site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महाकाली अस्पताललाई प्रयोगमा आएको भेन्टिलेटर बिक्री !

काठमाडौं । स्वास्थ्यसम्बन्धी उपकरणहरुको कारोबार गर्दै आएको काठमाडौंको एक सप्लायर्सले कञ्चनपुरको महेन्द्रनगरमा रहेको सरकारी अस्पताललाई प्रयोगमा आइसकेको भेन्टिलेटर बिक्री गरेको भन्दै अस्पतालले छानबिन समिति बनाउने तयारी गरेको छ ।

शल्य चिकित्सा, औषधी तथा दाँत सम्बन्धी उपकरण तथा औजारहरु, स्वास्थ्य सम्बन्धी उपकरण तथा डाइग्नोस्टिक केमिकललगायतका वस्तु आयात गर्दै आएको आरजी सप्लायर्स प्रालिले महेन्द्रनगरको महाकाली अस्पताललाई सञ्चालनमा आइसकेको पुरानो भेन्टिलेटर बिक्री गरेको भन्दै अस्पतालले छानबिन समिति बनाउने तयारी गरेको छ ।

प्रदेश सरकारले उपलब्ध गराएको बजेटबाट सघन उपचार कक्ष (आईसीयू) सञ्चालनका लागि अस्पतालले खरिद गरेका विभिन्न पाँच स्वास्थ्य उपकरणमध्ये भेन्टिलेटर यसअघि नै प्रयोगमा ल्याइएको पाइएको अस्पताल स्रोतले दाबी गरेको छ । 

अस्पतालको चिकित्सक स्रोतले सप्लायर्सले उपलब्ध गराएको भेन्टिलेटर सन् २०१७ देखिनै ‘क्यालिब्रेट’ भएर २०२० सम्म पटक–पटक सञ्चालनमा आएको देखिएको दाबी गरेको छ । 

“यसको म्यानुफेक्चर २०१५ हो । तर यो भेन्टिलेटर २०१७ बाट क्यालिब्रेट भएर पटक–पटक चलेको देखिन्छ,” ती चिकित्सकले बाह्रखरीसँग टेलिफोनमा भने, “फेरि यसमा ह्युमिटी फायर नै छैन । भेन्टिलेटर इन्कम्प्लिट थियो ।”

सप्लायर्सले अस्पतालमा पठाएको स्वास्थ्य सामग्री खोलेर हेर्दा भेन्टिलेटरको बडी पुरानो, दाग लागेको, स्ट्यान्डमा खिया लागेको, सर्किटहरु अपूर्ण रहेको फेला परेको पनि उनले जानकारी दिए । 

ती चिकित्सकले सप्लायर्सले स्वास्थ्य सामग्री पठाउँदा भेन्टिलेटरको म्यानुअल, वारेन्टी कार्ड, क्याटलकसमेत नपठाएको बताए ।

भेन्टिलेटर पुरानो देखिएपछि अस्पतालले मंगलबार नै सप्लायर्सलाई खबर गरेको थियो । 

अस्पतालले स्वास्थ्य सामग्रीका बारेमा गुनासो गरेपछि सप्लायर्सले एकजना इन्जिनियरलाई महेन्द्रनगर पठाएको थियो । 

ती इन्जिनियरले भेन्टिलेटरको मेनुफेक्चरिङ डेट २०१५ भएको स्वीकार गर्दै यसअघि नै मेसिन प्रयोगमा आएको आरोपको खण्डन गरे । 

“मोडल २०१५ नै हो । मैले हेरेअनुसार युज भएको आवर भनेको टू आवर्स (दुई घण्टा) छ । त्यो क्यालिब्रेसनमा युज भएको हो । एज अ सफ्टवेयर भेन्टिलेटरको इन्फरमेसन अनुसार यो मेसिन सेकेन्ड हेन्ड होइन,” सप्लायर्सले पठाएका इन्जिनियर जय साउदले भने ।   

अस्पतालले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त एक करोडबाट कोरोनाभाइरस रोकथामका लागि आईसीयू सञ्चालनका लागि भेन्टिलेटरसहितका पाँच उपकरण खरिद प्रक्रिया अघि बढाएको थियो ।

सोही बजेटबाट अस्पतालले भेन्टिलेटरसहितका उपकरण खरिदका लागि सातदिने सूचना जारी गरेको थियो । आरजी सप्लायर्स प्रा.लि. काठमाडौंले उपकरण खरिदको जिम्मेवारी पाएको थियो । 

आरजीले ५३ लाख ८७ हजारमा सामान सप्लाई गरेको थियो । आरजीले भेन्टिलेटर २६ लाख ३९ हजार, पेसेन्ट मोनिटर दुई थान आठ लाख ७८ हजार, ब्लड ग्यास एनालाइजर ११ लाख ९० हजार र डेफिब्रिलेटर ६ लाख ८० हजारमा खरिद गरेर अस्पतालमा दिएको छ । 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण जोशीले अस्पतालको खरिद इकाईले प्रक्रिया पूरा गरेरै खरिद गरेको सामग्री प्रयोगमा आइसकेको सामग्री पर्दा आश्चर्य व्यक्त गरे । 

उनले सामग्री खरिदको छानबिनका लागि समिति गठन गर्ने पनि बताए ।  

“खरिद इकाइले मगाएको हो । प्रक्रिया पूरा गरेरै आएको हो । तर आउँदा यो सेकन्ड ह्यान्ड आएको हो भन्ने कुरा छ,” अध्यक्ष जोशीले भने, “छानबिन समिति गठन गरेर, बाहिरबाट इन्जिनियर बोलाएर गल्ती नै गरेको हो भने कारवाही गर्नुपर्छ र सप्लायर्सलाई कालोसूचीमा राख्नुपर्छ । जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन ।”

तर, आरजी सप्लायर्सका सञ्चालक ज्ञान शंकर देवले अस्पताललाई प्रयोगमा आइसकेको स्वास्थ्य सामग्री बिक्री नगरेको दाबी गरेका छन् । 

उनले अस्पताललाई स्वास्थ्य सामग्री देखाउनका लागि मात्रै पठाएको पनि दाबी गरे । 

“सामान पुरानो होइन । दुई घण्टामात्रै युज भएको छ,” सञ्चालक देवले भने, “सामान देखाउन हस्पिटल पठाएका हौं । बुझाएका छैनौँ । एग्रिमेन्ट नगरी सामान दिने कुरै हुँदैन ।” 

उनले पठाएका स्वास्थ्य सामग्री अस्पतालले स्वीकार नगरे फिर्ता लिनेसमेत बताए ।  “हस्पितलले लिए ठिक छ नत्र फिर्ता लिन्छौं,” देवले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro