''भाइले विज्ञान पढेको होला है?'' यो प्रश्न थियो कान्छा लाउरेको । म छ कक्षा पास गरेर हिउँदे बिदा मनाउन माइला बासँग काँढा गाउँ गएको थिएँ । कान्छा लाउरे भारतीय सेनामा सुबेदार थिए । छुट्टीमा गाउँमा आएको बेला माइला बा र मलाई काम विशेषले बोलाएका थिए कान्छा लाउरेले । विज्ञानमा उनको रुचि रहेछ ।
दाजुभाइको बीचमा जीवनोपयोगी विज्ञानका कुराहरूका बारेमा प्रश्नोत्तर चल्यो। एउटा प्रश्नले मलाई हल्लाई दियो - ''ल भाइ भन ! साबुनले कपडाको मैलो फाल्छ कि साबुनको फिँजले?'' साबुन होस् कि साबुनको फिँज काम त मैलो फाल्ने हो । अब यहाँनिर कुन विज्ञान घुस्यो ? एक छिन म साबुन र फिँजमा घोत्लिएँ । फिँज साबुनबाट आए पनि कति फिँज निस्किन्छ भन्ने त पानीको गुण कस्तो छ भन्नेबाट मात्रै थाहा हुन्छ । आफ्नै गाउँका दुईवटा फरक मुहानका पानी धाराहरूमा तुलना गरेँ । लुस्पाको पानी र कुत्माको पानीमा कपडा धुँदा कुत्माको पानीमा साबुनको फिँज धेरै आउने र साबुन पनि चाँडै पखालिने हुन्थ्यो । अनि विज्ञान पढाउने राजेश सरले भनेको सम्झिएँ । नरम पानी र कडा पानी छुट्टयाउने तरिका भनेकै साबुन चाँडै पखालिन्छ कि पखालिँदैन भनेर हेर्ने हो । कडा पानीमा साबुन पखाल्न धेरै समय लाग्छ र फिँज पनि कम निस्किने भएकोले साबुन पनि धेरै खर्च हुन्छ । त्यसैले फिँज धेरै भयो भने मयल पनि छिट्टै जान्छ । नरम र कडा पानी कसरी छुट्टयाउने भन्ने कुरा गर्ने बित्तिकै लाउरे कान्छाको अनुहारमा अर्कै भाव देखियो । उनले मेरो पीठ थप्थप्याउँदै भने - ''भाइ एकदमै मन लगाएर पढ्नु । तिमी धेरै बुद्धिमान छौ । धेरै आगे जाने छौ ।'' पछि काठमाडौं आईएस्सी पढ्न जाँदा थाहा भयो त्यहाँको पानी त झन् कडा रहेछ । फिँज नै नआउने, जति पखाले पनि साबुनको चिप्लो उस्ताको उस्तै ।
यही पानी प्रशोधन र फोहोर पानी शुद्धीकरण विषयमा विद्यावारिधि गर्ने र यसै विषयमा विशेषज्ञ बनेर काम गर्ने अवसर पाएँ । अहिले आएर कान्छा लाउरेको साबुनको प्रश्न सम्झिन्छु । हुन पनि यतिबेला साबुनको चर्चा छ । यसको महत्त्व बढेर गएको छ । कोरोना भाइरसबाट बच्न स्वास्थ्य विशेषज्ञहरूले साबुनले हात धुनुपर्छ भन्छन् । म पनि भन्छु कुनै चीज छुनुभन्दा अघि र छोइसकेपछि जहिले पनि साबुन पानीले राम्रोसँग हात धुनुपर्छ ।
हिजोआज तातो पानीले हात धोयो भने कोरोना भाइरस मर्छ या पखालिन्छ भन्ने हल्ला पनि सुनिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार पानीलाई एक मिनेटसम्म उमाल्यो भने ब्याक्टेरिया र भाइरस मर्छन् । यसै कुरालाई लागू गर्ने हो भने पनि हातलाई एक मिनेटसम्म भक भक उम्ली रहेको पानीमा राख्नुपर्छ । अनिमात्रै हातमा टाँस्सिएको ब्याक्टेरिया र भाइरस मर्छन् । तर, यसो गर्दा तातोले हातको छाला नै खुइलिन सक्छ । त्यसैले तातो पानीले हात धोयो भने कोरोना भाइरस मर्छ भन्ने भनाइ सत्य हैन ।
यहाँ प्रश्न उठ्छ, साबुनमा त्यस्तो के छ जसले ब्याक्टेरिया वा भाइरस एकबाट अर्कोमा सर्न रोक्छ ? के साबुनले कोरोना भाइरस मर्छ त ? साबुनलाई पानीमा मिसाउने या घोल्नेबित्तिकै फिँज निस्कन्छ भन्ने त हामी सबैलाई थाहा छ । फिँज निस्कनु नै साबुनको विशेषता भएकोले यसलाई 'सर्फेक्ट्यान्ट' वर्गमा राखिएको छ । यी 'सर्फेक्ट्यान्ट' हरूले मुख्यरूपमा सम्पर्कमा आएको ठाउँ (सतह)लाई राम्रोसँग भिजाउने र टाँस्सिएका वा कस्सिएका वस्तुलाई खुकुलो बनाउने दुईवटा काम गर्छन् । त्यसैले त औँलाबाट निकाल्न नसकिएको औँठी निकाल्न साबुन पानीको झोलमा औंला डुबाउन लगाइन्छ ।
म क्यानाडामा बस्ने ठाउँको जमिन मुनि बालुवामा टाँस्सिएको बिटुमिन छ । बिटुमिनबाट पेट्रोलियम पदार्थ निकालिन्छ । त्यो बिटुमिनलाई बालुवाबाट छुट्याउन 'सर्फेक्ट्यान्ट' प्रयोग हुन्छ । यसैलाई नै बालुवा निचोरेर तेल निकाल्ने भनेका हुन् । त्यसैले साबुनको प्रयोग र महत्त्व हाम्रो दैनिक दिनचर्याको साथसाथै औद्योगिक कार्यमा पनि छ ।
थोपा थोपा मिलेर समुद्र बन्छ भने झैं हाम्रा आँखाले नदेखिने ससाना कणलाई जोडेर पानीको थोपा बन्छ । यी कणलाई अणु भनिन्छ । लाखौं लाख पानीका अणु मिलेर पानीको एउटा थोपा बनेको हुन्छ । त्यस्तै तेलको वा साबुनको एक थोपामा पनि लाखौं लाख अणु हुन्छन् । यी अणुहरू जलस्नेही वा जलविरोधी हुन्छन् । रसायन विज्ञानको तर्फबाट हेर्दा चीनी र नुनको रासायनिक गुण पानीसँग मिल्छ र तुरुन्तै मिसिन्छ या घोलिन्छ । त्यसैले चीनी र नुनलाई जलस्नेही अर्थात् अङ्ग्रेजीमा 'हाइड्रोफिलिक' भन्छन् । यसको ठीक उल्टो घ्युतेल र पानीको रासायनिक गुण नमिल्ने भएकोले मिस्यायो भने घ्युतेल र पानी छुट्टिन्छन् । त्यसैले घ्युतेल र पानीलाई एक आपसमा नघुलिने वा जलविरोधी अर्थात् अङ्ग्रेजीमा 'हाइड्रोफोविक' भनिन्छ । त्यसैले चिल्लो लागेको हात अथवा भाँडालाई पानीले मात्रै धोयो भने चिल्लो जाँदैन ।
यतिखेर साबुनले आफ्नो विशेषताअनुसार पानी र तेलका अणुहरूलाई नजिक ल्याउँछ । साबुनका अणुहरु पिन जस्तै टाउको र पुच्छर गरेका रेसाजस्ता हुन्छन् । रासायनिक गुणका आधारमा यी रेसा अचम्मका किन हुन्छन् भने यसको टाउकोतिरको छेउ जलस्नेही अर्थात् पानीमा घुल्ने हुन्छ भने पुच्छरतिरको छेउ जलविरोधी अर्थात् घ्युतेलमा मिल्ने हुन्छ । यस्ता रेसाको संयोगबाट बन्ने कणहरूलाई अङ्ग्रेजीमा 'माइसेल' भनिन्छ जसले जलस्नेही र जलविरोधी दुवैको मिश्रणलाई एकाकार बनाएर घोल्न मद्दत गर्छ । उदाहरणका लागि सिसाको गिलासमा रहेको पानीमा एक चम्चा तेल हालेर छिटो छिटो चलायौं भने तेलका थोपाहरू पानीमा यत्रतत्र देखिन्छन् । यो समिश्रणमा एक चम्चा साबुन राखेर चलायौं भने ती तेलका थोपाहरू देखिँदैनन् । बरु पानी धमिलो भएको देखिन्छ । यो कसरी भयो त? साबुन हाल्नेबित्तिकै तेलका अणुहरू साबुनका अणुको पुच्छरतिर आकर्षित हुन्छन् । यस्ता धेरैवटा साबुनका अणुका पुच्छरले तेलको अणुमा घोलिएर तेलको कणलाई चारैतिरबाट घेर्छन् र गोलाकारको माइसेल निर्माण गर्छन् । यस्ता माइसेलका केन्द्रमा तेलका कण र त्यसमा घुलेका तेलस्नेही साबुनका अणुका पुच्छर हुन्छन् भने साबुनका अणुका जलस्नेही टाउका बाहिर फर्केका हुन्छन् । यतिखेर माइसेलले पानी र तेलका अणु जोड्ने साँघुको काम गर्छन् । यस्तो कार्यलाई नै अङ्ग्रेजीमा 'वेटिङ' अर्थात् 'भिजाउने' भनेको हो । यसरी साबुनले आफूले भेटेको ठाउँमा भिजाउने काम गर्छ ।
अब साबुनले टाँस्सिएको वस्तुलाई कसरी उप्काउने अथवा चिप्ल्याउने काम गर्छ त ? बर्खामा हामीले कर्कलाका पातमा पानीका थोपाहरू देखेका छौँ । ती थोपा हेर्दा पानीलाई कुनै पातलो खोलले बेरेर डल्लो बनाई पातमा बसाएकोजस्तो लाग्छ । पानीका अणुहरू एकआपसमा कस्सिएर टाँस्सिदा यस्तो भएको हो । अर्को कुरा पानीका अणुहरू यसरी टाँस्सिदा पानीको थोपा वरपर अस्थायी खोलको सतह बन्छ । एउटा थोपा अर्को थोपासँग मिस्सिँदा यो अस्थायी सतह बिलाउँ छ । पानीको यही अस्थायी खोलले गर्दा पानीको थोपा कर्कलाको पातमा नढलीकन बस्नसक्छ । पानीको थोपा यसरी बस्दा यसको वरपरको खोल तन्किएको हुन्छ । खोलको यस्तो तन्काइलाई अङ्ग्रेजीमा 'सर्फेस टेन्सन' भन्छन् । यही खोलको तनावका कारण पानीको थोपा कर्कलाको पातमा सन्तुलित भएर बस्छ । खोलको तनावमा घटबढ हुनेबित्तिकै थोपा ढल्किन्छ या चिप्लिन्छ या सतहबाट उप्किन्छ । ब्याक्टेरिया, भाइरस या फोहोर कुनै पनि सतहमा टाँस्सिएर बस्दा त्यै सर्फेस टेनसनलाई सन्तुलित बनाएर बसेका हुन्छन् । र सन्तुलन बिग्रियो भने टाँस्सिएको स्थानबाट उप्किन्छन् या चिप्लिन्छन् ।
साबुनको अर्को विशेषता के हो भने यसले टाँस्सिएको ठाउँमा छिरेर सर्फेस्टेन्सनलाई घटाउने अथवा बढाउने काम गर्छ । त्यसले कस्सिएको अथवा टाँस्सिएको वस्तुलाई खुकुलो बनाउँछ या चिप्ल्याई दिन्छ । यसरी साबुनले ब्याक्टेरिया र भाइरसलाई भिजाएर र चिप्ल्याएर पखाल्छ ।
अहिलेको कोरोनाभाइरसलाई साबुन पानीले हात धुँदा कसरी हातमा अड्केका भाइरसबाट टाढा राख्छ त ? हामीलाई थाहा छ साबुनका अणुहरूको पुच्छर तैलीय पदार्थले बनेको हुन्छ । यो तैलीय पदार्थलाई अङ्ग्रेजीमा लिपिड भनिन्छ । कोरोनाभाइरसको 'डीएनए' अर्थात् आनुवांशिक तत्त्वलाई यही लिपिडका अणुले बेरेको हुन्छ । साबुनका अणुहरूको पुच्छर र लिपिडका अणुहरू एक आपसमा घुल्छन् ।
साबुनको प्रयोगले कोरोना भाइरसलाई दुई प्रकारले असर गर्छ । पहिलो, कोरोनाभाइरसलाई टाँस्सिएको स्थानबाट भिंजाएर उप्काउन या चिप्ल्याउन मद्दत गर्छ र दोस्रो, भाइरसको बाहिरी खोलका लिपिडका कणहरूलाई एक आपसबाट विच्छेद हुन मद्दत गर्छ ।
साबुनको छोटो समयको प्रयोगले कोरोनाभाइरसलाई भिजाउन र टासिएको सतहबाट उप्काउनमात्र सम्भव हुन्छ भने लामो समय (कम्तीमा बीस सेकेन्ड) को प्रयोगले कोरोना भाइरसका कोषिकालाई नै फुटाउन सम्भव छ । त्यसैले साबुन पानीले बीस सेकेन्डभन्दा बढी समय औंलाका काप, नङभित्र र वरपर, हत्केला अगाडि र पछाडि मजासँग माडेपछि मात्र पानीले पखाल्नुपर्छ ।
साबुनले कोरोनाभाइरस मार्छ कि मार्दैन ? भाइरस आफैँमा धेरै थरीका रसायन र अणुवांशिक तत्त्वको निर्जीव कण हो । तर, कुनै कारणवश जीवित वस्तुको सम्पर्कमा आयो भने यसले जीवित वस्तुको गुण धारण गर्न सक्छ । कोरोनाभाइरस जीवित भई प्रजनन गर्न अर्को जीवित वस्तु (होस्ट) चाहिन्छ । त्यसैले वर्तमान अवस्थामा कोरोनाभाइरस निर्मूल पार्ने औषधि उपलब्ध नभएको हुँदा यसबाट सुरक्षित हुने साधन भनेको सर्वसुलभ साबुन नै हो । साबुनको उचित तरिकाको प्रयोगबाट कोरोनालाई मार्नेभन्दा यसको अस्तित्वलाई समाप्त गर्न सकिन्छ भन्ने अध्ययनहरूबाट पुष्टि भएको छ । साबुनका अणुहरूका पुच्छरहरू तेलस्नेही भएकोले कोरोना भाइरसको लिपिडबाट बनेको बाहिरी खोललाई विच्छेद गर्ने सामर्थ्य राख्छन् । यही विच्छेदन नै कोरोना भाइरसका कोषिकालाई टुक्र्याउने प्रमुख कारण हो । कोरोनाका कोषिका टुक्री सकेपछि जैविक पदार्थ अर्थात् अणुवांशिक तत्त्व यत्रतत्र छरिन्छन् । यसैबाट कोरोना भाइरसको अस्तित्व समाप्त हुन्छ । यसैकारण साबुन पानीले राम्रोसँग हातलाई माडीमाडी धोयो भने हामी कोरोनाभाइरस र अन्य ब्याक्टेरिया या भाइरसबाट सुरक्षित हुन्छौँ ।