
काठमाडौं । आज देश लकडाउन भएको पाँचौं दिन । सडक सुनसान छन् । वल्लोघर पल्लोघर गुनगुन आवाजबाहेक चहलपहल त्यति छैन । नागरिक आफ्नै कोठामा बन्दी झै बसिरहेका छन् । उता सडकमा पनि अत्यावश्यक सवारीसाधनबाहेक अरू गुडेका छैनन् । राजधानी शान्त बनेको छ । धूलो–धुवाँ तुलनात्मक घटेकै हो ।
कोरोना संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनलाई जनताले आवश्यकता, पीडा र अभावबीच सहयोग गरेकै छन् । सडकमा सुरक्षाकर्मीहरू तैनाथ छन् । उनीहरूकै दाबी छ, “अघिल्लो दिनको तुलनामा आज सर्वसाधारण सडकमा निस्किएका छैनन् ।”
यसरी जनताले सकसपूर्ण रूपमै घरमै दिन कटाइरहे पनि सरकारले स्वास्थ्य सुरक्षाका लागि यस्तो गरेको हो । “हामीले अघिल्लो दिनको तुलनामा बाहिर हिँडनेलाई अलि कडाइ नै गरेका छौं,” सुरक्षामा खटिएका एक अधिकारीले भने, “लकडाउन अटेर गर्नेलाई पक्राउ गरी कारबाहीसमेत गर्नुपर्ने अवस्था आएको छ ।”
उसो त कतिपय ठाउँमा प्रहरीले पक्राउ नगरी सम्झाइबुझाई पठाएको अवस्था पनि त । तर अटेर गर्नेलाई कारबाही पनि गरिरहेकै छ ।