site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
मणिमुकुन्दको इतिहासमाथि कम्युनिस्ट अतिक्रमण

बुटवलस्थित मणिमुकुन्द सेन उद्यानको ऐतिहासिक महत्त्व पनि छ । परन्तु, अहिले त्यहाँ पसेर हेर्दा यो ठाउँ इतिहासको धरोहरभन्दा बढी कम्युनिस्ट शासनको तरिका बुझाउने कुरुप शैलीमा व्यवस्थित छ वा गरिँदैछ । उद्यानको सपना देख्नेलाई कसैले नदेखोस् भन्ने गरी अनाम बनाइएको छ । पृथ्वीनारायण शाहको राष्ट्र विस्तार पछि नेपाल राष्ट्र निर्माणकै परिणाममा रुपान्तरित भयो । त्यसक्रममा पृथ्वीनारायण शाहको तत्कालीन गोरखा(गोर्खा)राज्य भनेर चिनिने र पछि नेपाल राज्यमा गाभिएको यो ठाउँ त्यसबेला राजा मणिमुकुन्द सेनको राज्य, राजधानी हो । अर्थात्, पाल्पाको तानसेन त्यतिबेलाको राजधानी भए पनि सेन राजाहरू प्रायः यहीँ बसेर शासन चलाउँथे भन्ने विश्वास स्थानीयमा छ । यो विश्वास ऐतिहासिक रुपले पनि भरपर्दो छ । 

कुनैबेला यहाँको बस्ती र बजार क्षेत्र अर्थात् तिनाउ नदीपारि (जितगढी, उद्यानतिर) बुटवल नामले चिनिन्थ्यो र वारिलाई खस्यौली पुकारिन्थ्यो । तर, अहिले वारिपारि दुवै ठाउँलाई बुटवल भनेर चिनिन्छ । खस्यौली स्मृति र इतिहासको कालखण्डमा मात्र शेष छ । हिजको खस्यौलीले अहिले बुटवलको पहिचान आफैँमा भित्र्याएर जितगढीको बुटवललाई मौका परे गिज्याउने मुडमा देखिन्छ । अन्य कारणमा सुनिएको साम्राज्यवाद ठाउँको नाम हरण गर्ने कारकमा पनि अनूदित हुन्छ कि के ? खस्यौलीले पहिचान गुमायो कि बुटवलले विस्तार पायो ? 

चुरे पहाडको लमतन्न काखमा अवस्थित त्यतिबेलाको बुटवलमा अहिले पनि जितगढी किल्ला सबैको लागि खुला छ । इतिहासका अध्येताहरुको लागि विजयको कुनै रहस्य बोकेर त्यो ठाउँ जीर्ण भए पनि जीवित छ । देख्नेहरुका लागि जितगढी संरक्षणको पर्खाइमा लाग्छ । यहाँस्थित विद्यालयको नाम र स्मारकमा लेखिएको उजिरसिंह थापा राजा सेनको समयका सैनिक प्रमुख थिए । उनै नेतृत्वको सेनाले अंग्रेजलाई हराएर यो राज्य बचाए । त्यही जितको जितगढी अहिले भने उपेक्षित देखिन्छ । 

KFC Island Ad
NIC Asia

अहिलेको नेपाल बाइसे,चौबीसे राज्यमा विभक्त हुँदाका बेला राज्य र गढी प्रायः पहाडी टाकुरामा रहे, बसेको पाइन्छ । यही जितगढी हो जो समथर मैदानमा छ । श्रीनगर, तानसेनको पानीढलो बग्दै पहाडी कोखलाई चिरेर तिनाउ नदीले दुई साप्रे बनाएको यो ठाउँ खस्यौली, बुटवलको उत्तर चुरे शृंखलाबाहेक फराकिलो पूर्व, पश्चिम र दक्षिण त आँखैभरि लमतन्न समथर भैरहवा तराई ।

यो जमिनकोे अवस्थिति र इतिहास उसकै काखमा छ । तर, मणिमुकुन्द सेनको ऐतिहासिक भूमिसँग कम्युनिस्ट शासकले गरेको मनपरी बुटवल नगरको यथार्थ हो ।  त्यतिमात्रै होइन, कम्युनिस्ट शासन जहाँ र जति भए पनि योभन्दा भिन्न हुदैन भन्ने प्रमाण पनि बुटवलको यो उद्यानले बताएको छ, वाध्यता हो । मान्छे बोल्दैन, उद्यान बोल्न सक्दैन । अमुक र प्रतिरोधहीन इतिहास र उद्यानमाथि कम्युनिस्ट सोचको शोषण शैली यहाँ प्रस्टै देखिन्छ । 

Royal Enfield Island Ad

अनाम त के भन्नु ? तर अंकको पाँच नामले चिनिने प्रदेशको राजधानी यही बुटवल भनिन्छ । अनाम प्रदेशको राजधानी यहीँ बस्ने कि अन्त सर्ने ठेगान नभएरै अंकमा पहिचानको पुकार छ । दुई वर्ष बढी भयो न्वारनको नाम नपाएको शुद्धोधनको राजधानी बुद्धनगरीले । तर, राजधानी कुनै नवजात शिशु होइन । त्यसैले यहाँका शासकले अन्यथा चाहिँ मान्नुपर्दैन ।

कुरा ऐतिहासिक धरोहर मणिमुकुन्द सेन नामधारी उद्यानको हो । अहिले उनी पनि छैनन् र उनका रक्षक उजिरसिंह, सेनाहरु पनि छैनन् । कम्युनिस्ट टापले गौरव इतिहासको टाउको टेक्दा तिनका नदेखिने आँसु झर्लान् तर सेन, सिंहको विद्रोही, विजेता आवाज अब यहाँ सम्भव छैन । त्यसैले इतिहासमाथि निर्लज्जहरु त्यस्तै अतिक्रमण, अर्को ठेटशब्दमा ‘बलात्कार’ गर्छन् । जस्तो अहिले चारैतिर सुनिने निर्मलाहरुजस्तै विवश पारिन्छन् ।

मणिमुकुन्दको खण्डहर दरबारको आंशिक अवशेष अझै यहाँ छ । एक पाखे, एउटा भित्तोजस्तो देखिने झाडीले घेरिएको, जीर्ण खण्ड । यहाँको गरिमा यसै खण्डसँग जोडिएको कालखण्डको इतिहास हो जुन जितगढीसँग अभिन्न छ । त्यो इतिहासको दुर्गति खण्डहरले बुझाउँछ । उद्यानमा हुर्काइएका रुखहरु शितलता दिने होलान् तर ती परा इतिहास होइनन् । तिनाउ नदी किनारमा भेटिएको प्राग्ऐतिहासिक मानव अवशेष हेर्दा अनुमानमा रामापिथेकसको सालिक लाग्ने नाङ्गो सिमेन्ट मूर्ति उद्यानमा देखिन्छन् । दुई त्यस्ता सिमेन्ट निर्मित मूर्तिको पहिचान लेख्ने जाँगर उद्यानका कम्युनिस्ट शासकहरुलाई छैन । त्यसैले ‘तुरीको टुसो’ निकालिएको बाँदरे आकृति कोप्रे ती मूर्ति आफ्नै अनुहारमा हेरेर मानव पुर्खाको अनुमान अलिकति बुझ्नेले गर्दा हुन्, अनाडी त हाँस्ने नै भए, नाड्.गो नरबानर प्रतीक देखेर । 

तर, यहीँ अर्धकदका भव्यमूर्ति, बलियो घेरबारको सुरक्षाकवचभित्र मदन भण्डारी र जीवराज आश्रितको । फूलमालाले सजाइएको । स्वर्गीय उनीहरु भन्नसक्दैनन् – ‘इतिहासमाथि अन्याय नगर, हाम्रो नाममा इतिहासको बलात्कार नगर ।’ तर मूर्ख स्वामीभक्तहरु बुझ्न तयार हुँदैनन् । इतिहासको स्पष्ट दुगर्ति भन्नोस् कि शोषण यहाँ भेटिन्छ । मानाँै यो ठाउँ इतिहास होइन कम्युनिस्टहरुले आर्जेको भूमि हो । मणि र उजिरसिंह होइन अंग्रेज भगाउने यिनै दुईपात्र यहाँ थिए, हसियाहथौडाधारी । अलि पर हेर्यो हसियाहथौडाको सानदार ‘अविवेकी’ स्तम्भ । ऐतिहासिक भूमिमा होइन, शुल्क तिरेर कम्युनिस्ट पाठशालामा पसेजस्तो मणिमुकुन्द सेन नाम दिइएको उद्यानमा । उद्यानकै नाम र इतिहासको भाव पाउन चाहने घुमन्तालाई कम्युनिस्ट शासनले गर्ने अधिनायकवादी अतिक्रमणको नमुना लाग्छ ‘बलात्कृत’ यो ठाउँको अस्मिता, अस्तित्व ।    

अर्को शोषण साच्चै उद्यानको स्वप्नद्रष्टाप्रति यहाँको कम्युनिस्ट सत्ताले गरेको रहेछ । बुटवल उपमहानगर पालिकाको कम्युनिस्ट सरकारलाई इंगित गरिएको हो यहाँ ।  झन्डै दुईवर्ष अघि उद्यानमा पस्दा एउटा अनौठो र झुटो बोर्ड पढ्नुपरेको थियो । त्यो बोर्डमा लेखिएको नाम र कामको सन्देश उद्यान बनाउने प्रस्तावक यहाँका कम्युनिस्ट नगर प्रमुख हुन् भन्ने लाग्थ्यो । मेट्न खोजिएको यथार्थले थिच्न थालेपछि होला अहिले त्यो असत्य बोर्ड हटाइएछ । सायद, नगर प्रमुख पनि फेरिएर हो कि ? झुठको साक्षी त्यो बोर्ड त्यस ठाउँमा यसपटक देखिएन अन्तै होला । अहिले पनि यहाँ त्यस्तै नेतृत्व छ जसले ‘सयौंपटक भनेपछि झुठ पनि सत्य मानिन्छ’ भन्ने कम्युनिस्ट पाठशालाका विद्यार्थी । 

प्रजातन्त्र पुनःस्थापनापछि पहिलोपटक (२०४९)तिर भएको स्थानीय निकायको चुनावमा बुटवल नगरपालिकाको प्रमुख सूर्यप्रसाद प्रधान र उपप्रमुख रामप्रसाद खनाल चुनिए । यी दुईपछि यहाँको चुनाव सधैँ कम्युनिस्टले जितेका छन् । प्रमुख प्रधानको समयमा हामी नेपाल प्रेस युनियनको पदाधिकारी थियौँ । तारा बराल अध्यक्ष, पंक्तिकार महासचिव । कार्यक्रमको सिलसिलामा आएका आठ, दसजना हामीलाई यही उद्यानको ‘ठाउँ’मा लगियो प्रमुख प्रधानको नेतृत्वमा । नेता हरि लम्साल र त्यतिबेला रुपन्देही प्रेस युनियनका सभापति खिमानन्दसमेत बुटवलका सबै पत्रकार साथीहरु निम्त्याइएका रहेछन् । मैले पहिलोपटक त्यो ठाउँ देखेँ, टेकेँ । पहाडी काख, जंगलको ठाउँ, एउटा झुप्रे तर अस्थायीजस्तो लाग्ने पसलबाहेक मानव बस्तीको अर्को कुनै नमुना त्यहाँ थिएन । सम्झना छ, खण्डहर देखिने दरबार अहिलेभन्दा अलि भरिलो चाहिँ थियो । 

ओरालो, भिरालो । भर्खर सम्याइएको धुले सानो मैदान ।  प्लास्टिकका कुर्ची । भुँइमा ओछ्याइएका टुक्रे दरी (टाट) । चानचुने जंगली हाबालाई धेग्ने गरी दरो तरिकाले टाँगिएको त्रिपाल, सामियाना । अस्थायी लाग्ने झुन्ड्याइएका बिजुली बल्ब र तिनको एकनास उज्यालो । र, खारिएको जमिनमा छड्के गाडिएका रंगीन इँटा । हामी खुब रमायौँ । प्रमुख प्रधान पनि रमाएकै शैलीमा हामीलाई उत्साहित पारेजस्तो लाग्छ अहिले । त्यहाँको यस्तो चित्र, अहिले पनि छ मभित्र । तर, किन त्यहाँ लगियो, बुझेको चाहिँ एकैछिन पछिमात्र हो ।  

रमाउनुअघि प्रमुख प्रधानले गम्भीर भावशैलीमा त्यो ठाउँको इतिहास सुनाउनुभयो । उद्यान बनाउने सपना बाँड्नुभयो र प्रचारप्रसारको लागि साथ दिन पत्रकार साथीहरुलाई हार्दिक अनुरोध गर्नुभयो । ‘यी इँटा त्यही उद्यानको संरचनाको लागि हो, तपाईंहरुको उपस्थितिसमेत मणिमुकुन्द सेन उद्यान (पार्क) निर्माण प्रारम्भ भएको जानकारी सबैमा पुर्याउन हो ।’ उद्यानका लागि त्यहीबेलातिर इँटा गाडिएको हो । तर, त्यही नगरको इतिहासमा यो सत्य लुकाइएको छ । त्यहाँ देखिँदैन । 

हुनुपर्ने जसको नाममा उद्यान उसको सालिक । रामापिथेकसको भव्यमूर्ति । उजिर सिंहको इतिहास बुझाउने लेखोट । त्यही लेखट पढेर अलि तलको जितगढी जाउँजाउँ लाग्नुपर्ने । योे ठाउँ प्रदेश ५ बुटबलको गौरवमात्रै होइन, नेपाल देशकै वीरताको गाथा हो । देशी, विदेशी घुमन्ताले रामापिथेकस पढेर नेपालमा मानवसभ्यताको उद्भावको सन्देश सिक्नुपर्ने । अंग्रेजले जिब्रो टोक्नुपर्ने । 

तिनाउ नदी किनारले रामापिथेकसको बंगारा दिएर नेपालको मानव सम्यतालाई विश्व प्राचीन पहिचान दिएको छ । एसियाकै पहिलो मानव अवशेष विश्वको दोस्रो मानिन्छ । रामापिथेसकको अवशेष एक करोड दसलाख वर्ष पुरानो र प्राग्ऐतिहासिक मानिएको छ । यसभन्दा पहिलो केन्या र टर्कीमा भेटिएका अवशेष एक करोड चालीस लाख वर्षका मानिने पुरातात्विक निचोड रहेछ ।

यस्तो ऐतिहासिक र प्राग्ऐतिहासिक गौरव भएको यस बुटवल नगरीमा कम्युनिस्ट नेता भण्डारी, आश्रित र .अविकासको प्रतीक हसियाहथौडाको मूर्ति राख्ने ठाउँ अन्त नभेटिएर यहाँको इतिहासको मानमर्दन वा अतिक्रमण गरिएको हो कि ? त्यहाँ वनभोज (पिकनिकका लागि सेड बनाइएको ) जाने वा पिङ खेल्न जाने र देश विदेशबाट आएका घुमन्ताले गौरवशाली इतिहास पढ्न पाउनुपर्ने । तर, इतिहासको खण्डहर असुरक्षित छ । कम्युनिस्ट नेता सजाइएका छन् । लाज मान्नुपर्ने । कम्युनिस्ट नेताहरुले सच्याऊन् । इतिहास, संस्कृति र मानवसभ्यताको लाज बचाउने ज्ञान तिनमा आओस् ।        
      
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६  ०७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro