स्थापनाको सात दशकभन्दा लामो अवधिमा नेपाली कांग्रेस यतिबेला निकै संकटग्रस्त अवस्थामा पुगेको देखिन्छ । प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा बिताएका संघर्षका दिनहरुसमेत कांग्रेसप्रति भरोसाका समय थिए । अहिले त्यो भत्किँदै छ । दशक लामो हिंसात्मक द्वन्द्वलाई शान्तिमा अवतरण गराएर लोकतन्त्रसम्म आइपुग्दाको यावत् संघर्षको मियो नेपाली कांग्रेस अहिले अवसान वा पुनरुत्थानको ऐतिहासिक दोबाटोमा आफैँभित्र संघर्षरत छ ।
आधुनिक नेपालको प्रजातान्त्रिक संस्कार र सभ्यताको अगुवाइ गर्ने कांग्रेस त्यही सभ्यता स्थापित गर्ने वर्तमान चरणमा क्षयोन्मुख देखिनुले कतै प्रजातन्त्रकै भविष्यमाथि प्रश्नचिन्ह लागेको पो हो कि भन्ने भययुक्त आशंका स्वतन्त्रतापेक्षी नागरिक समाजमा उत्पन्न भएको छ । व्यक्ति, व्यक्तिको बौद्धिक र भौतिक उन्नयनको समान अपेक्षा राख्ने वैचारिक स्वतन्त्रताका चिन्तकहरु नेपाली कांग्रेसको दुर्गतिप्रति चिन्तित पाइएका छन् । ती त्यस्ता चिन्तक हुन् जसले राष्ट्रिय दायित्व निर्वाह गर्ने हैसियत राख्छन् तर दलीय स्वार्थसँग आफूलाई जोड्न रुचाउदैनन् । उनीहरुको मतलब विश्वव्यापी लोकतान्त्रिक मान्यताको मौलिक मानव अधिकार निर्बाध उपभोग गर्ने राजनीतिक वातावरण सुनिश्चित होस् भन्नेमात्र देखिन्छ ।
कतिपय सन्दर्भमा आन्तरिक कार्यशैली अलोकतान्त्रिक देखिए पनि कांग्रेस दार्शनिक र सैद्धान्तिकरुपले लोकतन्त्रवादी भएका कारण लाजगाल यसले मानव अधिकारको पहरेदारी गर्छ भन्ने विश्वास लोकतान्त्रिक जनमतको थियो । यही जनमतभित्रका स्वतन्त्र चिन्तकहरु पनि यस्तै सोच्छन् । उनीहरुको औपचारिक, अनौपचारिक विचार अभिव्यक्तिमा यो कुरा स्पष्ट पाइन्छ । बुझिन्छ – लोकतन्त्रको खातिर उनीहरुले कांग्रेस पुनर्जाग्रत होस् भन्ने कामना गरेका हुन् । त्यसमा स्वार्थको अभिप्रेरणा भेटिँदैन ।
नेपाली कांग्रेस किन यस्तो निरीहताको दोसाँधमा पुग्यो ? एकले अर्काे वा विगतलाई दोषी देखाएर पन्छन नपाउने अहिलेको नेतृत्वले नै सबभन्दा अगाडि आत्ममूल्यांकन गर्नुपर्ने प्रश्न हो यो । देश र जनता लक्षित कार्यकर्ताको सामूहिक आर्जन र पुर्खाको नासो जोगाएरमात्रै होइन कि थप सबल बनाएर पुस्तान्तरण गर्न नसक्ने नेतृत्व भविष्यमा सबैका लागि दुःखदायी ठहरिनेछ ।
मुलुकको अवस्थामा पनि सुखद संकेत भेटिँदैन । नागरिक स्वतन्त्रता विरोधी अलोकतान्त्रिक प्रयत्न छरपस्ट छन् । सरकारकै कार्यशैलीले प्रजातन्त्र खतरामा छ । अर्थतन्त्र पनि उज्यालो छैन । परराष्ट्र नीति दिग्भ्रमजस्तै छ । राजनीति अपराधीकरणको गर्तमा भासिँदै छ । कम्युनिस्ट सरकारले प्रजातन्त्रका सम्बलहरुलाई बलियो पार्ला भन्ने कामना दिवास्वप्नमात्रै हो । स्वतन्त्र चेत खबरदारी गर्दैछ तर राज्ययन्त्र सुन्ने पक्षमा सकभर तयार देखिँदैन । फराकिलो स्वतन्त्र चेत खुम्चिँदै, खुम्च्याइँदै छ । सरकारी यत्न तिनलाई पेल्ने जमर्को गर्दै छ । लाग्छ, मुलुक कुनै दुर्घटनाको सम्मुख छ ।
यस्तो बेला नेपाली कांग्रेसको दायित्वबारे नेतृत्व गम्भीर हुनुपर्ने थियो तर त्यस्तो गाम्भीर्य यसको नेतृत्वले देखाउन सकेको छैन । यही कारण कांग्रेसप्रतिको जनभरोसा प्रतिदिन क्षयोन्मुख छ । आफैँभित्रको मान्यता र मागलाई सम्बोधन र समाधान दिन नसक्ने नेतृत्वले राष्ट्रिय आवश्यकतालाई कसरी सम्बोधन गर्नसक्ला ? कांग्रेसका प्रति जतासुकै सुनिने वर्तमान प्रश्नात्मक टिप्पणी हो यो ।
आफैँप्रति निराशा व्यक्त भएको वर्तमान समय सन्दर्भलाई प्रत्युत्तर दिन कांग्रेसको पुनर्जागण आवश्यक भएको हो । जब पुनर्जागणको लक्षण देखिने छ अनि क्रमशः भरोसा पनि जाग्रत हुँदै जानेछ । यतिबेला कांग्रेस जागरणका लागि मुख्यतः तीनओटा पाटा छन् । यसअघि नेतृत्वले प्रशस्त सुन्ने र सुनाउने धैर्य र सहिष्णुता प्रदर्शित गर्नुपर्छ । नेपालको पूरै राजनीतिक नेतृत्व असहिष्णु र एकालापमा रमाउने वा धम्काउने प्रवृत्तिको बन्दैछ ।
कांग्रेसका लागि पहिलो, सैद्धान्तिक स्पष्टता, दोस्रो संगठनात्मक चुस्तता र सक्रियता, तेस्रो प्रतिपक्षीय प्रभावकारी भूमिका । यी तीन तहमा गति हासिल गर्न कांग्रेसको आन्तरिक समस्याको समाधान र एकता अघिल्लो सर्त हो । प्रजातान्त्रिक दल हो त्यसैले कांग्रेसको संरचनामा वाद, विवाद र संवाद जरुरी छ । वैचारिक संस्कारका लागि पनि यो जरुरी छ । नेतृत्वले तेरो वा मेरो भन्ने घेराबाट माथि उठेर विधि र कार्यकर्ताको भावनालाई संयोजन गर्न सकेमात्र उक्त तीनओटै तहमा भूमिका निर्वाह गर्न सम्भव अनि सहज हुनेछ । अन्यथा, पुनर्जागरणको अपेक्षा त अधुरै रहने छ नै कांग्रेस थप संकटमा धकेलिने छ ।
त्यसो त, कांग्रेसको प्रजातान्त्रिक मान्यतालाई स्वयंभू सैद्धान्तिक स्पष्टता भन्न सकिन्छ । तर, प्रजातन्त्रको विकास र विस्तारसँगै यसमा समाजिक न्यायका बहुआयमसमेत समन्वित भएका छन् । बौद्धिक भनियोस् कि वैचारिक र भौतिक उन्नयनको दर्शन पनि प्रजातन्त्रसँग जोडिएको छ । तिनको व्याख्या, व्यवस्थापन र प्राप्तिको दिग्दर्शनले लोकतन्त्रको सैद्धान्तिक पक्षलाई उजिल्याउने हो । यसका लागि दलभित्र र प्रजातान्त्रिक चिन्तकहरुसँगको व्यापक परामर्शसँगै अभिलेखन र अध्ययन जरुरी पर्छ ।
कांग्रेसको दोस्रो लक्ष्य समाजवाद । सामाजिक उन्नति, समृद्धि र सुख भनेरमात्रै समाजवादी दर्शन पर्याप्त हँुदैन । प्रजातान्त्रिक समाजवादलाई आधुनिक प्रविधि र भौतिकवादको विकासले समाजवादी शैली, सोचलाई पनि प्रभावित पारेको छ । समाजवादको समय सापेक्ष व्याख्या, प्रयोग र उपलब्धिको खाकाले पनि विज्ञबीच बहसकै माग गर्दछ र स्पष्टता खोजेको छ । सुमाखरले भनेजस्तो ‘सानो सुन्दर’(स्मल इज बिउटिफुल) वा गान्धीले ठानेको पनि यस्तै र अन्त्यमा बीपी कोइरालाले पनि मानेको सानो सुन्दर समाजवाद हो कि, समाजवादी केन्द्रयि भूमिमा अहिलेको सन्दर्भले खोज्ने वा रोज्ने के थप्नुपर्ने हो ? त्यसको पुनव्र्याख्याले सामयिक समाजवादी सिद्धान्तमा स्पष्टता दिन सम्भव छ ।
जहाँसम्म कांग्रेसले निर्वाह गनुपर्ने प्रभावकारी प्रतिपक्षीय भूमिका हो यसको धेरै व्याख्या जरुरी छैन । यो सैद्धान्तिकभन्दा पनि व्यावहारिक कुरा हो । प्रभावकारी भन्नेबित्तिकै कम्युनिष्टले जस्तै सडकमा ओर्लेर ढुंगा, मुढा, मारधाड गरिहाल्नु पर्छ भन्ने होइन । कांग्रेसले विरोध वा प्रतिपक्षीय भूमिका निर्वाहमा बाध्यताबाहेक उग्र तरिका रोज्नु निश्चय पनि हुँदैन । तर, देशमा प्रजातन्त्र चाहने राजनीतिक दल वा अन्य प्रतिपक्ष र बौद्धिक वर्गसँग वैचारिक एकता, व्यापक परामर्श र प्रचार, प्रसार त गर्नसक्छ नि !
सरकारी स्वेच्छाचार, बढ्दो भ्रष्टाचार, अशान्ति, असुरक्षा र देश गम्भीर संकटतिर धकेलिएको जस्ता तमाम विकृतिविरुद्ध कांग्रेसले सचेत जनमत तयार गर्न त सक्नुपर्ने हो । यसका लागि व्यापक जनसम्पर्क, प्रकाशन, सभा, सेमिनार केही नगरी मुक दर्शक प्रतिपक्ष सरकारको लागि शोभायमान र आफू भने कुरुप, कुरुप देखिँदैछ ।
अर्थात्, सिद्धान्त, संगठन र प्रतिपक्षीय भूमिकामा कांग्रेसले आफैँभित्र पुनर्जागरण गर्नु आवश्यक छ । पार्टीको कुनै प्रकाशन छैन, वैचारिक हलचल पनि छैन र छैन भरोसालायक भूमिका पनि । यो अवस्था दीर्घजीवनको द्योतक हुनै सक्तैन । शुभचिन्तक र प्रजातन्त्रप्रेमीले प्रशस्त सुझाएका छन् । लामो संघर्षबाट आएको कांग्रेस नेतृत्व आफैँले पनि बुझेको हुनुपर्छ । तर, त्यही नेतृत्व ‘मूढमते’ भएजस्तो छ । जो एकैछिन पनि बहस, विचार गर्न, भन्न र सुन्न तयार हँुदैन, सामूहिकताका लागि जुन गुण आवश्यक हुन्छन् ।
नेपाली कांग्रेसमा मात्रै पुनर्जागरणको समय आएको होइन । समाज, संस्था र राष्ट्रहरुलाई पनि पुनर्जागरणको समय आउँछ, आएका छन् । समयमै त्यो गर्ने नै बाँच्ने हुन् र बाँचेका छन् । आत्तिने कुरा होइन, यो समालिने बेला हो । फ्रान्सले पनि रेनेसाँ (पुनर्जाग्रत)को समय सम्बोधन गर्यो । रुसले पेरोस्त्रोइका र ग्लास्तोनोस्तको मिखायल गोर्भाचोभको युग बेहोरेको थियो । उनीहरुको त्यतिबेलाको नेतृत्वले आफ्नो संगठन र जनमतलाई त्यसरी नै प्रशिक्षित गरे ।
पुनःजागृत हुन नेपाली कांग्रेसले पनि समयको चुनौतीलाई समालिएर, समेटिएरै सम्बोधन गर्नुपर्छ । यो गर्नसक्ने नेता को हो र कसले सक्ला ? भावी दिनले बताउला । तर, कांग्रेस नेतृत्व ‘आफू मरेपछि खै कुन्नि को राजा’ भनेजस्तो उखानको बाटोतिर नलागोस् । फेरि पनि दुःखका साथ अहिले भन्नैपर्छ– सबैभन्दा पहिले कांग्रेसका सभापति शेरबहादुर देउवालाई चुनौतीहरुको हेक्का होस् !