site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानमन्त्री बन्नै कोही पनि नमानेपछि ! 

लाखौं जनता सडकमा ओर्लिएर तानाशाही ढालेको पनि तेह्र वर्ष भयो । लोकतन्त्र, शान्ति, समृद्वि र विकासका पक्षमा उर्लिएको त्यो जनचाहना पूरा गर्नुको साटो आन्दोलनकारी नेतृत्व भने सत्ताको खेलमा अल्झिन पुग्यो । राजाको तानाशाही त्यसै ढलेको होइन र नेतृत्वले इमानदारीपूर्वक चाहे असम्भव केही छैन । यो आलेख नेतृत्वले सत्तालाई केन्द्रमा राखेको भए राजाको निरंकुश शासन ढल्न सम्भव थिएन भन्ने ऐतिहासिक तथ्यमा आधारित छ । 

तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ असोज १८ मा जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरेपछि राजनीतिक दलका नेताहरुलाई खेलाउन आफू खुसी सरकार गठन र विघटनको खेल थालेका थिए । 

तिनताका एकातिर गिरिजाप्रसाद कोइरालको नेतृत्वमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र नेपाल सद्भावना पार्टी (आन्नदीदेवी) राजाको प्रतिगामी कदमविरुद्ध सडकमा थिए । अर्कोतिर विघटित सरकारका प्रधानमन्त्री देउवाको पार्टी नेपाली कांग्रेस (प्रजातान्त्रिक) पनि आफ्नो सरकार पुनःस्थापनाको मागसहित छुट्टै  आन्दोलन चलाइरहेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

सहरी क्षेत्रमा संसद्वादी दलले जनता उरालेका थिए भने ग्रामीण इलाका माओवादी हिंसाको छायामा थियो । संसद्वादीलाई माओवादी र माओवादीलाई संसद्वादीको डर देखाएर राजा आफ्नो शासन लम्याउने राणनीतिमा थिए । नेताहरुलाई दरबार बोलाउँदै प्रधानमन्त्री बनाउने आश्वासन दिएर एकअर्का विरुद्ध प्रयोग गर्ने दाउमा थिए राजा ज्ञानेन्द्र । 

राजाको रणनीतिक चाल बुझेपछि पा“च दलले संयुक्तरुपमा बोलाएमात्र राजालाई भेट्ने निर्णय गरे । 

Global Ime bank

यस्तैमा एक दिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको महाराजगञ्ज स्थित निवासमा पा“च दलको बैठक चलिरहेको थियो । दरबारका मुख्यसचिव पशुपतिभक्त महर्जनले राजाबाट सामूहिक दर्शन भेटका लागि बोलाहट भएको खबर गरे । नेताहरु महाराजगञ्जबाट सीधै नारायणहिटी राजदरबारतर्फ लागे । 

दरवार पुगेपछि मात्र कोइरालालगायत पाँच दलका नेतालाई थाहा भयो — प्रजातान्त्रिक कांग्रेसका सभापति देउवा, उपप्रधानमन्त्री एवं नेपाल सद्भावना पार्टीका अध्यक्ष बद्रीप्रसाद मण्डल, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणालाई पनि त्यसमा बोलाइएको रहेछ । 

आफूहरुलाई मात्र बोलाइएको ठानेर दरबार पुगेका नेताहरु त्यहाँको वातावरण देखेर चकित भए । त्यो दिनको बैठकमा सहभागी जनमोर्चाका तत्कालीन अध्यक्ष अमीक शेरचनले लेखकलाई सुनाए – एक छिन बस्यौँ । गिरिजाबाबु र शेरबहादुरको पार्टी भर्खर फुटेको । गिरिजाबाबु शेरबहादुरलाई देख्नै नसक्ने । हामी एकातिर अर्कोतिर उनीहरु छन् । हामीलाई किन बोलाएको हो ? उठौँ उठौँ भइसकेका थियौँ । गिरिजाबाबुले फर्किऊँ कि भन्नु भयो । मैले र नारायणमानजीले पनि त्यही भन्यौ । उठाँै उठाँै भनेका थियौँ राजा र युवराज आए । प्रधानमन्त्री लोकेन्द्र पनि थिए । 

राजाको नजिक एउटा कुर्सी खाली थियो । राजाले आफू नजिकको कुर्सी देखाउँदै भने – हैन हैन गिरिजाबाबुलाई यहाँ । गिरिजाबाबुले भने – हैन ! मलाई यहीँ ठीक छ । राजाले फेरि भने – हैन, यो गिरिजाबाबुका लागि हो । आन्दोलनरत दलका नेताहरुले जानुस् न त भनेपछि प्रधानमन्त्रीसँगै आफ्ना लागि भनेर राखिएको कुर्सीमा कोइराला बस्न राजी भए ।  

आमने सामनेमा दुई कुर्सी थिए । पश्चिम पट्टिकोमा राजा र पूर्वकोमा युवराज बसे । गिरिजाबाबुको अनुहार बिग्रिसकेको छ । अरु आन्दोलनकारी दलका नेताको पनि त्यही हाल छ ।  

कुरा केही हँुदैन । जनमोर्चाका अध्यक्ष शेरचनले भने – हैन के विषयमा बोलाइएको हो ? कुरा सुरु हुनु पर्यो । हामीलाई मात्र सामूहिकरुपमा बोलाएको हो भनेर आएका हौँ । यहा त शेरबहादुर, पशुपति, बद्री मण्डल पनि हुनुहुन्छ । के हो यो ? यस बारेमा त हामीलाई जानकारी छैन । 

राजाले आफ्ना मुख्यसचिव पशुपतिभक्त महर्जनलाई बोलाए –

ए पशुपति ! पशुपति !  

राजाको आवाज सुनेपछि हस्याङ फस्याङ गर्दै पशुपतिले भने – सरकार ! 

राजाले सोधे – यो के हो ? 

सरकारबाट सामूहिक दर्शनको व्यवस्था मिलाउन हुकुम बक्सेको छ भनेर गरेको हो सरकार !  

शेरचनले फेरि भने – हामीलाई आन्दोलनकारी नेताबाहेक अरु पनि हुन्छन् त भनिएको थिएन नि ! 

राजाले फेरी पशुपतिलाई बोलाए – भन त पशुपति के भएको हो ? 

पशुपतिले फेरि अघिकै कुरा जाहेर गरे – सामूहिक दर्शनको प्रबन्ध मिलाउन हुकम भएकाले गरेको हो सरकार !  

आन्दोलनरत दलका नेताहरु भन्दै थिए – पहिल्यै यो कुरा त प्रष्ट गर्नु पर्थ्यो नि । किन हामीलाई भ्रममा राखेको ? हल स्तब्ध भयो । 

सन्नाटा हटाउने प्रयास गर्दै राजाले भने – हैन एकपटक सबैलाई चिया खुवाऊ । रातो चिया ल्याए । चुपचाप छ वातावरण । एकदम मौन भयो । फेरि पा“च दलकै नेताले भने – सरकारबाट कुरा आवस् न !  

राजाले भने – प्रधानमन्त्रीले राजीनामा गरे फिर्ता गर्न मानेनन् । राजीनामा स्वीकृत भयो । अब कसरी सरकार बनाउने के गर्ने ? गिरिजाबाबुबाट सुरु होस् न ।  

राजातिर चोर औँला ठड्याउँदै ‘‘मसँग केही छैन’’ भनेर गिरिजाबाबु जोडसँग कराए । उनी त्यसरी रिसाएको शेरचनले यसअघि कहिल्यै देखेका थिएनन् । शेरचनले लेखकलाई सुनाए – त्यसै बेलादेखि मलाई विश्वास भयो गिरिजाबाबुमा अब प्रधानमन्त्री हुने लोभ छैन । उहाँप्रतिको श्रद्धा ह्वात्तै बढेर गयो र यिनीसँग मिलेर आन्दोलनलाई टुंगोमा पुर्याउन सकिन्छ भन्ने विश्वास जाग्यो । 

राजाका बाबुछोरालाई चोर औँला ठड्याएर गिरिजाबाबुले चर्को स्वरमा कुरा गरेपछि बैठक कक्षमा फेरि सन्नाटा भयो । सबै चुपचाप । तीन चार मिनेट कोही चुँक्क बोलेनन् । 

शेरचनले नै प्रस्ताव राखे – विघटित प्रतिनिधिसभाको जनमतका आधारमा समाधान खोज्नुपर्छ । कांग्रेस विभाजित भएको छ । त्यसैले एमाले महासचिव माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ । यही म प्रस्ताव राख्छु । अमिकजीको प्रस्तावमा मेरो पूर्ण समर्थन छ नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे र कांग्रेस सभापति कोइरालाले भने । 

त्यसपछि शेरवहादुर देउवाले उठेर भने सरकार मेरो पनि एउटा कुरा भन्नु छ । सरकारबाट मलाई अन्याय भएको छ । मेरो निर्वाचित सरकार भंग गरेर । त्यसैले मेरो सरकार पुनःस्थापना हुनुपर्छ । 

देउवाको कुरा सकिएपछि पशुपतिशमशेर राणा बोल्न थाले । सरकार मेरै पार्टीको सरकारले शान्ति प्रक्रिया सुरु गराएको हो । वार्ता टुंगोमा पुगेको छैन । यसलाई टुंगोमा पुर्याउने दायित्व पनि मेरो हो । राप्रपा अध्यक्षको हैसियतले म सरकारको नेतृत्व गर्न सक्षम छु । 

अनि सद्भावना अध्यक्ष बद्री मण्डलले टाउको झुकाउँदै दुई हात जोडेर भने – प्रभु ! प्रभुलाई म सेवक एउटा बिन्ती चढाउँछु । शाह वंशको इतिहासमा मधेसी मूलको कसैले पनि सरकारको नेतृत्व गर्ने अवसर पाएको छैन । सरकारको निगाहबाट मैले यो अवसर पाऊँ प्रभु ! म पाउमा बिन्ती चढाउँछु । 

मण्डलले बिन्ती चढाए — सरकार यो सेवकले के भन्ने ? सरकारको पाउमा सविनय निवेदन गर्छु सरकार यी पाँच दलले सडकमा सरकारविरुद्ध कस्तो नारा लगाउने गरेका छन् ? सरकार म यहाँ बिन्ती चढाउनसमेत सक्दिन । यो मुलुकमा मधेसी एकपटक पनि प्रधानमन्त्री भएको छैन । मलाई निगाह बक्सियोस् सरकार !  

आज यहाँ कुरा टुंगिएन फेरि बसौँला भन्दै राजाले बैठक स्थगित गरे । त्यतिबेला रातको १०ः३० बजिसकेको थियो । आन्दोलनरत दलका नेताहरुले एमाले महासचिव नेपाललाई प्रधानमन्त्री बनाउन भने । सबै दलले नेपाललाई सम्पर्क गर्नु पर्यो र राजाले उनलाई सम्पर्क सूत्र बनाउनु पयो भन्ने प्रस्ताव राखियो । 

गिरिजाबाबु पूरै रातोनीलो भएर रिसाई हाले – यस्ता कुराले समस्याको हल हुँदैन भन्ने मलाई पहिल्यै लागेको थियो । यो नौटंकी किन देखाएको ? 

त्यसपछि सबै दरबारबाट बाहिरिए । त्यसपछिका दिनमा आन्दोलनरत दलका नेताहरु एमाले महासचिव नेपाललाई हरेक दिन दरबारबाट कुनै खबर आयो कि भनेर सोध्थे । नेपाल चाहिँ ‘‘छैन छैन’’ भन्ने जवाफ दिइरहन्थे । एक सातासम्म यस्तै चलिरह्यो । भेटवार्तापछि कोइरालाले पार्टीहरुको एउटा बैठकमा भनेका थिए — बाहिर चर्को भाषण गर्ने सबै साथीहरु राजाको अघि पुगेपछि त बोल्नै नसक्ने रहेछन् । 

एक दिन राजाका एक जना नातेदार शेरचनको सानेपा स्थित निवासमा पुगे । मंगलवारको दिन थियो । उनले भने – तपाईँ प्रधानमन्त्री हुनुपर्यो । सरकारको त्यही हुकुम छ । शेरचनले भने – म आफैँ माधव नेपालको प्रस्तावक । मेरो राजनीति समाप्त पार्न खोज्ने ? के कारण मलाई यो प्रस्ताव राखेको ? यस्तो अराजनीतिक कुरा मबाट हुँदैन । तपाईँ जानुस् । तपाइँ हुनै पर्छ भनेर फेरि उनैले भने – ल तपाईलाई प्रधानमन्त्री बनाउन खोजेको त माओवादी समस्या समाधानका लागि हो । तपाईले प्रधानमन्त्री स्वीकार गरिदिनु पर्यो । गिरिजाबाबु र माधव नेपालबाट यो काम हुँदैन । 

हुँदैन । कुनै पनि हालतमा स्वीकार्य छैन – भनेर शेरचन रिसाएपछि राजाका ती नातेदारले भने – उसो भए नारायणमानजीलाई फोन गरिदिनु पर्यो । शेरचन रिसाए र भने – म राजाको गुलाम हुँ ? म्याद तामेली गर्ने बैदार हुँ ? तपाईँ कृपया म कहाबाट जानुस् । 

राजाका ती नातेदार सरासर भक्तपुरस्थित नेमकिपा अध्यक्ष बिजुक्छे निवास पुगे र भने – राजाले मलाई पठाएको । अमीकजीले मान्नु भएन । हजुर कहाँ जानु हुकुम भएको छ । ए ! अमीकले नमानेपछि मेरो पालो भनेर नारायणमान रिसाएपछि उनी त्यहाबाट पनि फर्किए छन् । त्यसको केही दिनपछि राजाले सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए । 

यसपछि राजाले सूर्यवहादुर थापालाई प्रधानमन्त्री बनाए । 

पाँच दलको राजधानी केन्द्रित आन्दोलन शिखरमा थियो । दरबारले दलहरुलाई फुटाएर कमजोर बनाउन फेरि दर्शनभेटको राजनीति सुरु गर्‍यो । राजाबाट सकारात्मक संकेत आएको भन्दै दलहरुले आन्दोलनका कार्यक्रम शिथिल बनाउँदै लगे । 

राजाले राजनीतिक परामर्शको थालनी गरे । त्यसअन्तर्गत जेठ ४ गते गोकर्ण रिर्सोटमा पेसागत संघसंस्थाका ३०० जनालाई भोज दिइयो र राजनीतिक परामर्श भयो । 

जेठ ६ गते दरबारले आन्दोलनकारी दलहरुको मागबमोजिम आन्दोलनरत पाँचमध्येका चार दलका नेतालाई सामूहिक दर्शनभेटका लागि बोलायो । फेरि पनि सद्भावना पार्टी (आनन्दीदेवी)लाई बोलाइएको थिएन । दरवारले बद्रीप्रसाद मण्डलको सद्भावना पार्टीलाई मान्यता दिएको थियो । कांग्रेस सभापति कोइरालाले सद्भावनाका नेताहरुलाई भन्नुभयो — दरबारसे बुलाहट नही हुआ त क्या ! आपका प्रतिनिधिको हम अपने रिक्स पर ले जायेंगे । 

कोइरालाकै आग्रहमा आनन्दीदेवीका तर्फकाट उपाध्यक्ष भरतविमल यादव दर्शनभेटका लागि जाने भए । राजालाई भेट्न जानुअघि कांग्रेस सभापति कोइरालाको महाराजगञ्जस्थित निवासमा पा“च दलका शीर्ष नेताहरुको बैठक भयो । बैठकमा राजासँग कसरी प्रस्तुत हुने भन्ने विषयमा लामो छलफल भयो । 

त्यसअघि सबै दलका नेतालाई एक्लाएक्लै भेट्ने गरेका थिए । कोइराला, नेपाल, शेरचन, बिजुक्छे सबैसँग उनले भेटेका थिए । हरेक भेटमा दलहरुबीच फाटो उत्पन्न गराउने रणनीति अपनाउने गर्थे । यही विषय बैठकको पहिलो एजेन्डा बन्यो । सुरुमा कोइरालाले आफूसँग राजाले गरेको कुरा सुनाउँदै भने — राजाले मसँग भने तपाइँ संविधानको धारा १२७ बमोजिम प्रधानमन्त्री नबन्ने भन्नुहुन्छ । भन्नुस् तपाइँको माग के छ ? कोइरालाले भने — सरकार मेरो माग भनेको प्रतिनिधिसभाको पुनःस्थापना हो । त्यसबाट मात्र अहिलेको समस्या हल हुन्छ । कसलाई प्रधानमन्त्री बनाउने के गर्ने भन्ने कुरा अहिलेको एजेन्डा नै होइन ।  राजा कोइरालासँग भन्ने पनि गर्थे – तपाईँ ‘सिनियर’ नेता मनोनीत प्रधानमन्त्री हुनु हुँदैन । निर्वाचित प्रधानमन्त्री बन्नुपर्छ । 

नेपालले आफूसँग राजाले भनेको कुरा सुनाए — बाहिर चलेको हल्लाजस्तो कुनै पनि कुरामा तपाईसँग मेरो रिसराग छैन । जंगलमा पनि कम्युनिस्ट सिंहदरवारमा पनि कम्युनिस्ट भनेर तपाईँलाई मैले ‘फेवर’ नगरेको भन्ने पनि गलत हो । राजदरबार हत्या काण्डको छानबिनका लागि बनेको समितिको सदस्य नबसेका कारण दरबार तपाईँप्रति असन्तुष्ट छ भन्ने पनि असत्य हो । 

राजाले भने —ल भन्नुस् त आफू संविधानको धारा १२७ बमोजिम प्रधानमन्त्री हुन पाउँदा वैधानिक हुने अरुलाई बनाउँदा अवैधानिक हुने ? 

बैठकमा नेपालले राजासँग भएको आफ्नो अनुभव सुनाई रहँदा सद्भावना आनन्दीदेवीका महामन्त्री हृदयेश त्रिपाठीले भने — हेर्नुस् माधवजी, दरबार तपाईलाई पनि प्रधानमन्त्री बनाउनेवाला छैन, गिरिजाबाबुलाई पनि ।

अनि पालो अमीक शेरचनको आयो । उनीसँग राजा ज्ञानेन्द्रले भनेका रहेछन् — तपाइँ त चितवनको मान्छे । प्रचण्डसँग राम्रै होला ? साच्चै भन्नुस् त, माओवादीलाई मुलधारमा ल्याउन के गर्नुपर्ला ? कसरी अगाडि जानुपर्ला ? 

पालो आयो नारायणमान बिजुक्छेको । राजाले उनीसँग सोधे छन् — हैन, धारा १२७ बमोजिम अरुलाई बनाउँदा अवैधानिक तर कांग्रेस र एमालेलाई बनाउँदा वैधानिक ? 

अनि बल्ल पाँच दलका नेताले राजा आफूहरुलाई लडाएरभिडाएर शासन लम्याउने दाउमा रहेको बुझे । र कसलाई प्रधानन्त्री बनाउने भन्ने विषयमा कुरै नगर्ने निष्कर्षमा पुगे । 

कोइराला निवासबाट सबै नेता सिधै नागार्जुन दरबार तिर लागे । दरबारमा राजा ज्ञानेन्द्र र युवराज पारस थिए । राजाले सुरुमै भरतविमल यादवतिर इसारा गर्दै भने —मैले उहाँलाई त चिन्न सकिन नि ?

कोइरालाले परिचय गराउँदै भने — सरकार उहाँ सद्भावना पार्टी (आनन्दीदेवी)का उपाध्यक्ष भरतविमल यादव । 

अनि बिजुक्छेले भने — सरकार अब हाम्रोतर्फबाट कुरा गिरिजाबाबुले गर्नुहुनेछ । कोइरालाले भूमिका नबाँधेर भने — सरकार प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन । आन्दोलनको माग सम्बोधन नभएसम्म को प्रधानमन्त्री हुने कस्तो सरकार बनाउने भन्ने कुराको अर्थ छैन । राजाले सुनी रहे, जबाफ दिएनन् । कोइरालाको भनाइ सकिए पछि राजा ज्ञानेन्द्रले भने — माधवजी, ल भन्नुस् त अरुलाई संविधानको धारा १२७ बमोजिम प्रधानमन्त्री दिँदा अवैधानिक तपाईहरुलाई दिँदा वैधानिक ! नेपाललाई सोधिएको प्रश्नको जवाफ पनि कोइरालाले नै दिए — सरकार १२७ बमोजिम जसलाई प्रधानमन्त्री दिँदा पनि अवैधानिक । 

यसरी, पाँच दलका कुनै पनि नेताले प्रधानमन्त्री हुन अस्वीकार गरेपछि मात्र प्रतिनिधि सभा पुनःस्थापना गर्न राजा बाध्य भए । अनि संविधानसभा निर्वाचन हुँदै मुलुकले गणतन्त्रको यात्रा तय गर्‍यो ।  
 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय