राज्यको ढुकुटीको दोहन नै एकमात्र ध्येय भएकाहरूसँग त्यागको अपेक्षा गर्नु सायद ‘मूर्खता’ हुन्छ । यस्तै ’मूर्खतापूर्ण’ सुझाव दिएकाछन् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले । उनले राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदसम्मको तलब २५ प्रतिशत घटाउन सुझाव दिएका छन् । सांसदहरूले तजबिजमा खर्च गर्ने कथित कोषको रकम पनि कोरोनाविरुद्धको संघर्षमा लगाउने सुझाव त अरू धेरै अर्थशास्त्रीहरूले दिइसकेका छन् । तर, सरकार सायद सिपाही, चिकित्साकर्मी, कार्यालय सहयोगी कसैलाई राष्ट्रिय संकटमा योगदान गर्ने अवसरबाट वञ्चित गर्न चाहँदैन । सरकार ‘समाजवादी’ प¥यो नि त ! अहिलेसम्म सरकारले कोरोनाभाइरसबाट अर्थतन्त्र र त्यसका कारण श्रमजीवी जनताको जीविकामा पर्ने असरको सायद आकलन पनि गरेको छैन । गरेकै भए पनि कोरोनाले पहिले नै आतंकित जनमानसलाई राष्ट्रिय अर्थतन्त्रको धमिलो चित्र देखाएर थप अत्याउन सरकारले चाहेको छैन । यसैले सरकार सहुलियतका विशेष आर्थिक कार्यक्रम घोषणा गर्ने मनःस्थितिमै नहुनसक्छ ।
परन्तु, कोरोनाभाइरसले जस्तै आर्थिक मन्दीले पनि सरकारलाई झुक्याउने लक्षण देखिइसकेको छ । मन्त्रीहरूले नेपालमा कोरोनाभाइरसको चालचुल छैन वा नेपाललाई कोरोनामुक्त देश घोषणा गरेर संसारलाई नेपाल भ्रमण गर्न निम्ता दिँदै गरेका बेला करिब दुई तिहाइ बहुमतको बलियो सरकारलाई हेपेर कोरोना नेपाल छि¥यो । बेलैमा रोकथामको प्रयत्न गर भन्नेहरूलाई सत्तोसराप गरेर बस्ने सरकारी अधिकारीहरू हतारमा बिउँझिए । ‘समुद्रको छाल गनेर पनि ‘माल’ कमाउने बानी परेका’ भारदारहरूले त्यसैमा मौका छोपे । महँगोमा कमसल माल किन्ने ठेक्का दिने । दुर्भाग्य, नेपाली जनतालाई बहादुरीको बखान सुनाउन नपाउँदै पोल खुल्यो । धरौटी जफत गरेर ठेक्का तोड्नु पर्यो । यस्तो संकटका बेलामा त्यस्तो ‘बदमासी’ गर्नेहरूलाई राज्यले पक्कै पाता फर्काउला भन्ने जनताले ठानेका थिए होलान् तर प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कुखुराको माउले चल्ला छोपेजस्तै’ अनियमितता र बदमासीको बचाउ गरिदिए । त्यसो त सरकारले गरेको कामको सराहना गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले केही दिन पहिले नै यसको संकेत दिइसकेकी थिइन । अर्थात्, दण्डको अध्याय सायद समाप्त भयो !
यस्तो परिस्थितिमा राष्ट्रपतिदेखि सांसदसम्मका सबैको पारिश्रमिकबाट २५ प्रतिशत कट्टा गर्ने सुझाव भारदारहरूलाई सायद ‘हजम’ हुनेछैन । यद्यपि, त्यतिमात्रले पनि जनतामा संकटका बेला जनप्रतिनिधिहरू साथमा छन् भन्ने सन्देश दिनेथियो । सरकारी ढुकुटी रित्तिने भयो भने भर्नका लागि जनतालाई निचोर्ने अनेकौँ उपाय छन् भारदारले नै त्याग किन गर्नू भन्ने तिनले ठानेको हुनुपर्छ । तर, शासकहरूले त्याग नगरी जनतालाई मात्र संकटको भारी बोकाउन खोजियो भने विद्रोह हुनसक्छ । अर्कातिर, शासकहरूले त्याग गरेको देखे भने जनता पनि सकस सहन राजी हुनेछन् । पारिश्रमिकमात्र हैन अरू सुविधा र तडकभडक पनि त्यागे जनताले सराहना गर्नेछन् । पूर्वप्रधानमन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरूलगायतले देखाउनैका लागि अगाडि र पछाडि सुरक्षाकर्मीको लस्कर तैनाथ गर्ने चलन पनि कोरोनाकै नाममा त्यागे हुन्थ्यो । घरेलु कामदार बनाइएका सुरक्षाकर्मीहरूलाई मुक्ति दिए तिनले पनि गुन मान्थे ।
ब्रह्मा र देव, दानव तथा मनुष्यको पूराकथाको एउटा प्रसंग – ब्रह्मासँग आफ्नो कर्तव्यका बारेमा सोध्न पुगेका देवता, दानव र मानिसहरूलाई उनले एउटै अक्षरमात्र भनेछन् – ‘द’ । देवताहरूले अर्थ लगाए रे – हामी धेरै विलासी भयौँ । यसैले पितामहले देवतालाई इन्द्रीय दमन गर्न भनेका हुन् । दानवहरूले पनि आफ्नै सन्दर्भमा अथ्र्याए – हामी दानवहरू धेरै क्रूर छौँ । हामीलाई दया गर्नू भन्ने निर्देश पितामहले दिएका हुन् । मानिसहरू उनीहरू धेरै लोभी भएकाले ब्रह्माले पक्कै दान गर भनेको हुनुपर्छ भन्ने बुझे रे ! अहिलेका शासकहरू जनतारूपी जनार्दनको निर्देश पनि द नै हुनेछ । तर, यिनका हकमा माथिका तीनैवटा द अर्थान् दमन, दया र दान आवश्यक देखिन्छ । बेलैमा बुझे हुन्थ्यो ।