ने यो गलत तरिका हो । फलानो मान्छे आफैँ स्वतन्त्र होइन, ऊचाहिँ फलानाको भागको हो भन्ने भान पार्ने, त्यस खालका कुराहरू गर्ने, अनुचित कुराहरू प्रचार गरिनुहुन्न । हामी पार्टीका कार्यकर्ता हाैँ र पार्टीभन्दा बाहेक कोही व्यक्तिका पिछलग्गु होइनौं । त्यसो गर्नु पनि हुँदैन ।”
सञ्चारमाध्यले पार्टीभित्र उहिल्यैदेखि जीवित र निर्णायक रूपमा रहेको गुट, समूहबन्दीलाई प्रकाश पारिदिँदा अतिरञ्जित देखे । उनको गुनासो थियो, “त्यसढङ्गले चित्रण गर्नु अत्यन्तै गलत र अपमानजनक कुरा हो । यो कुरा हामीले बुझेका छौँ, यो हाम्रो पार्टीले बुझेको छ, हाम्रो केन्द्रीय कमिटीले बुझेको छ, हाम्रो पार्टी पंक्तिले बुझेको छ र सिङ्गो देशले बुझेको छ ।”
प्रधानमन्त्रीको सञ्चारमाध्यमप्रतिको यसप्रकारको दृष्टि र द्वेष उनैका लागि प्रत्युत्पादक बन्दै आएको छ ।