काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखमा अग्नी सापकोटालाई उमेदवार बनाउने भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभामुखका लागि बार्गेनिङ गरिहेको छ ।
उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सोमबार सभामुखलाई सम्बोधन गर्दै राजनीमा दिएकी हुन् । संविधानको धारा ९१ को उपधारा २ (१) मा सभामुख र उपसभामुखमध्ये एकजना महिला र फरक–फरक दलबाट प्रतिनिधित्व हुनुपर्ने प्रावधान छ ।
यही प्रावधानका आधारमा नेकपाले उपसभामुख पद गुमाउने भएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपसभामुख पदमा लविइङ थालेको हो । कांग्रेसले सभामुख वा उपसभामुखमध्ये एक पदमा आफूले उमेदवारी दिनेसमेत बताएको छ ।
यही विषयलाई टुंगो लगाउन मंगलबार बिहान ८ बजे कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।
देउवा–दाहाल फोनवार्ता
माघ १२ गते हुने सभामुखको मतदानका लागि सत्तारुढ र प्रतिपक्षी दलबीच आन्तरिक छलफल भइरहेको छ । आइतबार बेलुका नै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच फोन वार्ता भएको स्रातले जानकारी दिएको छ ।
स्रोतका अनुसार प्रचण्डले फोन गरेर सभापति देउवालाई सघाउन आग्रह गरेका छन् । सत्तारुढ दल नेकपाले सभामुख निर्विरोध गर्न चाहेको छ ।
सोही नेकपाको योजना अनुरुप अध्यक्ष दाहालले आइतबार नै सभापति देउवालाई फोनमार्फत सभामुखमा सघाउन आग्रह गरेका हुन् ।
यता कांग्रेस पनि सभामुखमा सत्तारुढ दलका उमेदवारलई सघाएर उपसभामुख आफ्नो पोल्टामा पार्न चाहन्छ । सोही योजना अनुसार जवाफमा सभापति देउवाले उपसभामुखमा आफ्नो पार्टीको उमेदवारलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
प्रचण्डलाई उद्धृत गर्दै स्रोतले भन्यो, “म सकारात्मक छु । ओलीजीसँग कुरा गर्नूस ।”
कांग्रेस संसदीय दल स्रोतका अनुसार उपसभामुख पदमा कांग्रेसले उमेदवारी दिने लगभग पक्का भएको छ ।
यसअघि कांग्रेस संसदीय दलका सचेतक बालकृष्ण खाँडले संविधानअनुसार सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने प्रावधानअनुसार आफ्नो पार्टी कुनै एउटा पदमा उमेदवारी दिने बताएका थिए ।
उनले भने, “पार्टीको बैठक बसेर निर्णय गर्छ । स्वाभाविक रुपमा नै एक पदमा हाम्रो दाबी हुन्छ । निर्वाचनलाई ‘बाइकट’ गर्ने कुरा हुँदैन । प्रकृयामा सहभागी हुने हो । संविधानको प्रावधानअनुसार अगाडि बढ्ने हो ।’’
उनले नेकपासँग बहुमत भएका कारण उसले एक पदको जिम्मेवारी सम्हाल्ने र नेपाली कांग्रेस प्रतिपक्षी दल र संसदको दोस्रो ठूलो दलका भएका नाताले एक पद सम्हाल्ने गरी सत्तारुढ दलसँग समझदारी भइरहेको उनले बताएका थिए ।
कांग्रेसलाई कसलाई उपसभामुख बनाउने भन्ने निर्क्योल भने गरिसकेको छैन । नामको टुंगो मंगलबार बिहान बस्ने संसदीय दलको कार्यसमिति बैठकले निर्णय गर्नेछ । यौन दुर्व्यवहारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएका थिए ।